ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभावकारी भएन ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम

Mar 6, 2020  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम ।  रुकुममा ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम प्रभावकारी हुन सकेको छैन । प्रदेश ५ सरकारले गतवर्ष जिल्लाका विभिन्न क्षेत्रमा शुरू गरेको यो कार्यक्रमबाट किसान लाभान्वित हुन नसकेका हुन् । 

प्रदेश ५ सरकारले भूमे गाउँपालिका–१, लुकुमलाई स्मार्ट भेडा पालन र सिस्ने–८ को पाटागाउँ र झिमखोलालाई सुन्तला स्मार्ट कृषि गाउँ घोषणा गरेको थियो । 

स्मार्ट कृषि गाउँको विकास र प्रवर्द्धनका लागि प्रदेश ५ सरकारबाट ५०/५० लाख रुपैयाँ बजेट आएको थियो । सिस्ने गाउँपालिका र भुमे गाउँपालिका थप १०/१० लाख रुपैयाँ विनियोजन गरिएको थियो । अहिलेसम्म यी गाउँमा ६० लाख रुपैयाँ खर्च गरिए पनि लक्षित क्षेत्रका किसानले फाइदा लिन नसकेको सरोकारवालाहरूले औंल्याएका छन् । 

रुकुम पूर्वको लुकुम कृषि गाउँ कार्यक्रम अन्तर्गत रू. ९ लाख ५० हजार रुपैयाँमा भेडा गोठाला बस्ने सातओटा  छाप्रा बनेका छन् । त्यस्तै १ लाख ५० हजार रुपैयाँ लागतमा सातओटा आकाशे पानी ट्यांकी, १ लाख रुपैयाँ लागतमा भेडा पखाल्ने सातओटा ड्याम, फोहोरमैला व्यवस्थापनका लागि खाल्डो र स्मार्ट कृषि गेट बनेका छन् । तर कार्यक्रम मार्फत सञ्चालित आयोजनाले किसानलाई समेट्न नसकेको भुमे गाउँपालिका–१ का प्रभात गुरुङले बताए ।

सिस्ने गाउँपालिकाको पाटा गाउँमा सानो भण्डार घर र एउटा गेट निर्माण गरिएको छ । कार्यक्रममा नयाँ बिरुवा लगाउने, सुन्तला उत्पादन बढाउन, बजारीकरणका लागि ध्यान दिएको छैन । स्मार्ट कृषि गाउँ कार्यक्रम प्रभावकारी नभएको स्थानीय किसानले गुनासो गरेका छन् । स्थानीय कर्णबहादुर पुनले भने, ‘किसानका समस्यालाई कृषि स्मार्ट गाउँ कार्यक्रमले समेट्न सकेको छैन ।’

कार्यक्रम सञ्चालनपछि सुन्तलाको सहज बजारीकरण हुने सोचेका किसान अहिले निराश छन् । ‘स्मार्ट कृषि गाउँ भएपछि सुन्तलाको बजारीकरणमा सहज हुने आशा थियो,’ स्थानीय राजु पुनले भने, ‘तर, हामी किसानले यसको महसूस नै गर्न पाएनौं ।’

बगैंचासम्मै सडक पुगे पनि सुन्तला बोकेरै बजार पुर्‍याउनुपर्ने अवस्था कायमै रहेको उनले बताए । बजार अभावमा किसान आफैले डोकोमा बोकेर सुन्तला बेच्छन् । घरघर तथा बजारमा सुन्तलाका डोको डुलाएर गरिने व्यापार नछुटेको राजुको भनाइ छ । रोग लागेपछि उपचार र सुन्तला फलेपछि बजार नपाएकाले उक्त कार्यक्रमबाट किसान लाभान्वित हुन नसकेको गुनासो उनले गरे ।

उक्त वडाका पाटा र झिमखोलासहित लम्पाकोट, सान्चौर, नाथिगाड, भुरुंगालगायत गाउँमा पनि सुन्तलाखेती हुन्छ । व्यवस्थित भण्डारण र बजारको सुविधा नहुँदा फलेका सबै सुन्तला विक्री नहुने समस्या छ । स्मार्ट कृषि गाउँ सञ्चालक समितिका अध्यक्ष कर्णबहादुर खत्रीले भने स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत सुन्तला, कागतीका बिरुवा वितरणदेखि प्रविधि र तालीम दिइएको दाबी गरे । गत आर्थिक वर्षमा आएको जति सबै बजेट खर्च हुन नसकेको भन्दै उनले किसानको सुविधाका लागि काम भइरहेको बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)