सुनैना घिमिरे पाण्डे सूचना प्रविधि (आईटी) व्यवसायी हुन् । जेनटेक जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडको प्रबन्ध निर्देशक रहेकी पाण्डेले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ मार्फत आईटी व्यवसायीको हकहितमा पनि काम गर्दै आएकी छिन् । हाल महासंघको उपाध्यक्षमा रहेकी उनले यही मङ्सिर ७ गते हुने महासंघको १३औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । प्रस्तुत छ, आईटी क्षेत्रका विभिन्न विषयमा रहेर आर्थिक अभियानका मिलन विश्वकर्मा र युवराज बस्नेतले पाण्डेसँग गरेको कुराकानीको सार :
तपाईंले पेपरलेस (अटोमेशन) प्रणालीको विस्तारमा काम गर्दै आउनु भएको छ । अहिलेसम्म कुन कुन क्षेत्रमा अटोमेशन गर्नुभयो ?
विशेषगरी मैले बैंकिङ क्षेत्रलाई पेपरलेस (अटोमेशन) बनाउने काम गरेँ । ११ वाणिज्य बैंकलाई पेपरलेस बनाउने कामे गरेँ । पहिले बैंकमा कर्जाको प्रक्रिया कागजी रूपमै अगाडि बढ्थ्यो । काठमाडौं उपत्यका बाहिरका कुनै बैंकका शाखाले कर्जा स्वीकृतिका लागि कुरियर मार्फत काठमाडौंका केन्द्रीय कार्यालयमा पठाउँथे । तर अहिले त्यस्तो अवस्था छैन । बैंकको केन्द्रीय कार्यालयले प्रविधिको प्रयोग गरेर एउटा शाखामा आएको कर्जा आवेदन स्वीकृत गर्न सक्छ । पहिले महीनौं लाग्ने काम अहिले तुरुन्त गर्न सकिने प्रविधिको विकास गरेका छौं । प्रविधिकै कारण बैंकको आन्तरिक काम सजिलो भएको छ भने दुर्गम ठाउँमा शाखा खोल्न पनि सकिएको छ ।
साथै अहिले कुनै पनि डकुमेन्ट डिजिटल रूपमा सुरक्षित गर्न सकिने प्रविधि ल्याउने तयारी गरिरहेको छु । विभिन्न सरकारी निकायलाई पनि पेपरलेस तथा अटोमेशन बनाउने विषयमा पनि काम गर्ने तयारी छ । सरकारी कार्यालयमा धेरै कागज प्रयोग गर्नुपर्ने बाध्यता छ । यो अवस्था अन्त्य गर्न सरकारी कार्यालयहरू अटोमेशनमा जान आवश्यक छ । स्वयं सरकार नै डिजिटल नेपालको नारासहित अगाडि बढेको छ । यसलाई साकार पार्न पनि सरकारी कार्यालयहरू प्रविधियुक्त हुनुपर्छ । यस्तै स्वास्थ्य तथा बैंक र बीमा क्षेत्रमा पनि थप प्रविधिको विकास गर्ने मेरो योजना छ ।
नेपालको आईटी उद्योगले सफ्टवेयर निर्यात गर्छ भन्ने सुनिन्छ । अहिले यसको अवस्था कस्तो छ ?
यस विषयमा हामीसँग यकिन तथ्यांक छैन । हामी डाटा संकलनमा केही कमजोर देखिएका छौं । यद्यपि हामीले उल्लेख्य मात्रामा सफ्टवेयर निर्यात गर्न भने सकेका छैनौं । माइक्रोसफ्ट जस्ता विभिन्न सफ्टेवयर आयात गरिरहेका छौं । ‘आउट सोर्सिङ’ गर्न सकियो भने नेपाली बजारले उच्च मात्रामा सफ्वेयर निर्यात गर्न सक्छ ।
विदेशी बजारस“ग प्रतिस्पर्धा गरेर सफ्टवेयर निर्यात गर्न सम्भव होला त ?
