ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयातित बस्तु बिग्रँदा पनि भन्सार छुटाउन आएनन् आयातकर्ता 

२०७७ बैशाख, ९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वैशाख ९, वीरगञ्ज । लकडाउनका कारण आयातकर्ताले भन्सारबाट मालसामान नछुटाउँदा नाकामा आइपुगेका सामान अड्किएका छन् । समयमै छुटाउन नसकिएको यस्तो मालसामानमा भन्सार हातामै बिग्रिने अवस्था आएको छ । 

आयातनिर्यात कारोबारका हिसाबले मुख्य नाका वीरगञ्जमा आएर रोकिएको मालसामान सोमवार राति हुरीसहित वर्षाले भिजेर नोक्सान भएको आयातकर्ताका प्रतिनिधिहरुले बताएका छन् । वीरगञ्ज भन्सारको यार्डमा राखिएको मालसामान भिजेर क्षति पुगेको नेपाल फ्रेट फर्वाडर्स एशोसिएसनका केन्द्रीय सदस्य उमेश शर्माले बताए । 

भन्सारमा  गोदामको उपयुक्त व्यवस्था नभएकाले भन्सार हातामा राखिएको मालसामान पानीले भिजेर नोक्सानी भएको उनले बताए । भन्सारको गोदाममा पर्खाल नभएका कारण हुरीसहितको पानीले मालसामान भिजेको वीरगञ्ज भन्सारका प्रमुख प्रशासक ढुडीप्रसाद निरौलाले बताए ।

आयातकर्ताले लकडाउनअघि नै आएको मालसामानसमेत भन्सारमै रोकेर राखेको निरौलाको भनाइ छ । ‘कतिपय आयातकर्ताले लकडाउन अघि आएको मालसामनसमेत नछुटाएको देखियो, हामीले सामान जाँचपासका लागि सहजीकरण गरेका छौं, अयातकर्ता नै आएका छैनन्,’ उनले आर्थिक अभियानसित भने ।

नेपाल र भारत दुवैतर्फको लकडाउनका कारण ढुवानी असहज भएको छ । भारतबाट मालसामान आउने क्रम नै पातलिएको छ ।

वीरगञ्ज भन्सारले लकडाउनलगत्तै मालसामान लैजान आयातकर्तालाई आग्रह गरेको र लकडाउनको बेला आवागमनमा समस्या भएमा अनुमतिपत्रको व्यवस्था पनि मिलाइएको बताएको छ । तर भन्सारबाट दैनिक उपभोग्य बस्तु, पेट्रोलियम र औषधीमात्र बढीमात्रामा जाँचपास भइरहेको छ । औद्योगिक कच्चा पदार्थ र अन्य बस्तुको जाँचपास न्यूनमात्र भएको भन्सारले बतायो । 

अहिले वीरगञ्ज भन्सारमा ३०० ट्रकभन्दा बढी मालसामान र करीब ८०० नयाँ सवारीका साधन रोकिएको जानकारी निरौलाले दिए । अधिकांश उद्योगको उत्पादन र व्यापार बन्द भएकाले पनि आयातकर्ताले भन्सारबाट मालसामान निकाल्न रुची देखाएका छैनन् । 

अहिले खाद्यान्न, दाना र औषधी उद्योगबाहेक अन्य उद्योग सञ्चालनमा छैनन् । समग्रमा ९० प्रतिशत उद्योगको उत्पादन रोकिएको अनुमान उद्यमीहरूको छ । उद्योग नै बन्द भएपछि आयातकर्ताले नाकामा आइसकेको कच्चा पदार्थ छुटाउन चासो देखाएका छैनन् । 

कोरोना संक्रमणको त्रासका कारण मजदूर अभाव, लकडाउनले भइरहेको आवगमनमा अवरोध र ढुवानीमा देखिएको अप्ठेरोपछि उद्योग बन्द भएका छन् । लकडाउनले भुक्तानी रोकिएका कारण सञ्चालन पूँजीको अभाव भइरहेको व्यवसायीले बताएका छन् । पूँजीको प्रबन्ध नहुनु पनि भन्सारमा मालसामान रोकिनुको कारण भएको उद्यमीहरू बताउँछन् । 

सामान्य अवस्थामा दैनिक ७०० गाडी मालसामान भित्रिने वीरगञ्ज नाकामा अहिले यो संख्या ५० पनि पुग्न सकेको छैन  । दैनिक १०० गाडी आवागमन भइरहेकोमा तीमध्ये आधाभन्दा बढी ग्यास र डिजेल मात्र आइरहेको निरौलाले बताए ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)