बालबालिकामा देखिने पेटसम्बन्धी रोगमध्ये दिसामा रगत देखिने र रगत बान्ता हुने रोग पनि एक हो । यो रोग लाग्नुमा अन्य रोग कारक बन्ने गर्छ । यस्ता रोगको समयमै पहिचान गरी उपचार गर्न सके थप जटिलता आउनबाट बच्न सकिने बालरोग विशेषज्ञ डा. विनीता जोशी बताउँछिन् । प्रस्तुत छ, बालबालिकामा हुने रगत बान्ता तथा दिसामा रगत देखिने रोगको कारण, उपचार, बच्ने उपाय लगायत विषयमा डा. जोशीसँग आर्थिक अभियानका काशीराम बजगाईले गरेको कुराकानीको सार :
बालबालिकालाई हुने पेटसम्बन्धी रोग के के हुन् ?
बच्चाहरूमा पेटसम्बन्धी रोग धेरै प्रकारका हुन्छन् । ग्यास्ट्रिक धेरै बालबालिकामा देखिने गरेको छ, जुन बालरोग होइन भन्ने भ्रम धेरैमा हुन्छ । तर यो बाल रोग पनि हो । यसमा बच्चालाई खाना नरुच्ने, वाकवाकी लाग्ने, अत्यधिक पेट दुख्ने आदि लक्षण देखिन्छ । त्यस्तै खाना खाने नलीमा समस्या, रगत बान्ता हुने, दिसामा रगत देखिने, सानो आन्द्राको रोग, पेटसम्बन्धी समस्या, क्षयरोग आदि विभिन्न प्रकारका रोग हुन्छन् ।
बच्चालाई रगत बान्ता हुने कारण के हो ?
रगत बान्ता रोग नभई विभिन्न रोगका कारण उत्पन्न हुने खास समस्या हो । धेरै किसिमको रोगबाट यस्तो समस्या देखिन सक्छ । हेपाटाइटिस बी, एन्जाइमको कमी, सानोमा नाइटोमा घाउ भएर पाक्ने, जन्मजात कलेजो वरिपरिको नली खुम्चिने आदि कारणले रगत बान्ता हुने गरेको पाइन्छ । पोर्टल हाइपरटेन्सन (कलेजोको नलीमा प्रेसर) देखिने कारण बच्चालाई रगत बान्ता हुन सक्छ । पोर्टल हाइपरटेन्सन दुई अवस्था हुन्छ । एक, कलेजोमा छोइसकेको अवस्था र अर्को कलेजोमा नछोई त्यसको नलीमा मात्रै प्रेसर भएको अवस्था । कलेजोमा छोइसकेको अवस्था दीर्घकालीन समस्या हो । कहिलेकाहीँ वाकवाक भएर बान्ता हुँदा खाना खाने नलीको वरिपरिको भाग मसिनो गरी फुट्छ र थुकमा रगत मिसिएर आउन सक्छ । थुप्रै मानिसहरू यसमा आत्तिने गरेका छन् । तर यो सामान्य हो । यस्तो समस्या आएमा अन्य जाँच गर्दा समस्या देखिएन भने इन्डोस्कोपी गर्न आवश्यक हुँदैन । तर यही लक्षण बारम्बार देखियो भने जाँच गरेर उपचार गर्नुपर्ने हुन्छ ।
दिसामा रगत देखिने कारण पनि एउटै हो ?
दिसामा रगत देखिने कारण फरक हुन सक्छ । बालबालिकामा आन्द्राबाट शुद्ध रगत र पेटबाट आएको रगत कालो भएर दिसामा देखिने हुन्छ । पेटको क्षयरोग, इन्फोमेट्री बाबल डिजिज (आईबीडी), आन्द्राको तल्लो भागतिर मासु पलाउने, कब्जियत आदि रोगको कारण दिसामा रगत देखिन सक्छ ।
यो रोगको उपचार विधि के हो ?
