चैत २२, रौतहट । रौतहटमा दूध बोक्ने गाडी (ट्यांकर) चल्न नपाएपछि पशुपालक किसान मर्कामा परेका छन् । कोरोना भाइरसका कारण मुलक लकडाउन भएपछि किसानले दूध चिस्यान केन्द्रसम्म पुर्याउन नपाएका हुन् ।
चन्द्रनिगाहपुर तथा गरुडामा रहेको दुग्ध विकास संस्थानको चिस्यान केन्द्रले दूध खरीद गर्दै आए पनि दूध बोक्ने गाडी (ट्यांकर) चल्न नपाएपछि समस्या भएको हो । दूध विक्री गरेर आम्दानी गर्दै आएका र व्यावसायिक रूपमा पशुपालन गरेका किसान मर्कामा परेको जयकिसान दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश चौलागाईंले बताए ।
‘चन्द्रपुर नगरपालिका वडा नं ९ का अधिकांश किसानले वित्तीय संस्थाबाट ऋण लिएर पशुपालन गरेका छन्,’ उनले भने, ‘दूध विक्री गरेर आम्दानी गर्दै आएका परिवारलाई समस्या परेको छ ।’
सामाजिक दूरी कायम गरेर किसानसँगको दूध संकलन गरी चिस्यान केन्द्रमा पुर्याउँदा पशुपालक किसान लाभान्वित हुने उनले बताए । तर प्रशासनले अनुमति नदिएका कारण दुध संकलन गरी चिस्यान केन्द्रमा पुर्याउन नसकिएको उनले गुनासो गरे ।
दूध बोक्ने गाडी चल्न नदिएपछि दुग्ध सहकारीले दूध संकलन गर्न छाडेका छन् । रौतहट दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले दूधको उत्पादन भए पनि दूध बोक्ने ट्यांकर चल्न रोकिएपछि सहकारीले संकलन गर्न सक्ने अवस्था नरहेको बताए । दूध बोक्ने गाडीलाई सहजै गुड्न दिन प्रशासनसँग पटक पटक अनुरोध गरेको उनले बताए ।
जिल्लामा करीब ३० हजार पशुपालक किसान रहेको उल्लेख गर्दै अहिले उत्पादित दूध उपभोक्ताले समेत नपाएकाले यस विषयमा प्रशासन गम्भीर हुनुपर्ने उनले बताए । चन्द्रपुर र गरुडामा रहेको चिस्यान केन्द्रले दैनिक १४ हजार लिटर दूध खरीद गर्दै आएको छ ।
तर सहज वातावरण भएमा दूध खरीद गर्न सकिने दुग्ध विकास संस्थान हेटौंडा अन्तर्गत चन्द्रनिगाहपुर चिस्यान केन्द्रका प्रमुख सीताराम लामिछानेले बताए ।
दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारीसाधनलाई सरकारले चल्न छूट दिए पनि यसको उचित व्यवस्थापन गर्न नसक्दा पशुपालक किसान मर्कामा परेका हुन् ।