क्याप्टेन डमबहादुर पुनले धेरै वर्ष भारतीय सेनामा बिताए । जागीरबाट अवकाश लिएपछि उनले म्याग्दीको घोरेपानीमा पर्यटन व्यवसाय थाले । घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष भएर पर्यटन क्षेत्रको प्रवर्द्धनमा लागेका पुन राजनीतिमा पनि सक्रिय बन्दै गए । २ वर्र्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा चुनिए । प्रस्तुत छ, यो अवधिमा गाउँपालिकामा भएका विकासका काम, आगामी योजना लगायतबारे आर्थिक अभियानका म्याग्दी संवाददाता धु्रवसागर शर्माले गरेको कुराकानीको सार :
अन्नपूर्ण गाउँपालिकाको विकासका लागि प्राथमिकताको क्षेत्र के हो ?
अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक सम्पदा, पर्यटन र जलविद्युत्को ठूलो सम्भावना छ । गाउँपालिकाको प्रमुख भएर आउने बेलामै मैले पर्यटन विकासमा प्राथमिकता दिन्छु भनेको थिएँ । त्यसका लागि पर्यटनको सम्भावना बोकेका ठाउँसम्म यातायातको सुविधा पहिलो आवश्यकता थियो । त्यसैले हामीले विगत २ वर्षमा सडक विकासमा धेरै काम गरेका छौं । यो वर्ष प्रत्येक वडा कार्यालयसम्म दुई लेनको सडक पुर्याउने योजना छ । त्यसको काम भइरहेको छ । यहाँका पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा विशेष ध्यान दिएका छौं ।
यो अवधिमा चुनावताका जनताउँग गरेका वाचा कत्तिको पूरा गर्नुभयो ?
चुनावको बेला म गाउँ–गाउँमा पुग्दा सडक, आमा समूहका भवन, युवाका लागि खेलमैदान निर्माण र अन्नपूर्णलाई पर्यटकीय गाउँपालिकाको रूपमा चिनाउने प्रमुख एजेन्डा थिए । तीमध्ये धेरै काम पूरा हुँदै गएका छन् । वार्षिक ३० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक यो गाउँपालिकामा आउँछन् । उनीहरूको बसाइ कसरी लम्ब्याउन सकिन्छ भन्नेमा ध्यान दिएका छौं । हिस्तानको पुलदेखि नागीसम्मको सडक नमूना बनाउन लागेका छौं । समग्रमा भन्ने हो भने चुनावी प्रतिबद्धता ७० प्रतिशत पूरा भएका छन् । जनतासँग गरेका वाचा म मेरो कार्यकालसम्म जसरी पनि पूरा गर्नेछु ।
यो अवधिमा गाउँपालिकामा देखिनेगरी भएका काम के के हुन् ?
पर्यटन, शिक्षा र भौतिक निर्माणमा महत्त्वपूर्ण काम भएका छन् । सामाजिक विकास र कृषिको क्षेत्रमा पनि काम हुँदै छन् । पर्यटनसँगै शिक्षालाई प्राथमिकता दिएर काम गरिरहेका छौं । गाउँपालिकामा भएका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पहल गरेका छौं । सामुदायिक विद्यालयलाई पनि संस्थागत विद्यालय जस्तै बनाउन सकिन्छ भन्ने सोचले अघि बढेका छौं । त्यसको न्यूनतम कार्य शुरू भएको छ । नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाउने व्यवस्था गरिएको छ । यसले शैक्षिक गुणस्तरमा सघाउ पुग्नुका साथै विद्यार्थीले नयाँपनको महसूस गरेका छन् । गाउँपालिकाको यो निर्णयले अभिभावक उत्साहित छन् भने शिक्षकहरूमा अब बढी मेहनत गर्नुपर्छ भन्ने सोचको विकास भएको छ । यो वर्षमा मैले शिक्षामा केही नयाँ काम शुरुआत गरेको छु । यसको नतीजा वर्षौंसम्म हाम्रो पुस्ताले पाउँदै जानेछ । त्यसैगरी यातायातको क्षेत्रमा पनि धेरै काम भएका छन् । अब घोडेपानीमा मोटर चढेरै सकिनेछ ।
लामो समय भारतीय सेनामा काम गर्नुभयो । सैनिक र गाउँपालिका प्रमुखमा के फरक पाउनुभयो ?
धेरै फरक छ । म पहिला भारतमा हुँदा पनि चुनावको बेला आउँथेँ अनि भोट हालेर जान्थेँ । यो ठाउँ भौगोलिक हिसाबले विकट भएकाले पनि विकास निर्माण नभएको भन्ने लाग्थ्यो । तर मैले बुभ्mदै गएपछि विकास अनियमितता र ढिलासुस्तीले कुनै काम नहुने रहेछ भन्ने थाहा पाएँ । त्यो रोक्न पनि म राजनीतिमा आएको हुँ । तर राजनीति र कर्मचारी प्रशासन धेरै झन्झटिलो छ । राजनीतिक लुछाचुँडीले गर्दा पनि हाम्रोमा विकास निर्माणले गति लिन नसकेको मलाई लाग्छ । म राजनीतिमा जे सोचेर आएको थिएँ, त्यो अनुरूप काम गर्न पाएको छैन । कहिलेकाहीँ लाग्छ, म राजनीतिमा आएर गल्ती गरेछु । किनकि म मेरो तरीकाले काम गर्न खोज्छु, तर यहाँको प्रक्रिया र नियमले दिँदैन । जनतालाई त प्रक्रिया होइन, परिणाम चाहिएको छ ।
गाउँपालिकाका योजना के के छन् ? कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ ?
