ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन जना कोरोना संक्रमित भएको मस्जिद क्षेत्र सिल गरियो 

२०७६ चैत, २९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

चैत ३०, वीरगञ्ज  । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु बसेको छपकैया आसपासमा रहेको मस्जिद क्षेत्र सिल गरिएको छ ।

ती धर्म प्रचारक २ जना उत्तर प्रदेश र १ जना दिल्लीका बासिन्दा हुन् । वीरगञ्जमा उपचार गराइरहेका ३७, ४४ र ५५ वर्षका उनीहरूमा कोरोना पुष्टि भएपछि मस्जिदमा रहेका र सम्पर्कमा आएका २६ जनाको पहिचान भएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर वीरगञ्ज चिनीमिल आवासक्षेत्रस्थित सिद्धार्थ माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । 

संक्रमितहरूले केही समयअघि सप्तरीमा भएको मुस्लिम धार्मिक भेलामा सहभागी भएपछि आफूहरु नेपालमै रहेको बताएका छन् । तर छपकैयाका स्थानीयले उनीहरु दुई हप्ता अघिमात्रै मस्जिदमा आएको बताएका छन् । सो मस्जिदमा आउनुअघि उनीहरू वडा नम्बर १ स्थित छपकैयामा रहेको अर्को मस्जिदमा रहेको स्थानीयले बताएका छन् । 


वीरगञ्जमा मुस्लिम धर्म प्रचारकमा कोराना पुष्टि भएपछि उनीहरू बस्दै आएको वीरगञ्ज वडा नं २ स्थित मस्जिद क्षेत्रलाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतवार अपरान्ह बसेको जिल्लास्तरीय कोरोना नियन्त्रण समितिको बैठकले सो क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो । 

कारोना संक्रमित मुस्लिम धर्मप्रचारक बसेको स्थान र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । मस्जिद क्षेत्रलाई सिल गरी त्यहाँका बासिन्दामा कोराना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गरिने भएको छ । 

स्वास्थ्य मन्त्रालयले आइतबर वीरगञ्जमा उपचार गराइरहेका उनीहरुको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । तीमध्ये १ जना निको भइसकेका छन् । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 


कोराना उपचारका लागि बेग्लै अस्पताल बनाइनुपर्ने आवश्यकता महसुस भए पनि स्थानीय समितिले आइतवार यसबारे टुंगो लगाउन सकेन । वीरगञ्ज हेल्थ केयर अस्पताललाई कोराना अस्पतालको रुपमा उपयोग गर्ने योजना राखिएको छ । संघ र प्रदेश सरकारले यसका लागि लिखित अनुमति नदिएका कारण संयन्त्रले निर्णय गर्न नसकेको हो ।
 
कोराना अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र आर्थिक व्यवस्थान संघ र प्रदेश सरकारले गर्छ । स्थानीय संयन्त्रले ती सरकारको औपचारिक पत्राचार पर्खेर बसेको छ । वीरगञ्ज महानगरले प्रदेश सरकारसित यसबारे आग्रह गरे पनि आइतबार साँझसम्म कुनै औपचारिक जानकारी आएको छैन ।   

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू उपचार पूर्वाधारको प्रभावकारितामा विश्वस्त छैनन् ।कोराना संक्रमण पुष्टि भएपछि जुनस्तरको सतर्कता र सावधानी आपनाइनुपर्ने हो त्यो हुन नसकेको गुनासो उनीहरूको छ । 

नारायणी अस्पतालमा कुल २५ ओटा आइसोलेसन बेड बनाइएको छ । आइसीयु ४ ओटामात्रै छन् । हालै निर्माण गरिएका २० ओटा आइसोलेसन बेड उपचारका निम्ति प्राविधिकरुपमा पूर्ण नभएको चिकित्सकहरूको भनाइ छ । 
प्रदेश सरकारले कोरोना उपचारका लागि पूर्वाधारमा सहयोग गर्ने बताएको छ । तर, अहिलेसम्म कार्यान्वयनमा नआएको अस्पतालका मेडिकल सुपरिटेण्डन डा. मदन उपाध्यायको गुनासो छ । 

आइतवारदेखि यो अस्पतालमा आकस्मिकबाहेकका सबै उपचार सेवा बन्द गरिएको छ । कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि वीरगञ्ज महानगरले स्थानीय होटलमा आवास र खानाको व्यवस्था मिलाएको नगर प्रमुख विजयकुमार सरावगीले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)