यसमा एकदम धेरै सम्भावना छ । अन्तरराष्ट्रिय बजारमा पनि नेपालबाट गएका जनशक्तिले काम गरिरहेका छन् । उनीहरूलाई नेपालमै राम्रोसँग परिचालन गर्न सकियो भने सफ्टवेयर निर्यात गर्न समस्या हुँदैन । अन्तरराष्ट्रिय बजारमा हाम्रो राम्रो छाप परिसकेको छ । नेपालका प्रडक्ट अन्तरराष्ट्रिय बजारमा विक्री हुन थालेका छन् । विगतमा हामीले नै बंगलादेश र श्रीलंकाका बैंकहरूलाई अटोमशनमा लैजान सघाएका हौं । यसले हामीलाई थप हौसला प्रदान गरेको छ । हामीले विश्वबजारसँग सहकार्य गरेर प्रविधि आदानप्रदान कार्य पनि गर्नुपर्छ । त्यसपछि नेपालबाट सफ्टवेयर निर्यात गर्न झनै सहज हुन्छ ।
नेपालमा उत्पादन हुने प्रविधि साइबर सुरक्षाको मामिलामा कत्तिको बलिया छन् ?
संसारका कुनै पनि सफ्टवेयर साइबर आक्रमणबाट शतप्रतिशत सुरक्षित छैनन् । तर त्यसलाई सुरक्षित बनाउने उपाय भने थुप्रै छैन । नेपालको अवस्था पनि त्यही हो । अहिले यहाँका सफ्टवेयर बढीभन्दा बढी सुरक्षित बनाउन आवश्यक छ । नेपाली बजारमा सप्mटवेयर उत्पादन हुन्छ । तर त्यसपछि सफ्टवेयरको सुरक्षा अवस्था परीक्षण गर्ने काम भने भएको छैन । त्यसको आवश्यक मापदण्ड नै छैन ।
विश्वबजारमा सफ्टवेयर उत्पादन गर्दा दुईओटा छुट्टाछुट्टै समूह (टीम) हुन्छ । त्यसमध्ये एउटा समूहले बन्दै गरेको सफ्टवेयर ह्याक गर्ने प्रयास गर्छ भने अर्काेले त्यसलाई सुरक्षित बनाउने प्रयास गर्दै जान्छ । त्यसरी उनीहरूले सप्mटवेयर बनाएर बजारमा ल्याउँछन् । तर नेपालमा यस्तो संयन्त्र छैन । नेपालमा पनि यस्तो अभ्यास गर्ने हो भने यहाँका सफ्टवेयर सुरक्षित हुन्छन् । तर शतप्रतिशत सुरक्षित हुन्छ भनेर ग्यारेन्टी गर्न भने सकिँदैन । सफ्टवेयर प्रयोग गर्दा समय समयमा अडिट गर्ने जस्ता प्रवृत्तिको पनि विकास गर्नुपर्छ । साथै प्रविधि अडिटको विषयमा पनि काम गर्न आवश्यक छ ।
अहिले नेपालको आईटी क्षेत्र विस्तार हुँदै गएकोमा यस क्षेत्रमा लगानी आवश्यक छ कि छैन ?
नेपालको आईटी क्षेत्रले सफ्टवेयर निर्यात गर्ने सक्ने सम्भावना बोकेको छ । त्यो किसिमको उत्पादन पनि गर्न सक्छौं । त्यसैले आईटी क्षेत्रमा लगानीको आवश्यकता छ । तर वर्तमान अवस्थामा लगानीको कमी भने छैन । भोलिका दिनमा राम्रो प्रोजेक्ट आयो भने लगानीको आवश्यकता हुन सक्छ । अब बैंकले आईटी क्षेत्रमा पनि लगानी गर्नुपर्छ । आजको दिनमा आईटी क्षेत्र ठूलो इन्डस्ट्रीको रूपमा देखिएको छ । बैंकहरूले यस क्षेत्रमा लगानी गरेमा हामी पनि उनीहरूलाई राम्रो प्रतिफल दिन सक्छौं ।
पछिल्लो समय आईटी पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । यसरी आएका जनशक्तिलाई नेपालको आईटी क्षेत्रले थेग्न सक्छ त ?
