ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धारापानीको पर्यटन प्रवर्द्धनका लागि रू. ९० करोडको गुरुयोजना

Nov 18, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको पाण्डवेश्वर महादेव धाम (धारापानी)को पर्यटन प्रवर्द्धनका लागि रू. ९० करोड बराबरको गुरुयोजना बनाइएको छ । पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न उक्त बजेटको गुरुयोजना तयार गरिएको पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताए । यसअघि ल्याइएको रू. ७० करोडको गुरुयोजनामा केही योजना छुटेकाले त्यसैलाई समेटर बृहत् गुरुयोजना तयार पारिएको जानकारी उनले दिए ।

काठमाडौंको एक कन्सल्टेन्ट कम्पनीले नयाँ गुरुयोजनाको सर्भे समेत गरिसकेको सचिव आचार्यले बताए । उनले भने, ‘अब त्यसको प्रतिवेदन आउन बाँकी छ,’ उनले भने, ‘पुरानो गुरुयोजनाको काम भने भइरहेको छ ।’ उक्त गुरुयोजना अनुसार हाल धामदेखि करीब २ किलोमिटर माथि पर्ने सुनकोट डाँडासम्म सिढी निर्माण गरिँदै छ । त्यस्तै सुनकोट डाँडामा मन्दिर बनाउने काम पनि शुरू गरिएको उनले बताए । 

धाममा सहयोग गर्ने दाताहरूको ‘स्तम्भ पार्क’को डिजाइनको काम सकिएकाले छिट्टै निर्माण थालिने आचार्यले जानकारी दिए । गुरुयोजना अनुसार मन्दिर परिसरमा ॐ आकारको पोखरी तथा १०८ गौमुखी धारा निर्माण, १०८ वरपिपल रोपण लगायत काम सम्पन्न भइसकेका छन् । बृहत् गुरुयोजनामा धाम वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब ४ बिगाहा क्षेत्रफलमा नौका शयर गर्न मिल्ने ताल बनाउने, सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्ट निर्माण लगायतका योजना छन् ।

अहिलेसम्म धाममा धेरै लगानी समुदायकै भएकाले यो गुरुयोजना सम्पन्न गर्न पनि समुदायबाटै लगानी हुने र केही राज्यको तर्फबाट लगानी हुने अपेक्षा गरिएको छ । प्रदेश नं ५ ले चालू आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त धाममा अहिलेसम्म समुदायको तर्फबाट ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।

पछिल्लो समय धारापानी धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । स्थानीय दाताहरूको आर्थिक सहयोगमा यहाँ ५५ दशमलव ५ फिट उचाइको पञ्चधातु त्रिशूल निर्माण गरिएको छ । अग्लो त्रिशूल, १०८ शिवलिंग, १०८ वरपिपल जोडी, १०८ समीका वृक्ष, ॐ कुण्ड, पाण्डव शयन शिला, विभिन्न देवी देवताका मन्दिर, वनजंगल र दाङ उत्पत्यकाको अवलोकन पाण्डवेश्वर धामका आकर्षणमा हुन् । यस क्षेत्रमा वर्षेनि करीब ५ लाख मानिस आउने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)