ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इट्टा उद्योग बन्द हुँदा ७ हजार मजदूर समस्यामा

२०७७ बैशाख, ७  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

वैशाख ७, दाङ । कोरोना महामारीको जोखिमबाट बचाउन सरकारले लकडाउन घोषणा गरेपछि दाङका इट्टा उद्योगहरु बन्द भएका छन् । उद्योग बन्द भएपछि ती उद्योगहरुमा काम गर्दै आएका मजदूरहरु समस्यामा परेका छन् । 

जिल्लाका विभन्न स्थानमा सञ्चालन हुँदै आएका करीव ३६ ओटा इट्टा उद्योगहरु बन्द हुँदा ती  उद्योगमा काम गर्दै आएका ७ हजार भारतीय मजदूरहरु समस्यामा परेका हुन् । काम गर्दै आएका उद्योग बन्द हुनु र नेपाल र भारतमा लकडाउन भएका कारण आफूहरु समस्यामा परेको नारायणपुरस्थित मनकामना इट्टा उद्योगका काम गर्दै आएका मजदूर बिश्वनाथ चौहानले बताए ।
 ‘उद्योग बन्द भएपछि  रोजिरोटी गुमेपछि हामीलाई खान बस्नकै लागि पनि समस्या परेको छ’, उनले भने, ‘हामी घर फर्कन चाहान्छौं ।’

मनाकामना इट्टा उद्योगमा मात्रै करीव ५०० जना भारतीय मजदूर काम गर्दै आएका छन् । उद्योग बन्द भएपछि आफूहरु वेरोजगार भएको र काम गरेर कमाएको पैसा पनि सकिनै लागेपछि आफू र परिवार पाल्नसमेत समस्या भएको उनीहरुको भनाइ छ । मजदूरहरुले आफूहरुलाई तत्काल घर फर्कने वातावरण बनाउन पनि स्थानीय प्रशासन एवं स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

लामो समयसम्म इट्टा उद्योग बन्द रहने अबस्था आएको र ठूलो संख्यामा इट्टा मजदुरहरुलाई पाल्नसमेत समस्या भएको मनकामना इट्टा उद्योगका सञ्चालक एवं दाङ देउखुरी इट्टा व्यवसायी संघका अध्यक्ष रोम वलीले जानकारी दिए ।

‘काम रोकिएको करीव एक महीना भयो, जेनतेन दाल चामलको व्यवस्थापन गरेका छौं’, उनले भने, ‘ ७ हजारभन्दा बढी मजदूर भएकाले अब उनीहरुलाई पाल्न समेत समस्या भइसक्यो ।’ स्थानीय प्रशासनले उनीहरुलाई घर पठाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

यसैबीच प्रमुख  जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले इट्टा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुलाई घर फर्काउने सवालमा दुई देशबीच कुटनीतिक पहलको आवश्यकता रहेको बताए । यसका लागि स्थानीय प्रशासनले माथिल्लो निकायलाई जानकारी गराइएको उनले बताए ।

 जिल्लाका हरेक इट्टा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको पनि प्रजिअ रिजालले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)