रौतहटको उत्तरी क्षेत्रमा पर्ने चन्द्रपुर नगरपालिका जनसंख्या र भौगोलिक हिसाबले जिल्लाकै ठूलो स्थानीय तह हो । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यो नगरपालिकाको पूर्वमा सर्लाहीको बाग्मती नगरपालिका, पश्चिममा जिल्लाकै गुजरा नगरपालिका, उत्तरमा मकवानपुरको चुरेफेदी, दक्षिणमा वृन्दावन र गुजरा नगरपालिका पर्छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर नगरपालिका सुगम मानिन्छ । स्थानीय तहको निर्वाचनपछि नगरको विकास निर्माणले गति लिएको नगर प्रमुख रामचन्द्र चौधरी बताउँछन् । प्रस्तुत छ, नगरका विकास गतिविधि, आगामी योजना लगायत विषयमा आर्थिक अभियानका रौतहट संवाददाता दीपेश पौडेलले चौधरीसँग गरेको कुराकानीको सार :
तपाईं नगर प्रमुख भएर आएपछि यहाँका जनताले महसूस गर्नेगरी भएका विकासका काम के के हुन् ?
भाडाको घरमा बस्दै आएको नगरपालिकाको कार्यालयलाई आफ्नै भवनमा ल्याउने योजना थियो । सोही अनुसार प्राथमिकतामा राखेर द्रुतगतिमा भवन निर्माण गर्यौं । अहिले नगरपालिकाले आफ्नो भवनबाटै कार्यसम्पादन गरिरहेको छ । जनप्रतिनिधिको जिम्मेवारी पाए पनि कर्मचारी अभाव जस्ता विविध समस्याले नगरपालिकाको काम अस्तव्यस्त थियो । निकै चुनौती र समस्या भएका बेला नगर प्रमुखको जिम्मेवारी पाएका थियौं । त्यसैले यसको व्यवस्थापन गर्दै नगरपालिकाको कामलाई सरल र सहज बनाउन अग्रसर भयौं । नगरवासीले अहिले जनप्रतिनिधि आएको महसूस गर्न पाएका छन् । नगरवासीको समस्या वा गुनासोका बारेमा प्रत्यक्ष संवाद गर्दै आएका छौं । कार्यालयमा आएका सेवाग्राहीले नगरप्रमुखसँग सजिलै जिज्ञासा वा समस्या राख्न सक्ने व्यवस्था गरिएको छ, जस कारण नगरवासीकै संग्लग्नतामा समस्याको समाधान गर्न सकेका छौं । साथै विकासका काममा पनि सहज भएको छ ।
गत आर्थिक वर्षमा पूर्वाधार विकासमा के कस्ता काम भए ?
गतवर्ष पूर्वाधार विकासका कामले गति लिएको छ । जिल्लामा सबैभन्दा बढी कालोपत्र यही नगरपालिकामा भएको छ । करीब २० किलोमिटर सडक स्तरोन्नति गरेका छौं । अन्य सडकको काम पनि अघि बढाएका छौं । आगामी दिनमा १७ किलोमिटर सडक कालोपत्र हुनेछ । नगरलाई स्मार्ट सिटी बनाउने योजना छ । सोही अनुसार पूर्वाधार विकास गर्न लागिपरेका छौं । यस्तै नगरको प्रोफाइल पनि बन्दै छ । नगरपालिकाले अनलाइन प्रणालीलाई विशेष जोड दिएको छ । नगरपालिका तथा वडा कार्यालयका सबैजसो काम यसै प्रणालीबाट हुँदै आएका छन् । नगरभित्रका माध्यमिक विद्यालयहरूमा कम्प्युटर जडान गर्दै छौं । अस्पतालको औषधि लगायत व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको छ । यस्तै खेलकुदको क्षेत्रमा पनि काम गरेका छौं । समग्रमा गत आर्थिक वर्षमा पूर्वाधार विकासमा उल्लेख्य काम भएका छन् ।
विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के छन् ?
विकास बजेट कार्यान्वयनको मुख्य समस्या र चुनौती भनेको कर्मचारी समायोजन नै हो । कर्मचारी समायोजनका कारण कार्यालयमा कर्मचारीको अभाव छ । स्थानीय तहलाई हरेक किसिमको जिम्मेवारी दिइएको भए पनि कर्मचारी अपुग छ, जस कारण कार्यसम्पादनमा समस्या आउने गरेको छ । योजना सम्पन्न भइसकेको अवस्थामा पनि भुक्तानी समयमै दिन सकिरहेका छैनौं । यी समस्याको मुख्य कारण नै कर्मचारी समायोजन र अभाव हो ।
शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनका लागि नगरले कसरी काम गर्दै छ ?
