ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नौवस्ता औद्योगिक क्षेत्रको घट्यो क्षेत्रफल

Dec 3, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही


नेपालगञ्ज । साढे ४ दशकअघि स्थापना भएको बाँकेको नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र उद्योगका लागि आवश्यक जग्गा अपुग भएपछि अर्को औद्योगिक क्षेत्र स्थापना गर्न व्यवसायीले माग गरे । मानव बस्तीसँगै रहेको सो औद्योगिक क्षेत्रको प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर परेपछि स्थानीयले पनि वैकल्पिक औद्योगिक क्षेत्रको खोजी गर्न आग्रह गरे । सरकारले पनि जिल्लाको बैजनाथ गाउँपालिकाको नौवस्तामा प्रादेशिक स्तरको औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा ग¥यो । तर, नेपालगञ्ज औद्योगिक क्षेत्रको विकल्प मानिएको सो औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अघि बढ्दै गर्दा क्षेत्रफल भने घट्न थालेको छ । 

शुरूमा नौवस्ता औद्योगिक क्षेत्र ३३८ बिघा क्षेत्रफलमा स्थापना हुने घोषणा भएको थियो । गत वर्षको कात्तिक ७ गते सरकारले परियोजना कार्यालय समेत स्थापना ग¥यो । तर, अहिले औद्योगिक क्षेत्रफल २७७ बिघा मात्रै हुने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । सो स्थानमा पहिलेदेखि बसोबास गर्दै आएका स्थानीय, क्षेत्रीय कारागार र सशस्त्र प्रहरीलाई जमीन छोड्नुपर्दा औद्योगिक क्षेत्रको क्षेत्रफल घटेको कार्यालयका पदाधिकारीले बताएका छन् । 

कार्यालयका प्रमुख कृष्ण पुनले सशस्त्र प्रहरी, सुकुमवासी बस्ती र क्षेत्रीय कारागारका लागि क्रमशः ३०, २० र ११ विगाह क्षेत्रफल छाड्ने सहमति भएको जानकारी दिए । ‘सहमतिका क्रममा शुरूमा योजना गरिएको क्षेत्रफल कम भएको हो,’ उनले भने । तर, सरकारले उनीहरूको व्यवस्थापनमा प्रयास नगर्दा औद्योगिक क्षेत्रको जग्गा घटेको बाँकेका केही सरकारी अधिकारी बताउँछन् ।

नौबस्ताको औद्योगिक क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिसकिएको छ । वन मन्त्रालयले आयोजनाको असरबारे राय सुझावका लागि कात्तिक १७ गते ३० दिने सूचना जारी गरेको पुनले जानकारी दिए । कसैले औद्योगिक क्षेत्रबारे सुझाव दिए थप छलफल गरेर प्रक्रिया अगाडि बढ्नेछ । ‘वनले ईआईए पास गरेपछि अन्य कामहरू अगाडि बढाइने छ,’ उनले भने । 

वनको अनुमतिपछि उद्योगका लागि आवश्यक पर्ने बाटो, ढल, विद्युतीकरणको काम शुरू हुनेछ । उद्योगीलाई न्यूनतम शुल्कमा ४० वर्षका लागि उद्योग स्थापना प्रयोजनमा जग्गा भाडामा दिने योजना छ । औद्योगिक क्षेत्र निर्माणका लागि प्रारम्भिक रूपमा रू. ८ अर्बको लागत अनुमान गरिएको छ । 

औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि डेढ वर्षअघि नै प्रस्ताव माग गरिएको थियो । गत वर्ष नै ३५० भन्दा बढी व्यवसायीले उद्योग सञ्चालनका लागि आशय पत्र दर्ता गराएको आयोजना कार्यालयले जानकारी दिएको छ । नेपालगञ्जमा २३३ रोपनी क्षेत्रफलमा रहेको औद्योगिक क्षेत्रमा ३३ ओटा ठूलासाना उद्योग सञ्चालनमा छन् । यो औद्योगिक क्षेत्रमा झण्डै १ हजारले रोजगारी पाएका छन् भने रू. ४ सय करोड वार्षिक उत्पादन हुने गरेको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)