जिरी दोलखाको सुन्दर पर्यटकीय गन्तव्य मानिन्छ । पर्यटकीय सम्भावना भएकै कारण यस क्षेत्रमा सोही अनुसार विभिन्न पूर्वाधार निर्माण गरिँदै आएको छ । जिरी नगरपालिका यसका लागि योजना बनाएरै अघि बढेको नगर प्रमुख टंक जिरेल बताउँछन् । आफूहरू निर्वाचित भएर आएपछि पर्यटन, कृषि तथा पशुपालन र भौतिक पूर्वाधारको विकासमा ध्यान दिएको उनको भनाइ छ । प्रस्तुत छ, नगरले गरेका काम, विकास निर्माणका चुनौती, भावी योजना लगायतबारे आर्थिक अभियानका दोलखा संवाददाता नवराज शिवाकोटीले जिरेलसँग गरेको कुराकानीको सार :
नगरपालिकाले विकास निर्माण कसरी अघि बढाएको छ ?
जिरी दोलखाकै मुख्य पर्यटकीय स्थलको रूपमा परिचित छ । यस क्षेत्रमा आवश्यक पूर्वाधार लगायतको व्यवस्था गरी पर्यटकीय हबको रूपमा विकास गर्न जिरी नगरपालिका लागिपरेको छ । नगरका बासिन्दाको आयआर्जन माथि उकास्न अग्र्यानिक कृषि उत्पादन र पशुपालनमा जोड दिएर कार्यक्रम ल्याएका छौं । वडा कार्यालयहरू निर्माण, मुख्य सडकको स्तरोन्नति, सहायक सडक निर्माण, पर्यटन पूर्वाधार निर्माण लगायत काम गरिरहेका छौं । तीनओटा वडा कार्यालय भवनको निर्माण सम्पन्न भइसकेको छ । यो वर्षभित्र थप सातओटा वडा कार्यालय भवनको निर्माण सम्पन्न हुँदै छ ।
प्रशस्त सम्भावना हुँदा हुँदै पनि जिरीमा पर्यटन व्यवसाय अपेक्षाकृत फस्टाएको देखिँदैन । कारण के होला ?
जिरीको हावापानी र भू–बनोट स्वीट्जरल्यान्डसँग मिल्दोजुल्दो भएकाले स्वीस पर्यटकले यसलाई ‘नेपालको स्वीट्जरल्यान्ड’ उपनाम दिए । पहिले सगरमाथा आरोहणका लागि विदेशीहरू यही बाटो भएर जान्थे । यसको प्रचार बढी थियो र विदेशी पर्यटकको आकर्षणको केन्द्र थियो । अहिले सडकको पहुँच सोलुसम्म पुगेको छ । त्यहाँसम्म सीधा हवाई यातायातको सुविधा भएकाले पनि यहाँ विदेशी पर्यटकको आगमन केही घटेको छ । त्यसैले यहाँको पर्यटन व्यवसाय अलि सुस्ताएको जस्तो देखिएको हो । तर आन्तरिक पर्यटकको आगमन भने उल्लेख्य रूपमा बढिरहेको छ ।
जिरीलाई पर्यटकीय हब बनाउने भन्नुभयो । यसको तयारी र कामको अवस्था कस्तो छ ?
खुशीको कुरा त जिरी प्राकृतिक रूपमै सुन्दर र मनोरम छ । हामीले जिरीको वातावरण स्वच्छ राख्न तथा यहाँ अग्र्यानिक कृषि उपज उत्पादन गर्न ‘क्लिन जिरी, ग्रीन जिरी र अर्गानिक जिरी’ अभियान चलाएका छौं । यसमा सफलता पनि मिल्दै गएको छ । पर्यटन प्रवर्द्धनका लागि वडा नं १ पुम्पा र वडा नं २ शैलुङडाँडामा ढुंगापार्क, वडा नं ३ मा कुथामे पिकनिक पार्क, गुरु रिम्पोछेँको शालिक सहितको पार्क, क्याङसे पोखरी पार्क, वडा नं ४ मा तेन्जिङ हिलारी पार्क, वडा नं ५ मा टोनी हेगेन इकोलोजिकल पार्क, वडा नं ६ मा मानेडाँडा पार्क, बुद्ध पार्क, गुरासे पार्क, वडा नं ७ खावाडाँडामा भ्यूटावर सहितको पार्क लगायत निर्माणाधीन छन् । यीमध्ये कतिपयको निर्माण सम्पन्न भइसकेको छ । यी सबै पार्कको निर्माणपछि जिरीको पर्यटकीय महत्त्व अझै बढ्नेछ । यसैगरी जिरीमा कृत्रिम ताल बनाउने योजनाको डीपीआर तयार हुँदै छ । प्रदेश सरकारको सहयोगमा अर्को आर्थिक वर्षदेखि यसको निर्माण शुरू हुनेछ । विभिन्न ठाउँमा जाने ‘फुट ट्रेल’हरूको निर्माण गरिरहेका छौं । यसबाट पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा छ । जिरीमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइ कसरी लम्ब्याउन सकिन्छ भन्नेतर्फ पनि हाम्रो ध्यान गएको छ ।
नगरवासीको आयआर्र्जनका लागि के कस्ता कार्यक्रम छन् ?
