ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सम्मेलनले प्रकोप प्रतिरोधी संरचना निर्माणको सन्देश दिनेछ

Nov 18, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनीयरिङ फर्म्स (स्केफ)ले नेपालमा तेस्रोपटक “रिजिलियन्ट इन्फ्रास्ट्रक्चर फर बेटर टुमरो” नामक अन्तरराष्ट्रिय सम्मेलन गर्दै छ । सोमवारदेखि बुधवारसम्म काठमाडौंमा हुने उक्त सम्मेलनले नेपालका भौतिक संरचना गुणस्तरीय बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै भौतिक संरचना दिगो बनाउन सम्मेलनले आवश्यक मार्गदर्शन दिने आयोजकले बताएको छ । प्रस्तुत छ, उक्त सम्मेलनबारे स्केफका महासचिव कृष्णप्रसाद सापकोटासँग आर्थिक अभियानका मिलन विश्वकर्माले गरेको कुराकानीको सार :

स्केफले यो सम्मेलन गर्नुको मुख्य उद्देश्य के हो ? नेपालमा भौतिक पूर्वाधारको सुदृढीकरणमा यसले कस्तो प्रभाव पार्छ होला ?
२०७२ सालको भूकम्पका कारण नेपालका धेरै भौतिक पूर्वाधार भत्किए । उक्त भूकम्पमा धेरै भौतिक संरचना के कारण भत्किए भनेर छलफलको विषय बनेको छ । संरचनाहरू गुणस्तरहीन भएर भत्किए वा पुराना भएर, यस्ता विषयमा अझै छलफल हुँदै आएको छ । त्यसैले आगामी दिनमा यस्ता प्रकृतिक प्रकोपका घटना भए पनि ठूलो मात्रामा क्षति नहुनेगरी भौतिक संरचना बनाउन उत्प्रेरणा दिन यो सम्मेलन आयोजना गरिएको हो ।

भवन विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि अब बन्ने संरचना दिगो हुनुपर्छ भन्नेमा जोड दिँदै आएका छन् । भूकम्प, बाढी, पहिरो जस्ता प्रकोपलाई सामना गर्न सक्ने भौतिक संरचना बनाउनुपर्ने उनीहरूको जोड छ । त्यस्ता किसिमका संरचना बन्दै गर्दा यो सम्मेलनले सम्बन्धित निकायलाई आवश्यक जागरण तथा उत्साह प्रदान गर्ने हाम्रो अपेक्षा छ । सम्मेलनमा कुनै पनि प्रकारका प्रकोपलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन्छ । त्यसैले यो सम्मेलनले सम्बन्धित निकाय तथा इन्जिनीयरहरूलाई थप ज्ञान दिने आशा गरेका छौं ।

सम्मेलनमा सरकारी निकाय, निर्माण व्यवसायी संघ, परामर्शदाता कम्पनीका इन्जिनीयरहरू उपस्थित हुन्छन् । यस्तै भारत, श्रीलंका, कोरिया, चीन लगायत १० मुलुकका इन्जिनीयर पनि आउनेछन् । सम्मेलनमा स्वदेश तथा विदेशका गरेर करीब ४०० इन्जिनीयर सहभागी हुन्छन् ।

प्रकोप प्रतिरोधी भौतिक संरचना नेपाल र विदेशमा कसरी बनाइन्छ भन्ने विषयमा उनीहरूबीच अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ । सोही अनुरूप अब निर्माण गरिने भौतिक संरचना दिगो बनाउन आवश्यक मार्गदर्शन दिने हाम्रो योजना छ । सम्मेलनले अब बन्ने भौतिक संरचना प्रकोप प्रतिरोधी हुनुपर्छ भन्ने सन्देश दिनेछ । हामीले स्केफको २९औं वार्षिकोत्सवको अवसरमा यसको आयोजना गरेका हौं । त्यसैले सम्मेलनको अन्तिम चरणमा वार्षिकोत्सव विशेष कार्यक्रम पनि हुनेछन् । सन् १९९८ र २००९ मा पनि हामीले यस्तो कार्यक्रम गरेका थियौं । त्यसले नीतिगत विषयमा राम्रो प्रभाव पारेको छ ।

सम्मेलनले इन्जिनीयरिङ क्षेत्रको प्रवर्द्धन र विकास गर्छ त ?
आशा छ, इन्जिनीयरिङ पढाइ हुने सबै संस्थाले यस सम्मेलनबाट गुणस्तर शिक्षाका लागि थप स्रोतसाधको प्रयोग गर्नेछन् । सम्मेलनमा हामीले यस क्षेत्रका सबैजसो संस्थालाई सहभागी गराएका छौं । यसले पक्कै पनि केही राम्रो प्रभाव पार्ने अपेक्षा गरेका छौं ।

२०७२ को भूकम्पपछि सरकारले भौतिक संरचना निर्माणकोे विषयमा तपाईंहरूसँग कत्तिको परामर्श गर्दै आएको छ ?
भूकम्पपछि भवन विभागले हामीसँग परामर्श गर्दै आएको छ । घर तथा भवन भूकम्प प्रतिरोधात्मक बनाउनुपर्छ भन्ने विषयमा विभागले आवश्यक नीतिहरू सुधार गर्दै आएको छ । तर सडक, खानेपानी, सिँचाइ, ऊर्जा जस्ता विभाग भने अझै पनि यसप्रति सचेत छैनन् । नेपाल जस्तो मुलुकमा भूकम्प, बाढी लगायत प्रकोपको ठूलो जोखिम छ । त्यसैले अब सम्बन्धित सबै विभागहरू यसप्रति सचेत हुनुपर्छ । एक पटक लगानी गरेर बनाएको भौतिक संरचना कम्तीमा सय वर्ष हुनुपर्छ । आज बनाएको संरचना भोलिको पुस्ताले पनि प्रयोग गर्न सकिने खालको हुनुपर्छ । सोही अनुसार पूर्वाधारको विकास गर्दै जानुपर्छ ।

