ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज सुक्खा बन्दरगाहमा उपकरण अभाव : जाँचपास भइसकेका कण्टेनरसमेत रोकिए

२०७७ बैशाख, ७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

वैशाख ७, वीरगञ्ज । बन्दरगाह सञ्चालकले रिच स्टेकर समयमै मर्मत नगर्दा वीरगञ्ज सुक्खा बन्दरगाहमा लोडअनलोड प्रभावित भएको छ । कण्टेनर लोडअनलोड गर्ने यो उपकरण उपलब्ध नहुँदा भन्सार जाँचपास भइसकेका कण्टेनरसमेत लैजान नपाएको आयातकर्ताले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लागि जारी लकडाउनमा आयातकर्तालाई ढुवानीका साधनको जोहो नै कठिन भएको छ । बन्दरगाहबाट दैनिक ३०० भन्दा बढी कण्टेनर बाहिरिनेमा अहिले ढुवानीका साधन कम सञ्चालन हुँदा यो संख्या १०० को हाराहारीमा खुम्चिएको छ । जसोतसो ट्रक खोजे पनि बन्दरगाहले कण्टेनर लोड नगर्दा बन्दरगाहमै रोकिएको वीरगञ्जको ओसीबी फुड प्रोडक्टका सञ्चालक सुरेश रुङ्गटाले बताए । 

यो उद्योगले ल्याएको मकै, भटमास, पीनालगायतका कच्चा पदार्थ अड्किएको रुङ्गटाले जानकारी दिए । आइतवार भन्सार जाँचपास भएका आफ्ना २२ ओटा कण्टेनर लोड नभएको उनले बताए । 

बन्दरगाह चलाउने जिम्मा लिएको हिमालयन टर्मिनलले सम्झौताअनुसार ४ ओटा स्टेकर तयारी अवस्थामा राख्नु पर्दछ । अहिले सुक्खा बन्दरगाहमा नेपाल इण्टरमोडल यातायात विकास समितिको एउटा स्टेकर छ । बन्दरगाहले भाडामा लिएका ३ ओटामध्ये एउटा आगलागीबाट क्षतिग्रस्त भएर थन्किएको छ । तीमध्ये सबै बिग्रिएपछि शुक्रवार साँझदेखि झन् समस्या भएको हो ।

एउटै पनि स्टेकर उपलब्ध नभएपछि शनिवार बन्दरगाह र भन्सारको काम ठप्प भएको थियो । बन्दरगाह भन्सार कार्यालयका प्रुमख उमेश श्रेष्ठले शनिवार एउटा कण्टेनर पनि जाँचपास हुन नसकेको बताए । शुक्रवार जाँचपास भएका कण्टेनर शनिवार साँझ एउटा स्टेकर मर्मत भएपछि लोड भए । 

आइतवार भने १२७ ओटा कण्टेनर जाँचपास भएका छन् । तीमध्ये अधिकांश कण्टेनर बन्दरगाहमै रोकिएको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । 

लकडाउनका कारण बिग्रिएका स्टेकर समयमै मर्मत गर्न नसकिएको टर्मिनलका वरिष्ठ अधिकृत अनिमेशकुमारले बताए । ‘बिग्रिएका पाटपूर्जा कोलकाताबाट ल्याउनु पर्दछ । लकडाउनले रेलसेवा बन्द भएकाले पाटपूर्जा झिकाएर मर्मत गर्न पाइएको छैन,’ उनले भने । आइतवार २ ओटा स्टेकर सञ्चालन गरिएको उनले बताए । 

टर्मिनलले अहिले बन्दरगाहबाट बहिरिने कण्टेनरलाई भन्दा रेलबाट आएका कण्टनेरको अनलोडलाई प्राथमिकता दिएको आयातकर्ताले बताए । लक डाउनका कारण सडकमार्गमा ढुवानी असहज भएपछि रेलमार्गमा चाप बढेको छ । बन्दरगाहमा कण्टेनरको चापसँगै लोडअनलोड भरपर्दो नहुँदा व्यवस्थापन झन् अस्तव्यस्त बनेको छ ।  

बन्दरगाह सञ्चालकको व्यवस्थापकीय कमजोरीका कारण आयातकर्ताले पटकपटक जरीवाना तिर्नु परेको व्यवसायी रुङ्गटाले गुनासो गरे । ‘हिमालयन टर्मिनलले आयातकर्तासँग टर्मिनल व्यवस्थापन शुल्क असुल्छ । तर, उसको कमजोरीको कारण आयातकर्ताले सिपिङ कम्पनीलाई जरीवाना तिर्नु परेको छ,’ उनले भने । सिपिङ कम्पनीहरूले मार्च २२ देखि १४ अप्रिलसम्मका लागि कण्टनेरको जरीवाना नलाग्ने बताए पनि त्यसयताको भने जरीवाना शुरु भइसकेको आयातकर्ताले बताए ।   

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)