रुकुम । रुकुम पूर्वको मुसीकोट नगरपालिका–१० का ५० परिवारले व्यावसायिक रूपमा लसुनखेती शुरू गरेका छन् । अन्नबालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि किसानहरू लसुनखेतीमा आकर्षित भएका हुन् । यसअघि उनीहरूले मुख्यबालीको रूपमा गहुँखेती गर्दै आएका थिए ।
‘गहुँखेतीको तुलनामा दोब्बर बढी आम्दानी हुने देखे पनि लसुनखेती शुरू गरेका छौं,’ मुसीकोट नगरपालिका–१० खड्काटोलका झुपलाल खड्काले भने । गहुँखेती हुँदै आएको खेतमा आपूmले ४ क्वीन्टल लसुनको बीउ रोपेको उनले बताए । यस्तै चौखावाङका एकबहादुर खड्काले पनि आफ्नो बारीमा डेढ क्वीन्टल लसुनका बीउ रोपेका छन् ।
गाउँसम्म सडक पुगेर बजारीकरणमा सहज हुने भएकाले पनि आपूmहरू लसुनखेतीमा लागेको सम्बद्ध किसानहरूले बताएका छन् । १० नं वडाका विभिन्न टोलमा लसुनखेती विस्तार भएको किसान एकबहादुर खड्काको भनाइ छ । यो वर्ष विभिन्न टोलमा लसुनको बीउ ७० क्वीन्टल लगाइएको छ ।
लसुनका बीउमा वडाले अनुदान समेत दिएको छ । यो वर्ष वडा नं १० कार्यालयले किसानलाई २२ क्वीन्टल बीउ अनुदानमा वितरण गरेको थियो । किसानले ७५ प्रतिशत अनुदानमा लसुनको बीउ पाएका थिए ।
लसुनखेतीबाट घाटा नहुने भन्दै किसानहरू व्यावसायिक रूपमै यसको खेतीमा लागेका हुन् । राम्रो मूल्य पाउने भएपछि आफूले यो वर्ष लसुनखेती विस्तार गरेको स्थानीय किसान झुपलाल खड्काले बताए । यो वर्ष वडाका खड्काटोल, गलमपाटीटोल, चौरटोल र दलित नमूना टोलमा लसुनको खेती विस्तार गरिएको छ ।
लसुन पकेट क्षेत्र बनाउने उद्देश्यले यो वर्षदेखि लसुन खेती गर्ने किसान, जग्गा तथा परिमाण बढाइएको वडासदस्य धनबहादुर खड्का बताए । ‘किसानलाई प्रोत्साहनका लागि लसुनको बीउमा अनुदान समेत दिइएको छ,’ उनले भने । अघिल्लो वर्ष किसानले प्रतिकिलो लसुन ८० रुपैयाँमा विक्री गरेका थिए । किसानले बीउका साथै चिस्यान केन्द्रको पनि माग गरेका छन् । लसुन लामो समय राख्दा तौल घट्ने, उम्रने तथा कुहिने समस्या भएकाले खेती विस्तारसँगै चिस्यान केन्द्र स्थापनाका लागि पहल गरिने वडाध्यक्ष गोपेश्वर केसीले बताए ।