रूकुम । सवारी दुर्घटना न्यूनीकरणका लागि रूकुम पश्चिममा ‘ट्राफिकसँग २ मिनेट’ कार्यक्रम शुरू गरिएको छ । जिल्लाबाट बाहिरिने तथा भित्रिने सवारी साधनका चालक र यात्रुलाई ट्राफिक नियमबारे जानकारी दिने उद्देश्यले सो कार्यक्रम शुरू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रूकुम पश्चिमले बताएको छ ।
बढ्दो सवारी दुर्घटना कम गर्न यही फागुनदेखि उक्त कार्यक्रम शुरू गरिएको कार्यालयले बताएको छ । यस कार्यक्रमलाई नमूना कार्यक्रमको रूपमा अघि बढाइएको भनाइ छ । ट्राफिक नियम उल्लंघन गरी जथाभावी सवारीसाधन चलाउँदा दुर्घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि नयाँ कार्यक्रम सार्वजनिक गरिएको ट्राफिक कार्यालयका इन्चार्ज लक्ष्मण विश्वकर्माले बताए । ‘ट्राफिकसँग २ मिनेट कार्यक्रम शुरू भएदेखि प्रत्येक दिन सवारीसाधनलाई रोकेर बसमा सवार यात्रु, चालक र सहचालकलाई ट्राफिक नियमको बारेमा जानकारी दिने गरेका छौं,’ उनले भने । जिल्लामा ट्राफिक प्रहरीले शुरूआत गरेको यस कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले हाल मुसिकोट नगरपालिका–५, सेरीगाउँमा नयाँ कार्यालय स्थापना गरी ट्राफिकसँग २ मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ भने क्रमशः अन्य स्थानमा पनि सञ्चालन गरिने कार्यालयले बताएको छ ।