रुकुम । रुकुम पश्चिममा २७ ओटा कृषि सडक बनाइने भएको छ । चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लाका ६ स्थानीय तहमा उक्त संख्यामा कृषि सडक बनाउन लागेको हो । कृषि उपजको बजारीकरण गर्ने तथा गाउँलाई बजारसँग जोड्ने उद्देश्यले सडक निर्माण गर्न लागिएको मन्त्रालयले बताएको छ ।
चालू आर्थिक वर्षमा आठबीसकोट नगरपालिकामा पाँच, मुसीकोट नगरपालिकामा एक र चौरजहारी नगरपालिकामा पाँचओटा कृषि सडक बनाइनेछ । त्यस्तै सानीभेरी गाउँपालिकामा ११, त्रिवेणी गाउँपालिकामा तीन र बाँफिकोट गाउँपालिकामा दुईओटा सडक निर्माण गरिने जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश शाहले बताए ।
ग्रामीण कृषि सडक निर्माण तथा मर्मत सम्भारका लागि कृषि विकास कार्यालयले सूचना प्रकाशित गरिसकेको छ । सडक निर्माणका लागि ४ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यालयका निमित्त प्रमुख शाहले जानकारी दिए । उक्त बजेटबाट आठबीसकोटमा १ करोड १५ लाख, मुसीकोटमा १० लाख, चौरजहारीमा ७० लाख, सानीभेरीमा १ करोड ८० लाख र त्रिवेणी तथा बाँफिकोटमा ३५/३५ लाख रुपैयाँ छुट्ट्याइएको छ । ग्रामीण कृषि सडक निर्माणपछि दर्जनौं गाउँ बजारसँग जोडिनेछन् ।
सडक निर्माणको जिम्मा श्रम सहकारी र कृषि समूहलाई दिइनेछ । सडक निर्माणमा सम्बन्धित क्षेत्रका लाभग्राहीले १० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान राखिएको शाहले बताए । ‘यो योजना अनुसार सडक निर्माण हुँदै गएपछि कृषि उपजको बजारीकरणमा सहज हुनेछ,’ उनले भने, ‘एकैपटक सबै योजना पूरा गर्न सजिलो छैन, तर पनि यो विकासको शुरुआत हो ।’
कर्णाली प्रदेश सरकार गठन भएपछि कृषि सडक निर्माणको अवधारणा ल्याइएको थियो । गत आर्थिक वर्षमा पनि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत उक्त सडक निर्माणको योजना अघि बढाइएको थियो । गतवर्ष सडक निर्माणमा ४ करोड ८० लाख रुपैयाँ खर्च भएको मन्त्रालयले बताएको छ । अधिकांश सडक निर्माण सम्पन्न भइसके पनि केही योजना क्रमागत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।