ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना कहरमा आपूर्ति : किसानको तरकारी बारीमै सड्दै तर भारतबाट भित्रियो ९ करोडको तरकारी

२०७७ बैशाख, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

वैशाख १०, वीरगञ्ज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका कारण तरकारी उत्पादक किसानले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन पाएका छैनन् । तरकारी खेतीका लागि बीउ, मल, ढुवानीलगायतका अत्यावश्यकीय बस्तु सहज रुपमा उपलब्ध छैन । 

अहिले कोरोना संक्रमणको डर र बजार अन्योलले तरकारी खेतीमा किसानको रुची पनि कम देखिएको छ । तर लकडाउनयता मुख्य नाकाहरूबाट तरकारीको आयात भने उल्लेख्य परिमाणमा भइरहेको छ । 

वीरगञ्ज नाकाबाट मात्रै लकडाउनयताको २८ दिनमा करीब रू.९ करोडको तरकारी भित्रिएको छ । यो अवधिमा रू.८ करोड ८९ लाख ५८ हजारको ३ हजार १५९ मेट्रिकटन (मेट) तरकारी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुंडीप्रसाद निरौलाले जानकारी दिए ।

सबैभन्दा ठूलो परिमाणमा आलु आयात भएको छ । वीरगञ्ज भन्सारबाट रू.३ करोड ३० लाख ९१ हजारको १ हजार २९१ मेट आलु जाँचपास भएको छ । प्याज रू.२ करोड ३० लाख २३ हजारको आयात भएको छ । वीरगञ्ज नाकाबाट ६२२ मेट प्याज भित्रिएको छ । 

लकडाउनयता रू.१ करोड ५० लाख बराबरको ७०४ मेट हरियो तरकारी आयात भएको तथ्यांक वीरगञ्ज भन्सारसित छ । यो अवधिमा  रू. ९६ लाख ५० हजारको लसुन र रू.८२ लाखको ४३६ मेट गोलभेडा अयात भएको भन्सारले बताएको छ । 

आलुको आन्तरिक उत्पादनले २ महीनासम्म धान्ने र बाकी परिमाण आयात हुने व्यवसायी बताउँछन् । प्याजको आपूर्ति भने आयातको भरमा चलेको छ । नेपालमा आयात हुने अधिकांश आलु भारतको पश्चिम बंगाल र प्याज मध्यप्रदेश र महाराष्ट्रबाट आयात हुने भन्सारले बताएको छ ।    

कोरोना संक्रमण र लकडाउनले स्वदेशमा तरकारी उत्पादन प्रभावित भएको वीरगञ्ज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ता बताउँछन् । 

‘कोरोनाको डरले अहिले किसान खेतबारीमा जानै डराएका छन्, उत्पादन भएको तरकारीसमेत बजारसम्म ल्याएका छैनन्,’ गुप्ताको भनाइ छ ।किसानले आफ्नो उत्पादन शहरका थोक विक्रेतासम्म पुर्‍याउन पाएका छैनन् । ग्रामीण क्षेत्रमै विक्री गर्दा उत्पादनको उचित मूल्य नपाएको गुनासो उनीहरूको छ ।

ढुवानी सहज नहुँदा किसानको तरकारी बारीमै कुहिएको छ । तरकारी उत्पादनमा कमी र उत्पादित तरकारी सहजरुपमा बजारमा पुर्‍याउन नपाएपछि शहरीक्षेत्रमा भने तरकारीको भाउ बढेको छ । उपभोक्ताले चर्को मूल्य तिरेर आयातित तरकारी खाइरहेका छन् ।  


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)