सबैभन्दा पहिले अन्य कुन रोगको कारण रगत बान्ता हुने वा दिसामा रगत देखिने समस्या देखिएको हो, यसको जानकारी लिनुप¥यो । शुरूमा पेटको कुन नली फुटेर यस्तो समस्या आएको हो, त्यो हेरिन्छ । त्यसपछि इन्डोस्कोपीको मद्दतले फुटेको नली बन्द गरी उपचार गरिन्छ । शुरूमा कलेजोको नलीमा हुने प्रेसर घटाउने औषधिको सेवन र इन्डोस्कोपीको सहयोगले फुटेको नली बन्द गराइन्छ । यसले कुनै प्रभाव पारेन भने मात्र शल्यक्रिया गर्नुपर्ने हुन्छ । बच्चालाई रगतको अभाव छ भने शुरूमा आईसीयूमा राखेर रगत चढाउनुपर्ने पनि हुन सक्छ । यस्तो अवस्थामा बच्चा सामान्य अवस्थामा आइसकेपछि मात्रै उपचार गर्नुपर्छ ।
यो रोगको शुरुआती लक्षण के हो ?
बाहिरी कुनै लक्षण नदेखिईकन पेटका नलीभित्र प्रेसर बढिरहेको हुन सक्ने भएकाले कोही–कोहीलाई एकैचोटि रगत बान्ता हुन सक्छ ।
कुन उमेर समूहलाई यो रोग देखिन्छ ?
१ वर्षदेखि १५ वर्ष उमेरसम्मका बालबालिकामा यस्तो रोग देखिने सम्भावना बढी हुन्छ । अन्य दीर्घकालीन रोगका कारणले रगत बान्ता भएको हो भने यो रोग युवा अवस्थामा पनि देखिन सक्छ ।
यो रोगका बिरामीले कस्तो खानपान गर्नुपर्छ ?
आफ्ना बालबालिकालाई रगत बान्ता हुने रोग लागेपछि आमाबुबाले माछा, मासु, अन्डा लगायत खाना दिन रोक्ने गरेको धेरै पाइन्छ । तर यो रोगमा खाना बार्नुपर्दैन । सधैंजसो खाइने सन्तुलित तथा स्वस्थकर खाना खान मिल्छ ।
यसको उपचार सबै ठाउँमा सुलभ छ ?
प्रौढहरूमा देखिने यस्तो खालको रोगको उपचार सहज छ, तर त्यति सुलभ भने छैन । यद्यपि पहिलेको तुलनामा धेरै सुलभ भएको छ ।
यो रोगबाट बच्ने उपाय के के हुन् ?
यो रोगका अन्य कारक रोग हुन्छन् । त्यस्ता रोगको समयमै पहिचान गरी उपचार गर्ने हो भने यो रोगबाट बच्न सकिन्छ ।
रगत बान्ता हुन थालेको कति समयभित्र उपचार गर्नुपर्छ ?
रगत बान्ता हुने लक्षण देखिएपछि जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ । रगत बान्ताकै कारण जोखिम हुने भन्ने हुँदैन । तर बान्ता अन्य कुन रोगले गर्दा भयो भन्नेमा यो निर्भर हुन्छ । जस्तै, कलेजोलाई असर गरेको अवस्थामा बान्ता भएको हो भने जोखिम बढी हुन्छ र कतिपय अवस्थामा बिरामीको मृत्यु पनि हुन सक्छ ।
रगत बान्ता र दिसामा रगत देखिने रोगका कारण दीर्घकालमा अन्य रोग लाग्न सक्ने सम्भावना हुन्छ ?
यसले अन्य रोग निम्त्याउँछ भन्ने हुँदैन । पहिलेदेखि नै शरीरमा भएका केही रोगका कारण यो समस्या देखिने गरेको छ । यो रोग निम्त्याउने केही कारक रोग पूर्णतया निको पार्न नसकिने पनि हुन्छन् । कतिपय रोगको दीर्घकालसम्म उपचार गर्नुपर्ने हुन सक्छ ।