ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिम्रतुखोला जलविद्युत् आयोजना : उत्पादित विद्युत् वितरण हुन सकेन

Nov 5, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुमको त्रिवेणी गाउँपालिका–२ स्थित सिम्रतुखोला जलविद्युत्् आयोजनाबाट उत्पादित विद्युत् वितरण हुन सकेको छैन । आयोजनाबाट २३० किलोवाट विद्युत् उत्पादन भए पनि २५ किलोवाट मात्र खपत भएको छ । आयोजना निर्माण र लाइन विस्तारको डिजाइन गलत भएकाले विद्युत् वितरणमा समस्या भएको सिम्रतु खोला जलविद्युत् सहकारी संस्थाले बताएको छ । 

गलत डिजाइनकै कारण विद्युतीय पोल र तार अपुग भएकाले विद्युत् खपत हुन नसकेको संस्थाका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिए । ‘विद्युत्का झन्डै ७५० ओटा एलटी (लो टेन्सन) लाइन र १२० एचटी (हाई टेन्सन) लाइनका पोल नहुँदा गाउँ गाउँमा विद्युतीकरण गर्न सकिएको छैन,’ उनले भने । जिल्लाको त्रिवेणी गाउँपालिकाका वडा नं १, २, ५, ६, ७ का साथै मुसीकोट नगरपालिकाका ११ र १२ वडाका १ हजार ३८६ घरधुरीमा विद्युत् पुर्‍याउने उद्देश्यले आयोजना निर्माण गरिएको थियो ।

जनताको लगानी रहेको यो जलविद्युत् आयोजना रुकुमकै पहिलो हो । शेयर सदस्यका घरमा विद्युत् पुर्‍याउने र महशुलको फाइदा उनीहरूलाई नै वितरण गर्ने लक्ष्यसहित आयोजना बनाइए पनि अझै सबै घरपरिवारमा विद्युत् पुर्‍याउन नसकिएको अध्यक्ष ओलीको भनाइ छ ।

विद्युत् उत्पादन भएको लामो समयसम्म पनि विस्तारमा समस्या भएपछि आवश्यक उपकरण (पोल, तारलगायत) खरीदका लागि नेपाल विद्युत् प्राधिकरण र कर्णाली प्रदेश सरकारसँग सहयोग मागिएको संस्थाका ओलीले बताएका छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट साढे रू. २ करोड रुपैयाँ विनियोजित भइसकेको र बोलपत्र आह्वान प्रक्रिया शुरू हुने प्रक्रियामा रहेको उनले जानकारी दिए । प्राधिकरणले २०० ओटा एचटी पोल उपलब्ध गराउने प्रतिबद्धता गरेको सिम्रतुखोला जलविद्युत् आयोजनाका सचिव मोतीराम पुनले बताए ।

आयोजना निर्माणका लागि स्थानीयवासीले रू. २ करोड ६ लाख रुपैयाँ लगानी गरेका थिए । आयोजनामा त्रिवेणी गाउँपालिकाका वडा नं १, २, ५, ६, ७ तथा मुसीकोट नगरपालिकाका ११ र १२ वडाका १ हजार ३८६ घरधुरीले करीब ३० हजार रुपैयाँका दरले शेयर लगानी गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)