नगरपालिकाभित्र सामुदायिक विद्यालय ४६ ओटा छन् । यस्तै ४२ ओटा निजी विद्यालय र ५८ ओटा बाल विकास केन्द्र छन् । सबै विद्यालयलाई व्यवस्थित गर्दै एकै प्रकारको शिक्षा अवलम्बन गर्ने योजना छ । सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने योजना नगरपालिकाले बनाएको छ र केही विद्यालयमा शुरुआत समेत भइरकेको छ । आगामी केही वर्षभित्र सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरू हुनेछ, यसले नगरको शिक्षामा सुधार आउने अपेक्षा गरेका छौं । स्वास्थ्यमा पनि उत्तिकै महत्त्व दिएका छौं । साविक गाविसमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरेर हरेक नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याइएको छ । चन्द्रनिगाहपुर सरकारी अस्पताललाई १५ शैय्याको बनाएका छौं भने तीनओटा शहरी स्वास्थ्य केन्द्र खोलेका छौं । नगरमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । यसबाट अधिकांश नगरवासी लाभान्वित भएका छन् । म आफै स्वास्थ्य बीमा समितिको अध्यक्ष समेत भएकाले यो कार्यक्रमको सफल कार्यान्वयनमा जोड दिएको छु ।
शहरी विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
शहरी विकासका लागि चन्द्रपुर नगरपालिका स्मार्ट सिटीको अवधारणामा अघि बढेको छ । देशभर प्रस्तावित १३ ओटा स्मार्ट सिटीमध्ये यो नगरपालिका पनि परेको छ । नगरपालिकाले सडक, सूचना तथा प्रविधि लगायत पूर्वाधारको विकासलाई प्राथमिकता दिएको छ । नगरका सबै क्षेत्रमा सूचना तथा प्रविधिको पहुँच पु¥याउने लक्ष्य छ । शहरी विकास अन्तर्गत भौतिक पूर्वाधार विकासमा जोड दिएका छौं । यस्तै पार्क, पर्यटकीय क्षेत्र, खेलमैदान तथा खानेपानीको विकास र व्यवस्थापनमा पनि काम गर्दै छौं ।
तोकिएको समयमा विकास निर्माणको लक्ष्य हासिल गर्न कसरी काम हुँदै छ ?
तोकिएको समयमा विकासको लक्ष्य हासिल गर्ने नगरपालिकाले मापदण्ड अपनाएको छ । धेरै काम गर्न खोजिए पनि विभिन्न कारण सफल भएका छैनौं । विकास निर्माणको लक्ष्य प्राप्त गर्न दक्ष र प्राविधिक जनशक्तिको पनि आवश्यकता पर्छ । तर नगरपालिकामा प्राविधिक जनशक्ति कम भएकाले तोकिएको समयमा चाहे अनुसारको उपलब्धि हासिल हुन सकेको छैन । यद्यपि जनताकै माझमा पुगेर योजना छनोट भएकाले जनचाहना अनुसार नै विकासका काम हुँदै आएका छन् ।
नगरपालिकाको कर सम्बन्धी स्थानीयको भनाइ के छ ?
नगरपालिकामा कर सम्बन्धी गुनासो आउने गरेको छ । घरबहाल करमा राज्यले १० प्रतिशत ताकेको छ । अन्य स्थानीय तहले २ प्रतिशत थपेर १२ प्रतिशत लिने गरेका छन् । तर चन्द्रपुर नगरपालिकाले राज्यले तोकेको जति (१० प्रतिशत)मात्र कर उठाइरहेको छ । नगरपालिकाले करको दायरा फराकिलो बनाएको छ । टेन्डरमार्फत कर संकलनको व्यवस्था गरेका छौं । यसै वर्षदेखि दशमलव ५ प्रतिशतका दरले एकीकृत सम्पत्ति कर लगाएका छौं ।
पर्यटन विकास र प्रवर्द्धनका लागि नगरपालिकाका योजना के के छन् ?
पर्यटन विकास र प्रवद्र्धनका लागि नगरपालिकाले बृहत् योजना अघि सारेको छ । भर्खरै मात्र नगर क्षेत्रभित्र झरना फेला परेको छ, जुन आकर्षणको केन्द्र बन्ने भएकाले यसको विकासका लागि नगरपालिकाले योजना बनाएको छ । नुनथर पर्यटन क्षेत्र, शहीद पार्क, पौराई ब्रम्हथान, कोटिहोम, निजानन्द धाम, डाबरी लगायत धार्मिक तथा पर्यटकीय स्थलमा लगानी गरेका छौं । नगरभित्रका ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन विकास र प्रवर्द्धन गर्नेछौं । आन्तरिक आय वृद्धिका लागि पनि पर्यटकीय क्षेत्रको महत्त्व छ । त्यसैले पर्यटन विकासलाई पनि प्राथमिकता दिएका छौं । नगरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सके यहाँको आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा गरेका छौं । सरकारले तय गरेको १०० गन्तव्यको सूचीमा मर्धर सिमसार क्षेत्र समेत परेकाले यसको विकासमा जोड दिएका छौं ।