ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरीब परिवारका लागि ३० ओटा आवास निर्माण

२०७६ चैत, ४  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको वंगलाचुली गाउँपालिकामा गरीब तथा विपन्न परिवारका लागि ३० ओटा आवास निर्माण गरिएको छ । संघीय सरकारको रू. २ करोड ६४ लाख र गाउँपालिकाको रू. ३६ लाख गरी कुल रू. ३ करोड अनुदानमा ती आवास आवास निर्माण गरिएको हो ।

गाउँपालिकाको वडा नं २, ४, ५, ६ र ८ मा प्रतिआवास रू. १०÷१० लाख लागतमा निर्माण गरिएको वंगलाचुली गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसीले बताए । ‘गाउँपालिकामा रहेका गरीब र विपन्न परिवारका लागि ३० ओटा प्रिफेप हाउस निर्माण गरिएको हो,’ उनले भने, ‘केही प्रिफेपमा विपन्न परिवार बस्न पनि शुरू गरिसकेका छन् ।’

शाखा प्रमुख केसीका अनुसार गाउँपालिकाको वडा नं २ को पुरुङ, वडा नं ४ को जुम्लेपानी, वडा नं ८ को हाँसीपुर र वडा नं ५ को मुर्कुटी तथा झेल्नेटामा ६/६ ओटा प्रिफेप भवन निर्माण गरिएका छन् । ‘निर्माण भएका आवासमध्ये धेरै घरमा विद्युत्, खानेपानी लगायत सबै सुविधाकोे व्यवस्था गरिसकिएको छ,’ उनले भने, ‘झेल्नेटामा निर्माण भएका आवासमा सरकारले गरीब तथा विपन्न सूचीमा सूचीकृत भएका विपन्न परिवार बस्न थालिसकेका छन् ।’ केही स्थानमा निर्माण भएका आवासमा भने विद्युत् तथा खानेपानी जडान गर्न बाँकी रहेको उनले बताए ।  

आवास योजना अन्तर्गत एक शौचालयसहित दुई कोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । निर्माण भएका केही भवन खाली रहेकाले ती घरमा पनि गरीब तथा विपन्न परिवार पहिचान गरी तत्काल राखिने गाउँपालिकाले बताएको छ । 

समयमै गरीब तथा विपन्न परिवारको पहिचान हुन नसक्दा गरीबका लागि निर्माण गरिएका केही आवासमा विद्यालय  सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं ८ हाँसीपुरमा निर्माण गरिएको एक भवनमा खड्गदेवी आधारभूत विद्यालयका विद्याथी अध्ययन गरिरहेका छन् ।  

सो वडामा अझै गरीब तथा विपन्न परिवारको पहिचान गर्ने काम सम्पन्न नभएकाले खाली रहेको भवनमा केही समयका लागि विद्यालय राखिएको गाउँपालिकाका अध्यक्ष गिरराज गाहामगरले बताए । ‘अहिलेसम्म सो वडाका गरीब परिवारको पहिचान हुन सकेको छैन । पहिचान नहुँदा सम्म  खाली भवनमा परीक्षाका लागि ठाउँ नभएका कारण केही समय विद्यालय राखिएको हो,’ उनले भने, ‘हाल गरीब पहिचान भइरहेको छ । पहिचान भए लगत्तै विद्यार्थी हटाएर विपन्न परिवारलाई राख्छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)