जिरी नगरपालिकाभित्र शहरी क्षेत्र मात्र छैन, ग्रामीण क्षेत्र पनि छ । त्यसैले समग्र नगरवासीको आयआर्जन वृद्धिका लागि पर्यटन प्रवर्द्धनका अतिरिक्त कृषि र पशुपालनमा जोड दिएका छौं । पशुपालक किसानलाई अनुदानको व्यवस्था गरेका छौं । अर्गानिक कृषि वस्तु उत्पादनका लागि कृषकलाई प्रोत्साहन गरिरहेका छौं । उनीहरूलाई खनजोत गर्ने लगायत काममा मद्दत पुर्याउन आधुनिक कृषि औजार तथा उपकरण, उन्नत जातका बीउबिजन, बेमौसमी तरकारीखेतीका लागि प्लास्टिक टनेल आदिमा अनुदान दिएका छौं । कृषकलाई परम्परागत बालीभन्दा चिया, किवी लगायत नगदे बाली लगाउन प्रोत्साहन गरिरहेका छौं । स्थानीय अग्र्यानिक उत्पादनको ब्रान्डिङ तथा बजारीकरणमा पनि सघाउँदै छौं । यसबाटै स्थानीयको आयआर्जन बढाएर समृद्ध नगर बनाउने अभियान सफल पार्नेछौं ।
निर्माण व्यवसायीको ढिलासुस्तीले अहिले देशभर विकास निर्माणका योजना अलपत्र भएको अवस्था छ । जिरी नगरपालिकाले लगाएको ठेक्काको अवस्था के छ ?
जिरी नगरपालिकाले आफूले लगाएका ठेक्काको निरन्तर अनुगमन गर्दछ । अहिलेसम्म नगरपालिकाले लगाएका ठेक्काको काम समयमै सम्पन्न भएका छन् । केन्द्र तथा प्रदेशले लगाएका ठेक्काको काम भने समयमै सम्पन्न नभएर समस्या भएको छ ।
जिरी नगरपालिकाको विकासमा देखिएका चुनौती के के छन् ?
हामी विकासमा राजनीतिक खिचातानी गर्दैनौं । विकासका मामिलामा सबै दलबीच साझा धारणा छ । यो हाम्रो संस्कारकै रूपमा विकसित हुँदै आएको छ । तर अहिलेको युवावर्गमा मेहनत गर्ने बानीको कमी छ । यो नै अहिले जिरीको विकासमा ठूलो चुनौती हो जस्तो लाग्छ । युवालाई कम मेहनत गरेर सजिलै पैसा कमाउने उपाय चाहिएको छ । युवालाई कृषि उत्पादन, पशुपालन र पर्यटनमा जोडेर लैजान सके नगरको समृद्धि टाढा छ जस्तो मलाई लाग्दैन । उद्यमशील बनेमा यहीँ बसेर समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा युवालाई विश्वास दिलाउनु छ । यो चुनौती पनि सबैको सहकार्यबाट पार लगाउन सकिन्छ भन्ने मेरो विश्वास छ ।
नगरको कार्यसम्पादनमा जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्वको स्थिति छ कि छैन ?
हामीकहाँ त्यस्तो समस्या छैन । जनप्रतिनिधि र कर्मचारीको आ–आफ्नै काम, कर्तव्य र अधिकार छन् । दुवैले आफ्नो दायित्व बुझेर काम गर्ने र एकअर्काको कार्यक्षेत्रमा हस्तक्षेप नगरेपछि विवाद र द्वन्द्वको अवस्था नै आउँदैन । हामी यसमा सचेत छौं । एकअर्काको सम्मान गर्न जानेका छौं ।