सिरहाको गोलबजार नगरपालिका–७, धर्मपुरका प्रवीणकुमार लामा वाणिज्य तथा मानविकी संकायमा स्नातकोत्तर उत्तीर्ण हुन् । अध्ययनको क्रममा स्थानीय सृजनशील लघुवित्तमा प्रशिक्षार्थीका रूपमा काम शुरू गरेका लामाले सोही संस्थामा लघुवित्त विभाग प्रमुखको जिम्मेवारी पाए । पछि उनले मेरो माइक्रोफाइनान्स लघुवित्त र नेशनल लघुवित्तको स्थापनाकालमै संस्थाको दोस्रो वरीयतामा रही काम गर्ने अवसर पाए ।
लघुवित्त संस्थामा १५ वर्षको अनुभव बटुलेका लामा २०७४ सालदेखि इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन् । समाजको सबलीकरण र विकासका लागि लघुवित्तको अभ्यास आवश्यक ठान्ने लामाले लघुवित्त व्यवस्थापनसम्बन्धी पुस्तक समेत लेखेका छन् । प्रस्तुत छ, लघुवित्त क्षेत्रका विविध पक्षबारे लामासँग अभियान दैनिकका रौटहट संवाददाता दिपेश पौडेलले गरेको कुराकानी :
इन्फिनिटी लघुवित्तले समाजमा कसरी काम गरिरहेको छ ?
नेपालका विपन्न वर्ग, साना व्यवसायी तथा लघु उद्यमीहरूको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यअनुरूप संस्था स्थापना भएको हो । हाल २८ जिल्लाका ६० स्थानमा शाखा सञ्चालन भएसँगै ७ ओटै प्रदेशमा ३२ हजारभन्दा बढी सदस्यले सेवा लिँदै आएका छन् । महिला ग्राहक सदस्यलाई शीप र नेतृत्व विकाससम्बन्धी तालीम दिएर आत्मनिर्भर बनाउनतर्फ इन्फिनिटी लघुवित्त अग्रसर छ । यस्तै दलित, मुक्त कमैया, हलिया, द्वन्द्वपीडित, एकल महिला, अपांग तथा ज्येष्ठ नागरिकलाई संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजदरमा सहुलियत प्रदान गरेका छौं ।
निक्षेप तथा कर्जा प्रवाहको अवस्था कस्तो छ ?
अहिले संस्थाको चुक्तापूँजी रू. २२ करोड ८१ लाख छ । महिला सदस्यहरूको जीविकोपार्जनको लागि लघु व्यवसाय गर्न रू. १ अर्ब ९३ करोड लगानी गरी सदस्यहरूबाट रू. ६३ करोड निक्षेप संकलन गरेका छौं । संस्थाको सञ्चालन मुनाफा रू. ७ करोड ६३ लाख छ ।
कर्जामा जोखिम कत्तिको छ ?
बैंकहरूको तुलनामा लघुवित्तको कर्जा जोखिममै हुन्छ । सामूहिक जमानी हुने भएका कारण समूह रहुन्जेल सुरक्षित हुन्छ भने समूहले बदमासी गरेको खण्डमा जोखिम बढ्छ । तर, संस्थामा हामीले अहिलेसम्म ठूलो जोखिम मोल्नुपरेको छैन । एकले अर्कोलाई सहयोग गर्ने भावनाअनुरूप संस्था सञ्चालन भएका कारण त्यति समस्या आएको छैन । तथापि समूह अनुशासनलाई बलियो बनाउन नसक्दा केही कमीकमजोरी भने देखिएका छन् ।
जोखिम कम गर्न के गर्ने त ?
सदस्यको पहिचान र छनोट, सदस्यको घर निरीक्षण, परिवारको अवस्था, कर्जाको आवश्यकता तथा प्रयोजन, तिर्न सक्ने क्षमता आदिलाई विचार गरेर कर्जा दिँदा सदुपयोगका साथै सुरक्षित पनि हुन्छ ।
लघुवित्तको कर्जामा चर्को चर्को ब्याजदर किन नि ?
