ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ढुवानी सुस्त भएपछि रूट परिवर्तन गर्न कोलकाता बन्दरगाह भन्सारको आग्रह

२०७७ बैशाख, १  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वैशाख १, वीरगञ्ज  । नेपालका पूर्वी नाकालाई गन्तव्य तोकेर भारतको कोलकाता बन्दरगाहमा आएका कन्टेनर ढुवानी सुस्त भएपछि बन्दरगाह भन्सारले त्यस्ता कन्साइनमेन्टको रूट परिवर्तन गर्न आयातकर्तालाई आग्रह गरेको छ । 

कोलकाता बन्दरगाह भन्सारका सहकमिश्नरले आइतवार नेपालका आयातकर्तालाई यस्तो सूचना गरेका हुन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न जारी लकडाउनले ढुवानी अवरुद्ध भएपछि बन्दरगाह भन्सारले यस्तो सूचना गरेको हो । 

नेपालको काँकडभित्ता–नक्सलबारी–पानीटंकी र पशुपतिनगर–सुखियापोखरी नाकाबाट नेपाल भित्रिने गरी तेस्रो मुलुकबाट आएका कन्साइनमेन्ट बन्दरगाहमा रोकिएका छन् । 

कोलकाता बन्दरगाह भन्सारको यो सूचनासँगै यी नाकालाई गन्तव्य उल्लेख गरेर तेस्रो मुलुकबाट आएका कन्टेनरले अन्य नाकाबाट पनि नेपाल प्रवेश गर्न पाउनेछन् । 

अन्य नाकालाई गन्तव्य तोकेर बन्दरगाहमा आइपुगेका कन्टेनर पनि आयातकर्ताले ढुवानी सहज भएका नाकातिर लैजान पाउने भएका छन् । 

कोरोना संक्रमणका कारण ढुवानीमा देखिएको गतिरोधलाई ध्यानमा राखी नेपाली आयातकर्ताका लागि यो सुविधा उपलब्ध गराइएको भन्सार कमिश्नर डा. एसके मोहपात्रले उल्लेख गरेका छन् । कोरोना नियन्त्रणका लागि नेपाल र भारत दुवैतिर लगाइएको लकडाउनले यतिबेला ढुवानी असहज छ । 

आयातकर्तालाई दिइएको ढुवानीको रूट परिवर्तनको सहुलियतले पारवहनमा अहिले देखिएको अप्ठ्यारो केही हदसम्म सहजीकरण हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघ पारवहन समितिका अध्यक्ष अशोक टेमानीले बताए ।

 सामान्य अवस्थामा आयातकर्ताले कागजातमा उल्लेख गरेको रूटबाटै ढुवानी गर्नुपर्छ । अहिले ढुवानीमा देखिएको असजिलोलाई निकास दिन रूट परिवर्तनको सुविधा दिइएको हो । 

यसका लागि आयातकर्ता वा प्रतिनिधिले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको ‘नो अब्जेक्शन लेटर’सहतिको आवेदन दिनुपर्छ । कोलकाता बन्दरगाह भन्सारले सडक मार्गका कन्साइनमेन्ट रेलमार्गबाट पनि ढुवानी गर्न सकिने बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)