ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोखिम मोलेरै नाकामा खटिन्छन् भन्सार कर्मचारी

२०७६ चैत, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतसँगको सीमामा आवागमन बन्द गरिएको छ । लकडाउनमा मालसामानको ढुवानी भने रोकिएको छैन । भारतमा जारी लकडाउनले सडकमार्गबाट आयात घटे पनि रेलमार्गबाट मालसामान भित्रिइरहेको छ । यही मालसामान जाँचपासका लागि सीमानाकामा खटिएका भन्सार कर्मचारी संक्रमणबाट जोगिने न्यूनतम सुरक्षा उपकरणको अभावमै काम गरिरहेका छन् ।

मुख्य नाका वीरगञ्जमा कार्यरत भन्सार कर्मचारीहरू न्यूनतम व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहज रूपमा नपाइएको गुनासो गर्छन् । वीरगञ्ज भन्सारले वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य संघलगायत निकायलाई भनसुन गरेर केही थान पन्जा र मास्क किनेको थियो । त्यो पनि सकिन लागेकाले अब कसरी व्यवस्थापन मिलाउने भन्ने चिन्ता थपिएको भन्सारका एक अधिकृतले बताए । ‘मालसामान जाँचपास गराउन सबैभन्दा पहिले सम्पर्कमा जाने भन्सारका कर्मचारी नै हुन् । तर, सामान्य सुरक्षा सतर्कताका उपकरणसमेत उपलब्ध नहुँदा त्रासमा काम गर्नुपरेको छ,’ उनले आर्थिक अभियानसित भने ।

वैदेशिक व्यापार परिमाणका हिसाबले वीरगञ्ज मुख्य नाका हो । सरकारले नाकामा मालसामान रोकिन थालेपछि जाँचपासलाई छरितो बनाउन भन्सार कार्यालयहरूलाई दबाब बढाएको छ । भन्सारमा खटिने कर्मचारीको सुरक्षा सतर्कतामा भने सरकार गम्भीर नभएको गुनासो कर्मचारीले गरेका छन् ।

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा अहिले आयातित मालसमानको चाप बढेको छ । तर, कोरोना संक्रमणको त्रासले जाँचपास प्रभावित छ । सुक्खा बन्दरगाह भन्सारले अहिले सामान र कागजात कम हेर्नुपर्ने प्रकृतिका मालसामानमात्रै छोडेको छ ।

हरियो र पहेंलो च्यानलका मालसामान मात्र जाँचपास गरिएको बन्दरगाह भन्सारका प्रमुख उमेश श्रेष्ठले बताए । ‘अहिले बल्क (ठूलो परिमाण) मा आउने मालसामान र खोतलेर हेर्न नपर्ने सामानमात्रै जान दिइएको छ । रातो च्यानलका मालसमान रोकिएका छन्,’ उनले आर्थिक अभियानसित भने । 

जोखिम घटाउन सुक्खा बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलले वीरगञ्ज महानगरलाई बन्दरगाह परिसरमा कीटाणु मार्ने औषधि छर्किदिन आग्रह ग¥यो । तर, महानगरले सुनुवाइ नगरेको टर्मिनलका अधिकृत अनिमेष कुमारले गुनासो गरे । ‘यहाँ मानिसहरूको भीडभाड बढी हुन्छ । सामान्य सतर्कताका उपकरण पनि उपलब्ध नहुँदा सबैलाई त्रास छ,’ उनले भने ।

नाकामा खटिएका कर्मचारी बिहान ६ बजेदेखि राति ११ बजेसम्म प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्छ । सरकारले यो सकस र जोखिमलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ । वीरगञ्ज भन्सारका प्रमुख प्रशासक ढुण्डीप्रसाद निरौला कोरोनाको जोखिमका बेला भन्सारमा खटिने कर्मचारीको स्वास्थ्यको सुरक्षा सतर्कतामा गम्भीर हुनुपर्ने बताउँछन् । ‘अहिले कर्मचारीको मनोबल उच्च बनाउने खालका उपाय अपनाइनुपर्छ । स्वास्थ्य सुरक्षा र प्रोत्साहनको अपेक्षा स्वाभाविक हो,’ प्रमुख निरौलाले भने ।

कोरोना भाइरस हावा, संक्रमितले छोएका वण्स्तु र कागजबाट समेत फैलिने बताइन्छ । भन्सारमा खटिने कर्मचारीले मालसामान र कागजात नै बढी चेकजाँच गर्नुपर्छ । मानिसको सम्पर्क पनि बढी हुन्छ । यस्तोमा व्यक्तिगत सुरक्षा सतर्कताका उपाय भरपर्दो नहुँदा डरैडरमा काम गर्नु परेको कर्मचारी बताउँछन् । भन्सारमा आउजाउ गर्ने आयातकर्ताका प्रतिनिधि, सुरक्षाकर्मी र चालकसमेत यो जोखिमबाट मुक्त नभएको उनीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)