ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाकामा थन्किए सामान, बजारमा आपूर्ति असहज

भन्सारमा अड्किएका मालसामान छुटाउन आयातकर्तालाई आग्रह

२०७६ चैत, १५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

चैत १५, वीरगञ्ज । आयातित मालसामान भन्सारमा अड्किएपछि बजारमा उपभोग्य वस्तुको अभाव भएको छ । लकडाउनका कारण मालसामान नाकामा रोकिएर आपूर्तिमा समस्या भएको भन्दै सरकारले जाँचपासमा सहजीकरण गर्न भन्सारलाई निर्देशन दिएको छ ।
 

सरकारको निर्देशनपछि भन्सार कार्यालयहरू सहजीकरणमा जुटेका छन् । वीरगञ्ज नाकामा आयातित मालसामान थुप्रिन थालेपछि त्यस्ता सामान जाँचपास गराएर लैजान भन्सार कार्यालयले आयातकर्तालाई आग्रह गरेको छ । भन्सारले सूचना निकालेर यस्तो आग्रह गरेको हो । 

कोरोना संक्रमण पैmलिन नदिन सरकारले लकडाउन गरेपछि आयातकर्ता मालसामान छुटाउन नआएको भन्सारले बतायो । लकडाउन कार्यान्वयन गर्न खटिएका सुरक्षाकर्मीले प्रतिनिधिलाई भन्सारसम्म जानै नदिएको आयातकर्ताले बताएका छन् । 

प्रहरीले प्रतिनिधिलाई आवागमनमा रोक लगाएपछि भन्सारले स्थानीय प्रशासनसँग समन्वय गरेर जाँचपास प्रयोजनका लागि अनुमतिपत्र दिएको छ । सरकारले लकडाउनका बेला आयातनिर्यात नरोकिने बताए पनि पेट्रोलियम पदार्थ, औषधि र केही दैनिक उपभोग्य वस्तुमात्र जाँचपास भएपछि अन्य सामान भन्सारमै अड्किएका छन् । 

लक डाउनयता मालसामानको जाँचपास ह्वात्तै घटेकाले आयातकर्तालाई मालसामान लैजान आग्रह गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । 

‘लकडाउनपछि अत्यावश्यक सामानमात्र छुटाउन पाइने गलत बुझाइका कारण आयातकर्ता आएका छैनन्, भन्सारले सबै खालका वस्तु लैजान आयातकर्तालाई सूचित गरेको छ,’ निरौलाले आर्थिक अभियानलाई बताए । 

लकडाउनका बेला भन्सार हिंडेका आयातकर्ताका प्रतिनिधिलाई प्रहरीले बाटैमा रोकेको र कुटपिटसमेत गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । 

भन्सारमा आएर रोकिएको मालसामान छुटाउनै समस्या भएपछि व्यवसायीले स्थानीय प्रशासन, भन्सार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतमा समस्या समाधानका लागि आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघ पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानीले बताए । 

‘जाँचपास असहज भएपछि सबै निकायमा आग्रह गर्‍यौं,तर, ती कुनै पनि निकाय गम्भीर भएनन्,’ टेमानीले भने । वीरगञ्ज भन्सारमा अहिले औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुका ५०० भन्दा बढी ट्रक रोकिएको भन्सार प्रशासक निरौलाले बताए । 

‘भन्सारमा मालसामान रोकिएको छ, तर आयातकर्ता छुटाउन आएनन्,’ उनले भने । वीरगञ्ज सुक्खा बन्दरगाहबाट शनिवार ६० ओटा कन्टेनर जाँचपास भएको जानकारी बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले दिए । ‘मालसामान छुटाउन आउने आयातकर्तालाई सहजीकरण गरेका छौं, लकडाउनमा आवतजावत सहज बनाउन पासको व्यवस्था मिलाइएको छ,’ उनले भने । 

सुक्खा बन्दरगाहमा शनिवारसम्ममा २ हजार  १२ कन्टेनर थुप्रिएका छन् । तीमध्ये आयातित मालसामानका १ हजार ८७० र ९४२ ओटा खाली कन्टेनर रहेको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलले बताएको छ । 

भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट वीरगञ्जका लागि हिँडेका ३२ ओटा मालवाहक रेल बाटोमा रहेको टर्मिनलका अधिकृत अनिमेष कुमारले जानकारी दिए । 
 

खाद्यान्न उद्योग ठप्प

लकडाउनका कारण खाद्यान्न उद्योगको उत्पादन ठप्प भएको उद्योगीहरूले बताएका छन् । नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले शनिवार विज्ञप्ति निकालेर अत्यावश्यकीय वस्तुमा पर्ने चामल, तेल र दाल उद्योगको उत्पादन र ओसारपसार ५ दिनदेखि अवरुद्ध भएको बताएका छन् । 

खाद्य उद्योग सञ्चालन र ओसारपसारको वातावरण सहज बनाउन संघले माग गरेको छ । श्रमिक कर्मचारीलाई  उद्योगमा गई काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । 

खाद्यवस्तु ढुवानीका साधन विभिन्न ठाउँमा अड्किएकाले त्यसको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । मजदूरको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्कजस्ता वस्तुको व्यवस्था मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ । 

कोरोना भाइरस संक्रमण फैलिन नदिन लगाइएको लकडाउन सराहनीय भए पनि अत्यावश्यक खाद्यान्नको उत्पादन र ओसारपसारमा असहज भएको गुनासो उद्योगीको छ । उद्योग सञ्चालनका लागि नगद ल्याउने र लैजाने व्यवस्था मिलाउन पनि माग गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)