रौतहट । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सन्तपुर शाखा, रौतहटको कर्जा लगानी कृषि तथा लघुउद्यम क्षेत्रमा बढी देखिएको छ । लघुवित्तमा आबद्ध महिलाले पनि कृषि तथा लघुउद्यमका लागि नै कर्जा लिने गरेकाले ती क्षेत्रमा लगानी बढी भएको हो ।
सन्तपुर शाखाको प्रथम त्रैमासिक तथ्यांक अनुसार कृषिमा ६ करोड ९६ लाख ६८ हजार २१२ रुपैयाँ कर्जा लगानी छ । खाद्यान्न बालीमा २ करोड ७७ लाख ४६ हजार ८१२ रुपैयाँ, तरकारीमा ५८ लाख ७८ हजार २५६ रुपैयाँ, नगदेबालीमा ५ लाख ७२ हजार २७१ रुपैयाँ र फलफूलमा १० लाख १६ हजार ५६९ रुपैयाँ कर्जा लगानीमा रहेकोे शाखा प्रबन्धक विष्णु पन्थीले जानकारी दिए ।
त्यस्तै, पशुमा २ करोड ५० लाख ५७ हजार ४३७ रुपैयाँ, कुखुरापालनमा ३० लाख ३९ हजार ८८ रुपैयाँ, माछा तथा कृषिका अन्य शीर्षकमा समेत लगानी भएको उनले बताए । संस्थाका २ हजार ५९५ ऋणीमध्ये १ हजार १४७ जनाले कृषि कर्जा लिएको पन्थीले बताए ।
त्यस्तै, लघुउद्यममा ५ करोड ६९ लाख १० हजार रुपैयाँ ऋण लगानी रहेको उनले बताए । साउन, भदौ तथा असोज महीनासम्मको तथ्यांकअनुसार १९ करोड ७१ लाख ९४ हजार ३४७ रुपैयाँ कर्जा लगानी रहेको छ । संस्थाको बचत भने ९ करोड ८६ लाख ६८ हजार ४२४ रुपैयाँ रहेको छ । ३ महीनाको अवधिमा संस्थाले ५२ लाख ६४ हजार २२५ रुपैयाँ नाफा गरेको छ ।
त्यस्तै, साना तथा घरेलु उद्योगमा १ करोड ४१ लाख ६२ हजार रुपैयाँ, व्यवसायमा ४ करोड ३० लाख ६१ हजार ४६ रुपैयाँ कर्जा लगानीमा रहेको छ भने सेवामूलकमा ३ करोड ५३ लाख ८४ हजार रुपैयाँ, व्यापारमा २ करोेड ५९ लाख २६ हजार रुपैयाँ र होटलमा ५६ लाख ३१ हजार रुपैयाँ रहेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था सन्तपुर शाखाले जानकारी दिएको छ ।
नेशनल माइक्रोफाइनान्सले ग्राहक सदस्यका लागि ग्राहक बीमा, व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य बीमा, लघु व्यवसाय बीमा, गम्भीर प्रकृतिका रोग बीमा, पशुधन बीमा तथा बाली बीमा उपलब्ध गराउँदै आएको छ । म्यादी जीवन बीमाअन्तर्गत ऋणीको मृत्यु भएको अवस्थामा बीमांक रकम र ३० प्रतिशत काजकिरिया खर्च समेत प्रदान गर्दै आएको पन्थीले उल्लेख गरे ।