रुकुम । पर्यटन प्रवर्द्धनका लागि भेरी नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । ‘घुमौं कर्णाली’ कार्यक्रम र भम्रण वर्षलाई लक्षित गरी कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पहलमा भेरी नदीमा र्याफ्टिङ शुरू गरिएको हो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको प्रक्रैयाँदेखि चौरजहारी नगरपालिकाको बाँसखोलासम्म र्याफ्टिङ सञ्चालन गरिएको छ । कर्णाली प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र प्रवर्द्धनका लागि कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० लक्षित विभिन्न कार्यक्रम अघि बढाएको छ । कर्णालीमा रहेका नदीनाला, तालतलैया तथा अन्य पर्यटकीय क्षेत्रमा प्याराग्लाइडिङ र र्याफ्टिङ सञ्चालन गरेर भ्रमण वर्षको प्रवद्र्धन गरिँदै छ ।
‘र्याफ्टिङका लागि कर्णाली र भेरी नदी उपयुक्त मानिन्छन्,’ प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भने, ‘यी नदीमा बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने गर्ने उद्देश्यले र्याफ्टिङ शुरू गरिएको हो ।’ नेपाल भम्रण वर्ष २०२० को अवधिमा कर्णाली प्रदेश सरकारले कर्णालीमा १ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
कर्णाली प्रदेश धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले धनी भएकाले यहाँको पर्यटन प्रवर्द्धन र प्रचार प्रसारका लागि पर्यटन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘कर्णाली प्रदेशको पर्यटन मात्र नभई अब यस क्षेत्रको अत्यावश्यक पूर्वाधार विकासका लागि पनि प्रदेश सरकार लागिपरेको छ,’ उनले भने ।
कर्णाली बाह्य तथा आन्तरिक पर्यटकका लागि राम्रो सम्भावना बोकेको प्रदेशको रूपमा रहेको छ । प्रदेशका अधिकांश पर्यटकीय क्षेत्रमा पुग्न अझै पनि सडक र अन्य भौतिक पूर्वाधारको विकास हुन सकेको छैन ।
यद्यपि सबै पर्यटकीय क्षेत्रमा पुग्नेगरी करीब १५ दिनको ट्रेकिङ प्याकेज बनाउने योजना रहेको प्रतिनिधिसभा सांसद जनार्दन शर्माले बताएका छन् ।