रुकुम । राप्ती लोकमार्ग अन्तर्गत पर्ने भलाक्चा–सोलावाङ जोड्ने पुलको निर्माण अलपत्र परेको छ । मुसीकोट नगरपालिका–४ र वडा नं. १२ जोड्ने गरी साँख खोलामा शुरू गरिएको मोटरेबल पुल निर्माणमा ढिलाइ भएको हो ।
पुल निर्माणको अवधि ९ महीना मात्र बाँकी रहेको छ । दुई वर्षमा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले पुल निर्माणको जिम्मा लिएको थियो । पुल निर्माणको आधाभन्दा बढी समयसमेत घर्किएको छ । पुल निर्माणका लागि सडक विभागको वैदेशिक महाशाखा अन्तर्गतको आरएसडीपी परियोजनासँग सूर्यलाइट जेभीले सम्झौता गरेको छ । सम्झौताअनुसार २०७७ साउनभित्र पुल निर्माणको काम सम्पन्न हुने भनिएको थियो ।
विश्व बैंकको ८ करोड रुपैयाँ सहयोगमा साँख खोलासहित सल्यानको पटारेमा पुल निर्माण थालिएको हो । साँख खोलामा ३५ मिटर र पटारेमा १५ मिटर लामो पुल निर्माणको लागि ठेक्का दिइएको छ । राप्ती लोकमार्गमा पर्ने साँख खोलामा पक्की पुल निर्माण स्थल नजिकै बेलीब्रिज छ । २०६२ सालमा बनाइएको बेलीब्रिज जीर्ण बनेपछि त्यसको विकल्पमा पुल निर्माण गर्न लागिएको हो । तर, पुल निर्माणको काम नहुँदा जोखिमयुक्त बेलीब्रिजबाटै यात्रा गर्नुपर्ने बाध्यता छ । स्थानीय लालबहादुर बिकले पुल निर्माणको काम लामो समयदेखि रोकिएको बताए ।
ठेकेदार कम्पनीले काम छाडेको लामो समय बित्दा समेत नियामक निकायले कुनै चासो नदेखाएको उनको भनाइ छ । जीर्ण बेलीब्रिजका कारण सबै सवारीसाधनले जोखिमपूर्ण तरीकाले खोला वारपार गरिरहेका छन् । बेलिब्रिज जीर्ण बन्दा दैनिक सयौं सवारीसाधन जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य रहेको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले बताए । पुलमा राखिएका फलामका पाता टुक्रिएर झरेका छन् भने केही उप्किएका छन् । जिल्ला भित्रिने र बाहिरिने गाडी जीर्ण पुल भएरै आउजाउ गर्छन् ।