रुकुम । रुकुम पश्चिमका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र पारिएको छ । जिल्लाका ६ ओटै स्थानीय तहमा विद्युतीकरण गर्न थालिएको हो । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय जिल्लाका १७ वडामा विद्युत् सेवा पुर्याइसकेको छ । सबै बस्तीमा विद्युत् विस्तारका लागि पोल गाड्ने, तार टाङ्ने र ट्रान्सफर्मर जडानको काम तीव्र पारिएको प्राधिकरणको मुसीकोट वितरण केन्द्रले बताएको छ ।
प्राधिकरणको विद्युत् विस्तार कार्यक्रम अन्तर्गत आठबीसकोट नगरपालिकाका ६, त्रिवेणी गाउँपालिकाका ४, चौरजहारीका ३, बाँफिकोट गाउँपालिकाका दुई र सानीभेरी गाउँपालिकाका साथै मुसीकोट नगरपालिकाको एउटा वडामा विद्युत्का पोल पु¥याइएको छ । मुसीकोट–१२ मा लाइन विस्तारको काम समेत सकिएको छ । आठबीसकोटका ६ वडामा तार र ट्रान्सफर्मर पुगेको छ भने २ वडामा पुग्न बाँकी छ । उक्त नगरपालिकाका ४, ५, ६, १३ र १४ नं वडामा पोल गाडिएको र तार र ट्रान्सफर्मर जडानको तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।
यसैगरी त्रिवेणी गाउँपालिका–६, ८, ९ र १० नं वडामा विद्युत् विस्तार भइसकेको छ । चौरजहारी नगरपालिकाका–१२, १३ र १४, बाँफिकोट–५ र ९ तथा सानीभेरी–१ नं वडामा विद्युत् विस्तार भइसकेको प्राधिकरणको वितरण केन्द्रले बताएको छ । केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले आयोजना मार्फत हुनुपर्ने विद्युतीकरण अन्तर्गत पोलको ८० प्रतिशत काम सकिएको जानकारी दिए । उनका अनुसार जिल्लाभर विद्युतीकरणको करीब ५० प्रतिशत काम सम्पन्न भएको छ ।
माग भएजति बजेट आए अर्को वर्ष जिल्लाभर विद्युतीकरणको काम सकिने प्राधिकरणले बताएको छ । विद्युत् प्राधिकरणको नियमित कामबाहेक विद्युत् विस्तार आयोजना मार्फत जिल्लामा ४ हजार ६०० पोल पुगेका छन्, जसमा २ हजार ३०० पोल हाईटेन्सन लाइन र २ हजार ३०० पोल लोटेन्सन लाइनका छन् । जिल्लामा ३३ ट्रान्सफर्मर जडान गर्ने कार्यक्रम रहेको केन्द्रले बताएको छ । यीमध्ये पाँचओटा १०० केभीए र २८ ओटा ५० केभीएका ट्रान्सफर्मर सम्बन्धित वडामा पुगेका छन् ।
प्राधिकरणको विद्युतीकरण आयोजना अन्तर्गत हाइड्रो इनर्जी र महाशक्ति जेभीले लाइन विस्तारको काम गरिरहेको छ । यस वर्ष विद्युतीकरणका कामका लागि करीब ३५ करोड रुपैयाँ खर्च हुने प्राधिकरणले बताएको छ । विभिन्न खोलानालाबाट विद्युत् उत्पादन गर्ने र केन्द्रीय प्रसारण लाइनको विद्युत् जोडेर जिल्लालाई अँध्यारोमुक्त बनाउने योजना अगाडि बढाइएको जिल्लाका प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बताए ।