सरकारले गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा कत्तिको लगानी गरेको छ ?
सरकारले गुणस्तरीय भौतिक संरचना निर्माणका लागि विभिन्न ढंगले लगानी गरेको त छ । तर त्यसको राम्रोसँग सुपरिवेक्षण भने गर्न सकेको छैन । साथै निर्माण व्यवसायीबाट पनि गुणस्तरीय काम हुन सकेको छैन, जसले गर्दा नेपालमा भौतिक संरचनाको गुणस्तर अपेक्षाकृत राम्रो छैन । यसमा हाम्रो ऐन कानूनको कमजोरी पनि होलान् । साथै थोरै पैसामा काम गर्नुपर्ने अवस्था बाध्यताले पनि भौतिक संरचना गुणस्तरीय बन्न सकेका छैनन् ।

निर्माण क्षेत्रको प्रवर्द्धन तथा विकास गर्न केही समस्या छन् कि ? 
हामी दक्ष जनशक्ति तयार गर्छौं । तर उनीहरू नेपालमा टिक्न सकेका छैनन् । विदेश जाने प्रवृत्ति हावी भएको छ, जसले हामीलाई ठूलो समस्या पारेको छ । त्यस्ता जनशक्ति नेपालमा टिकाइराख्न लागि यहाँ भएका पूर्वाधारलाई दु्रत गतिमा अगाडि बढाउनुपर्छ ।

नेपालमा भौतिक पूर्वाधार कछुवाको गतिमा छ, जसले इन्जिनीयरिङ क्षेत्रलाई अप्ठ्यारोमा पारेको छ । सरकार पूर्वाधारलाई केन्द्रित रहेर अगाडि बढ्यो भने नेपालमा उत्पादन भएका दक्ष जनशक्ति यहीँ टिक्न सक्छन् । हामीले तयार गरेका जनशक्ति विदेश जाने र फेरि नयाँ जनशक्ति तयार गर्नुपर्ने बाध्यताले गुणस्तरीय पूर्वाधारमा ठूलो असर पारेको छ ।

इन्जिनीयरिङ क्षेत्रको विकास गर्न सरकारी तवरबाट कुनै सहयोग भएको छ ?
यस क्षेत्रलाई अगाडि बढाउन सरकारी तवरबाट कुनै पनि सहयोग भएको छैन । अर्कोतर्फ यस क्षेत्रको प्रवद्र्धन गर्न नीति नियम पनि आएको छैन । सरकारले इन्जिनीयरिङ क्षेत्रका लागि हालसम्म सरकारी निकाय समेत स्थापना गरेको छैन । हामीलाई कानूनी परिधिमा राख्न सरकारसँग पहल गरिरहेका छौं । त्यसका लागि आवश्यक कानूनको मस्यौदा बने पनि थप प्रक्रिया अगाडि बढेकोे छैन । सरकारले चाँडै उक्त कानून लागू गर्नुपर्छ ।

इन्जिनीयरिङ पढ्न विद्यार्थीले तुलनात्मक रूपमा महँगो शुल्क तिरेका हुन्छन् । उनीहरूले लगानी गरेअनुरूप पैसा नेपालमै कमाउन सक्छन् ?
नेपालमा वर्षेनि इन्जिनीयरिङ क्षेत्रमा विद्यार्थी बढ्दै गएका छन् । नेपालको हकमा उनीहरूले यहाँ सोचे अनुरूप पैसा कमाउन त सक्छन् । तर केही समय प्रतीक्षा गर्नुपर्छ, आत्तिएर हुँदैन । उनीहरूले पहिला आफूलाई अनुभवका आधारमा पनि दक्ष बनाउनु पर्छ । त्यसपछि इन्जिनीयरका लागि पनि नेपालमा राम्रो सम्भावना हुन्छ ।

इन्जिनीरिङ शैक्षिक संस्थाको शैक्षिक गुणस्तर कस्तो छ ?
पछिल्लो समय सरकारी स्तरका कलेजमा एक प्रकारको गुणस्तर देखिन्छ । निजी लगानीमा सञ्चालन रहेका शैक्षिक संस्थामा भने केही कमजोरी देखिएको छ । विशेषगरी ती कलेजमा प्रयोगात्मक परीक्षा नहुने गरेको देखिन्छ । प्रयोगात्मक परीक्षाका लागि उनीहरूसँग आवश्यक पूर्वाधार पनि छैन जस्तो लाग्छ ।
 
स्केफ आएपछि इन्जिनीयरिङ क्षेत्रमा कस्तो प्रभाव परेको छ ?
यो संस्था स्थापना भएको २९ वर्ष भयो । यो संस्थामा अहिले २२५ संस्था आबद्ध छन् । ती कम्पनीले सबै सरकारसँग मिलेर काम गरेका छन् । रोजगारी सृजना समेत भएको छ । राष्ट्र समृद्धिको यात्रा सफल पार्न यो संस्थाले मुख्य भूमिका निर्वाह गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)