ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिक्टा सिँचाइको काम सुस्त : १४ वर्षमा ६० प्रतिशत मात्र निर्माण  

Nov 14, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त देखिएको छ । निर्माण थालेको १४ वर्ष पुगिसक्दा पनि योजनाको ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । मूल ठेकेदारले उपठेकेदारलाई जिम्मा दिएको काममा ढिलाइ हुँदा आयोजनाको निर्माण सुस्त भएको हो । 

सरकारले २०६३ माघदेखि निर्माण शुरू गरेको उक्त आयोजना नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । २५ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन आयोजनाको सबै काम चालू आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य भएको आयोजना प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिए ।

आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम पनि सुस्त छ । तीन वर्षअघि अगैयास्थित मुख्य बाँधमा जडान गरिएको १८ ओटा गेट सिँचाइका लागि उपयोगमा आउन सकेका छैनन् । सिक्टाको पश्चिम मूल नहर निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किने गरेको छ । २०७३ असार १४ गते पनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरीखोला छेउमा मूल नहर भत्किएको थियो । पटक–पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथि प्रश्न उठेको छ ।

सिक्टा सिँचाइको काम समयमै नहुँदा किसान मर्कामा परेको मूल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए । ‘हामीलाई सिँचाइ सुविधा चाहियो भनेर मन्त्रालयदेखि सबै ठाउँमा पुग्यौं,’ अध्यक्ष डाँगीले भने, ‘सबैको आश्वासन आउँछ तर हाम्रो माग अझै पूरा भएन ।’ गत हप्तामात्रै स्थलगत अनुगमनका क्रममा मन्त्री पुनले एक वर्षभित्र सिक्टा सिँचाइ आयोजनाको नहरको काम सक्न निर्देशन दिएको बाँके क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य महेश्वरजंग गहतराजले जानकारी दिए ।

राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित आयोजनाको हेडवक्र्सस्थल पुगेर मन्त्री पुनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई महीनाको एकपटक अनिवार्य सिक्टाको स्थलगत निरीक्षण गर्न निर्देशन दिएका थिए । साथै, जलस्रोत तथा सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठलाई हरेक महीनामा एक दिन सिक्टा सिँचाइ आयोजनाको प्रगतिबारे मन्त्रालयमा समीक्षा गर्न मन्त्री पुनले निर्देशन दिएका थिए ।

आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । बाँकेमा ३५ हजार ९७० हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये करीब १३ हजार ७०० अर्थात् करीब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनि आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)