ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डीडीसीको बोइलर बिग्रदाँ प्रदेश १ मा दूध संकलन बन्द

तीन दिनपछि मात्र दूध संकनल हुने 

२०७७ बैशाख, ६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

वैशाख ६, विराटनगर । दुग्ध वितरण आयोजना(डीडीसी) को विराटनगरमा रहेको पाउडर प्लान्टको बोइलर विग्रिएको कारण प्रदेश नं १ का विभिन्न चिस्यान केन्द्रबाट संकलन हुने दूध तीन दिनसम्म संकलन नहुने भएको छ । तर डीडीसी ब्राण्डका उत्पादन भने बजारमा जान नरोकिने आयोजनाले बताएको छ । 

आयोजनाले दैनिक प्रदेश नं १ मा ४५ हजार लिटर दूध संकलन गरि दूध, दही, ध्यू, पनिर, बटर, आईसक्रिम, लालमोहन, पाउडर दूध बनाएर विक्री गर्दै आएको छ । 

दूध बढी उत्पादन हुने सिजनमा पाउडर दूध बनाउँदै आएको आयोजनाको बोइलरमा समस्या आइएपछि त्यसको मर्मतका लागि तीन दिनसम्म दूधको संकलन बन्द गरिने भएको हो । 
मंगलवारदेखि भने पूर्ववत दूध संकलन गरिने आयोजना प्रमुख गणेश यादबले बताए । 

उनका  अनुसार आयोजनाले इलामको कुटीडा“डा, फिक्कल, तीनधारे, लक्ष्मीपुर, बिब्लायाँटे, पुवाखोला गरि छ स्थानबाट र पा“चथरको देउराली र शान्तिडाँडा त्यस्तै धनकुटाको हिले र चित्रेमा रहेको चिलिङ सेन्टरबाट ४५ हजार लिटर दूध संकलन गर्दै आएको थियो । दूधको अपुग भएको बेला मोरङजिल्लाका अन्य स्थानबाट ५ हजार लिटर र दुई नम्बर प्रदेशबाट १५ हजार लिटरसम्म दूध संकलन गर्ने गरिएको छ । 

दूध पाउडर प्लान्टबाट घ्यू सहितको धुलो दूध र ध्यू बिनाको धुलो दूध उत्पादन हुने गरेको छ । दूध धरै भएको अबस्थामा पाउडर प्लान्ट संचालन गरि दैनिक ५ हजारदेखि २० हजार लिटर दूधबाट पाउडर बनाउँदै आएको उनले बताए । झापा र इलामका दुध किसानले वितरण आयोजनाले दुध खरिद नगरिएको गुनासो गरेका छन् । 

प्रदेश नं १ का विभिन्न स्थानमा रहेका निजी डेरीमा आवद्ध किसानहरुले ती उद्योग बन्द भएपछि डीडीसीले दूध किनिदिनु पर्ने माग गरेपनि आयोजनाले किन्न चासो देखाएको छैन । 
दुग्ध विकास संस्थान संचालक समिति सदस्य राम कोइराला दुग्ध संकलन केन्द्रहरुमा संकलन भएको दूधले नै अहिले विरतण केन्द्रलाई पुगिरहेकाले निजी चिस्यान केन्द्रहरुबाट दूध संकलन गर्नुपर्ने आवश्यकता नरहेको बताउँछन् । 

दूधको अभाव रहेको बेला किसानहरु निजी डेरीतिर आकर्षित हुने र निजी डेरीहरुले किसानको दूध किनिदिन छाडेपछि डीडीसीले किनिदिनु पर्ने माग राख्ने गरेको उनले बताए । उनले भने, ‘डीडीसीसँग आवद्ध किसानहरुको दूध सधैं नै लिरहेका छौं,हाम्रो चिस्यान केन्द्रमा किसानहरुले ल्याउने दूध बाटोमा फ्याक्नु पर्ने अवस्था आउन दिदैनौं ।’

बढी रकमको लोभमा निजी डेरीलाई दूध दिने र निजी डेरीले दूध लिन नमानेपछि डीडीसीले दुध किनिदिनु पर्ने तर्क स्वाभाविक नभएको उनले बताए । 

डीडीसीले आफ्नो क्षमता र बजारको माग अनुसार किसानबाट दूध खरीद गर्ने गरेको छ । दूध विकेन भने त्यसबाट दही, घ्यू, पनिर बनाउन सकिने हुँदाहुँदै किसानले दूध बाटोमा पोख्ने प्रवृत्ति राम्रो नभएको कोरालाले बताए । 

बिरोध गर्ने फरक शैली हुँदाहुँदै अमृत समान मानिने दूधलाई किसानले सडकमा पोख्नुभन्दा गरीबलाई, अस्पतालका विरामीलाई वितरण गरेर विरोध प्रर्दशन गर्दा अझ राम्रो सन्देश जाने उनले बताए । 

प्रतिष्पर्धात्मक दूधको बजारमा जति बेला दूधको अभाव हुन्छ त्यो बेलामा निजी डेरीतिर किसान जाने र जब दूध धेरै भएर निजी डेरीले दूध लिन छाड्छ त्यति बेला डीडीसीलाई दोष दिने प्रबृति गलत भएको उनको भनाइ छ । प्रदेश १ मा करीब ५० ठूलासाना डेरी उद्योगहरु रहेका छन् जसले दूध र दुग्धजन्य पदार्थ विक्री गर्दै आएका छन् ।    
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)