अहिले लघुवित्त संस्थाले बैंकहरूबाट लिने कर्जाको ब्याजदर ११ देखि १३ प्रतिशतसम्म छ । यसमा लघुवित्त संस्थाको न्यूनतम सञ्चालन खर्च ५ देखि १० प्रतिशत हुन आउँछ । यसर्थ सामान्य हिसाबमा पनि नेपाली लघुवित्तको ब्याजदर १८ देखि २० प्रतिशतसम्म हुनु धेरै कम हो । तथापि अहिले प्रभावकारी ब्याजदर १६ देखि १८ प्रतिशतसम्म छ । एशियन बैंकको तथ्यांकलाई आधार मान्ने हो भने पनि थुप्रै देशमा २५ प्रतिशतभन्दा तल लघुवित्तको ब्याजदर छैन ।
लघुवित्त संस्थाहरूबीच प्रतिस्पर्धा कस्तो छ ?
स्वभाविक रूपमा संस्थाहरूबीच प्रतिस्पर्धा छ, तर अस्वस्थ धेरै छैन । प्रतिस्पर्धाले गर्दा नै ग्राहकले सरल, सहज, उचित मूल्यमा गुणस्तरीय सेवा पाइरहेको मेरो बुझाइ छ । त्यसैले लघुवित्तको पहुँच अहिले मुलुकको सबै जिल्ला तथा गाउँ–गाउँसम्म पुगिरहेको छ, जसले गर्दा गाउँमा हुने आर्थिक कारोबार पनि बैंकिङ प्रणालीमा रूपान्तरण भएका छन् । ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा लघुवित्त संस्थाहरू स्थापित छन् । यो सब प्रतिस्पर्धाकै उपज हो ।
कर्जा दिने र निक्षेप संकलन गर्नेबाहेक लघुवित्तको अन्य भूमिका कस्तो हुन्छ ?
अहिले लघुवित्त संस्थाहरूले ग्राहकहरूलाई लक्षित गरी प्रविधिमैत्री वित्तीय साक्षरता कार्यक्रम, स्वस्थ्य शिविर, शीपमूलक तालीम सञ्चालन लगायत गरिरहेका छन् । समाज सुहाउँदा सेवाको नवप्रवर्तन गर्न सदस्यहरूसँग छलफल गर्ने र आफ्नो सेवालाई प्रभावकारी बनाउने काममा हाम्रो संस्था इन्फिनिटी पनि अग्रपंक्तिमा छ ।
राष्ट्र बैंकले लिएको मर्जरको नीतिप्रति तपाईंको धारणा र संस्थाको योजना के छ ?
लघुुवित्तलाई बलियो बनाउन कम पुँजी भएका र प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्न नसकेका संस्थाहरू मर्जरमा जान नितान्त आवश्यक छ । नेपालको लघुवित्त क्षेत्रलाई दिगो, भरपर्दो र विश्वसनीय बनाउनका लागि इन्फिनिटीले पनि गाभ्ने/गाभिने वा प्राप्ति गर्नेसम्बन्धी समिति गठन गरी उपयुक्त संस्थाको खोजी गरिरहेको छ । मेरो विचारमा मर्जर तथा एक्विजिशनलाई प्रभावकारी बनाउन संस्थाहरू आफैंले समयमै सकेसम्म गाभ्ने/गाभिने वा प्राप्ति गर्ने बारेमा सोच्नुपर्छ ।
लघुवित्त संस्थाहरूलाई अझ बढी प्रभावकारी बनाउन के गर्नुपर्ला ?
नेपालमा लघुवित्त वित्तीय संस्थालाई प्रभावकारी बनाउन बचत तथा कर्जाका सेवाहरूमा ग्राहकमैत्री र प्रविधिमैत्री नवप्रवर्तन जरुरी छ । संस्थाको उत्तराधिकारी योजनासँगै दक्ष कर्मचारी उत्पादन गर्न ग्राहकलाई समेत वित्तीय साक्षरता, उद्यमशीलता, शीप विकास, नेतृत्व विकास र सशक्तीकरण तालीमको व्यवस्था गर्नुपर्ने देखिन्छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषजस्तै लघुवित्तका सदस्यहरूलाई उद्यम तथा व्यवसाय गर्न अनुदानसहितको एउटा छुट्टै कोषको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । उक्त कोषबाट लघुवित्त संस्थालाई आवश्यक पर्ने रकमको पूर्ति सस्तो दरमा भए ग्राहकले पनि सोहीबमोजिम कम दरमा रकम पाउने हुन्छ, जसबाट उद्यमी तथा व्यवसायी बन्ने वातावरण निर्माण हुँदै जान्छ ।