पर्यटन र शिक्षाको क्षेत्रमा विगत २ वर्षमा केही काम भएका छन् । प्राप्त उपलब्धिको सदुपयोग गर्दै अबका योजना स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने र पूर्वाधारको स्तरोन्नति गर्ने रहेका छन् । प्रत्येक वडा कार्यालयमा स्वास्थ्य चौकी निर्माण गर्ने योजना छ । वडाका स्वास्थ्य चौकीमार्फत सहज, सुलभ ढंगले स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित हुनेछौं । यसका लागि स्तरीय स्वास्थ्य संस्था र दक्ष जनशक्तिको आवश्यकता पर्छ । हामी हरेक स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर राख्ने सोचमा छौं । अहिले भएका स्वास्थ्य चौकीहरूमा पनि औषधिको अभाव देखिन्छ । त्यस्ता समस्या समाधान गर्दै जानेछौं । हरेक वडामा गर्भवती र सुत्केरी महिलाका लागि २/२ लाख रुपैयाँको आकस्मिक कोष बनाएका छौं । त्यसबाट मातृ–शिशु मृत्युदर हटाउने योजना छ । प्राथमिकताको अर्को योजना पर्यटन नै हो । गाउँपालिकामा विश्वकै गहिरो अन्धगल्छी, रुप्से झरना, घोरेपानी, पुनहिल जस्ता विश्वमै चर्चित पर्यटकीय गन्तव्य छन् । यी ठाउँमा अहिले वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने गरेको तथ्यांक छ । अझै प्रचार–प्रसार बढाएर आवश्यक पूर्वाधार निर्माण गर्नेछौं । हामीले जति पर्यटक ल्याउन सक्छौं, उति नै हाम्रो गाउँपालिकाको आर्थिक क्षमता बलियो हुन्छ ।
तपाईंको कार्यकाल सकिने बेलासम्म ‘गाउँपालिकाको प्रमुख भएर मैले यो यो काम गरेँ’ भन्न सक्ने योजना के के हुनेछन् ?
गाउँपालिकाको पर्यटकीय स्थल घोरेपानी–पुनहिलमा एउटा चिडियाखाना र बहृत् उद्यान बनाउने सोचेको छु । मेरो कार्यकालमै त्यो सम्पन्न हुनेगरी काम अघि बढाउनेछु । साथै लालीगुराँसको जंगल संरक्षण गर्ने र त्यसलाई अझै प्रवद्र्धन गर्ने योजना छ । अन्नपूर्ण गाउँपालिकाको मुुहार फेरिने गरी कामको शुरुआत गर्छु । सम्भव भएसम्म मेरै कार्यकालमा पूरा गर्छु । कठिन भौगोलिक अवस्थाका कारण दुर्गम गाउँका जनता बिरामी भए भने अस्पतालसम्म ल्याउन ४–५ घण्टा लाग्छ । त्यसले कतिको बाटोमै मृत्यु हुने सम्भावना हुन्छ । त्यसैले गाउँपालिकामा स्वास्थ्यचौकीको स्तरोन्नति गरिनेछ । एउटा ठूलो अस्पताल खोलेर गाउँपालिकाका जनतालाई गुणस्तरीय सेवा दिने सोच छ । अस्पताल बनेपछि छिमेकी जिल्ला मुस्ताङका जनता समेत यहाँ आएर सेवा लिन सक्नेगरी सेवा विस्तार गर्नेछौं ।
कृषि क्षेत्रको विकासका लागि के कस्ता योजना बनाउनु भएको छ ?
हाम्रो गाउँपालिका आलुखेतीका लागि निकै उपयुक्त छ । त्यसलाई अझै व्यवस्थित गर्दै लैजाने सोचेको छु । किसानलाई अनुदानको व्यवस्था गरेर भए पनि कृषिको व्यावसायिकता विकास गर्नेछौं । गाउँपालिकाको कार्यपालिकाले त्यसको निर्णय पनि गरेको छ । यहाँ होटल धेरै भएकाले तरकारीखेती गर्ने किसानलाई प्रोत्साहन गर्नु छ । आलुखेति गर्न राम्रो बीउ आवश्यक पर्ने भएकाले एउटा शीत भण्डारण गृह बनाउने योजना पनि छ ।
गाउँपालिकामा जलविद्युत् विकासको काम कसरी अघि बढेको छ ?
म्याग्दीका अन्य स्थानीय तहमा भन्दा यहाँ जलविद्युत् आयोजना धेरै छन् । ४२ मेगावाटको मिस्त्रीखोला, ६५ मेगावाटको उपल्लो मिस्त्रीखोला ३७ मेगावाटको म्याग्दीकाली, १४ मेगावाटको घारखोला, ५ मेगावाटको घलेम्दीखोला, ६ मेगावाटको रेलेखोला र ५३ दशमलव ३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदै छन् । यी आयोजना सम्पन्न भएपछि गाउँपालिकाले कर संकलन गर्ने हो भने यहाँ आर्थिक तथा भौतिक विकासका धेरै काम हुनेछन् । हामीले पहिलो गाउँसभा मार्फत ‘उज्यालो घर अन्नपूर्णको भर’ नारा अन्तर्गत यहाँका जलविद्युत् आयोजनाको निर्माणमा सहयोगी बन्ने, आवश्यकता र सम्भाव्यता अध्ययन गरी लगानी समेत गर्ने नीति पारित गरेका छौं । गाउँपालिकालाई हामी ‘हाइड्रो हब’ बनाउनेछौं । त्यसका लागि निजीक्षेत्रका लगानीकर्तालाई आकर्षित गर्नेछौं ।