चैत १९, रौतहट । रौतहटको इशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहतालाई पक्राउ गर्न मकवानपुर प्रहरीले रौतहटमा पत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले रौतहट प्रहरीलाई नगर प्रमुख मेहतालाई पक्राउ गर्न पूर्जी पठाएको हो । नगर प्रमुख मेहताका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पनि पक्राउ गर्न पूर्जीमा भनिएको छ ।
मकवानपुर जिल्ला अदालतले गाँजा तस्करीमा संग्लन रहेको भन्दै नगर प्रमुख मेहता र नेकपा अध्यक्ष मेहतालाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पूर्जी पठाएको हो । गत माघ ११ गते हेटौंडा उपमहानगरपालिका १९ नेवारपानी स्थितमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट ३० किलो ६०० ग्राम गाँजा बरामद गरेको थियो । एम्बुलेन्समा चालक ३९ वर्षीय महम्मद खलिद तथा एम्बुलेन्समा सवार रहेका १९ वर्षीय अशोक कुमार र २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्स सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान थालेको हो ।
अदालतमा उनीहरूले दिएको बयानको आधारमा नगर प्रमुख मेहता र नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पक्राउ गर्न आदेश दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रौतहट प्रहरीलाई पक्राउ पूर्जी पठाएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पत्र आएकाले उनीहरूको खोजी कार्य भइरहेको रौतहट प्रहरीले बताएको छ ।