नेपालको आईटी क्षेत्रमा उनीहरूले स्थान पाउन सक्छन् । अहिले नेपालमा आईटी सम्बन्धी जनशक्ति वार्षिक १० हजारसम्म उत्पादन हुन्छन् । तर बजारलाई वार्षिक २५ हजार जनशक्ति आवश्यक परिरहेको छ । त्यसैले यसमा आत्तिनुपर्ने अवस्था छैन । दक्ष जनशक्ति पाउने विषयमा भने केही अफ्ठ्यारो छ । यसलाई महासंघ मार्फत सहजीकरण गर्ने योजनामा छौं ।
नेपालको आईटी क्षेत्रका लागि अभिभावककै रूपमा रहेको क्यान महासंघको उपाध्यक्ष पद सम्हाल्दै आउनुभएको छ । तपाईंको नेतृत्वमा के कस्ता काम भए ?
म यो पदमा निर्वाचित भएर आएपछि क्यान महासंघमा ‘वुमन इन आईटी’ नामक महिला समिति बनाएँ । त्यतिबेला समग्र आईटी क्षेत्रमै महिलाको सहभागिता कम थियो । त्यसैले मैले ४ महीना लगाएर यो समिति बनाएँ । अहिले यसले स्थानीय तहमा महिलालाई प्रविधिको प्रयोग सम्बन्धी तालीम दिँदै आएको छ । भूकम्पछि दोलखामा विद्यार्थीहरू विद्यालय आउन मानेका थिएनन् । हामीले शुरूमा केही विद्यालयमा कम्प्युटर उपलब्ध गरायौं । त्यसपछि बालबालिकालाई गेम खेल्न सिकाएर विद्यालय जाने बातावरण बनायौं । मृतक प्रहरीका श्रीमतीलाई पनि सूचनाप्रविधिको तालीम दिएका छौं । साथै क्यानलाई स्मार्ट बनाउने विषयमा म आफै संयोजक भएर काम गर्दै आएको छु । क्यानका नेपालभरका सदस्यलाई एकैपटक भिडियो कन्फ्रेन्समा जोड्नेगरी काम गर्दै छौं ।
क्यानको नयाँ कार्यसमितिका लागि तपाईंले प्यानल सहित अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । क्यानको नेतृत्व गर्न कस्ता योजना बनाउनु भएको छ ?
सरकारसँग मिलेर नेपाल टुरिजम बोर्ड जस्तै आईटी बोर्ड खडा गर्ने योजना बनाएको छु । टुरिजम बोर्ड स्थापना भएपछि नेपालको पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ । त्यसैले आईटी क्षेत्रलाई पनि विस्तार गर्न आईटी बोर्डको स्थापना गर्न आवश्यक छ । त्यसपछि उक्त बोर्डले नै आईटी क्षेत्रको विकास तथा विस्तारका लागि काम गर्नेछ । साथै जिल्लामा रहेका क्यानका सबै प्रकारका सदस्यलाई केन्द्रीय स्तरकै सेवा सुविधामा दिने योजना छ ।
आईटी व्यवसायीले उठाएका विषयको कार्यान्वयनका लागि मुख्यतः सरकारको नीति आवश्यक हुन्छ । त्यसैले म क्यान महासंघको अध्यक्ष भएर आएपछि व्यवसायीका कुरा सरकारसम्म पुर्याउने र नीति बनाउन दबाब दिने काम पनि गर्नेछु । आईटी क्षेत्रमैत्री कानून बनाउन सरकारको ध्यानाकर्षणका लागि मेरो सक्रियता हुनेछ । साथै ‘जब पोर्टल’ बनाएर नयाँ जनशक्तिलाई आईटी क्षेत्रमा जोड्ने मेरो योजना छ । अहिले नेपालमा ६३ हजार आईटी व्यवसायी छन् । सन् २०२३ सम्म आईटी व्यवसायीको संख्या ५ लाख पुर्याउने लक्ष्य लिएको छु । तर यस्ता काम गर्न सरकारले राम्रो नीति ल्याउन आवश्यक छ ।