ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघुवित्तको ऋण पाएपछि व्यावसायिक केराखेती

Nov 28, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी


दाङ । दाङको राप्ती गाउँपालिका–१ पाखापानीकी मनीषा गुरुङलाई व्यावसायिक केराखेती गर्न अत्यन्त मन थियो । केराखेतीका लागि आवश्यक ज्ञान र शीप आर्जन गरेकी मनीषाको पहुँचमा आफ्नै ठाउँमा केराखेतीका लागि उर्वर भूमि थियो । तर, उनलाई केराखेतीमा लगानी गर्ने रकमको अभाव थियो ।

केराखेतीका लागि रकमको खोजीमा भौंतारिएकी मनीषालाई ग्रामीण महिला उत्थान केन्द्रले विनाधितो रू. ४ लाख ऋण दियो । ३ वर्षअघि ऋण लिएर व्यावसायिक केराखेती थालेकी उनले हाल लाखौं रुपैयाँको केरा उत्पादन गर्छिन् । 

पहिलो वर्ष केही समस्या भए पनि अहिले राम्रो आम्दानी भइरहेको उनी बताउँछिन् । शुरूमा ६०० केराका बोटबाट व्यवसाय थालनी गरेकी मनीषाले अहिले पाखापानी लालमटियामा १५ कट्ठा जग्गामा ३ हजार केराका बोट लगाएकी छन् । 

गत वर्ष केराखेतीबाट सबै खर्च कटाएर रू. २ लाख आम्दानी गरेको उनले सुनाइन् । ‘पोहर साल चोखो २ लाख रुपैयाँ बचेको थियो,’ उनले भनिन्, ‘यस वर्ष त केराका बोट पनि बढी छन् आम्दानी बढ्ने आशामा छु ।’ यस वर्ष उनले रू. ७ लाखभन्दा बढीको केरा उत्पादन गर्ने लक्ष्य लिएकी छिन् । 

जिल्लामा केरा उत्पादन कमै हुने र बढी भारतबाटै भित्रिने भएकाले लगाएको केराको बजारीकरणमा समस्या छैन । उनले हरिछाल वर्गभित्र पर्ने जीनाइन जातको केराखेती गरेकी छन् । 

दाङमा वर्षेनी १० हजार ५८४ मेट्रिकटन केरा खपत हुन्छ । तर त्यसको झण्डै ७५ प्रतिशत केरा बाहिरबाट आयात गरिन्छ । कृषि ज्ञान केन्द्र, दाङको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा वार्षिक २ हजार ६०० मेट्रिकटन केरा उत्पादन हुन्छ, जुन वार्षिक खपतको करीब २५ प्रतिशत हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)