ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरकारी आपूर्तिमा कोरोना संकट : किसानलाई बजारसम्म पुग्न कठिन

२०७७ बैशाख, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका कारण तरकारी उत्पादक किसानले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन पाएका छैनन् । तरकारीखेतीका लागि बीउ, मल, ढुवानीलगायत अत्यावश्यकीय वस्तु सहज रूपमा उपलब्ध छैन ।

अहिले कोरोना संक्रमणको डर र बजार अन्योलले तरकारीखेतीमा किसानको रुचि पनि कम देखिएको छ । तर, लक डाउनयता मुख्य नाकाहरूबाट तरकारीको आयात भने उल्लेख्य परिमाणमा भइरहेको छ ।

वीरगञ्ज नाकाबाट मात्रै लकडाउनयताको २८ दिनमा करीब ९ करोड रुपैयाँको तरकारी भित्रिएको छ । यस अवधिमा ८ करोड ८९ लाख ५८ हजार रुपैयाँको ३ हजार १५९ मेट्रिकटन (मेट) तरकारी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

सबैभन्दा ठूलो परिमाणमा आलु आयात भएको छ । वीरगञ्ज भन्सारबाट ३ करोड ३० लाख ९१ हजार रुपैयाँ मूल्यको १ हजार २९१ मेट आलु जाँचपास भएको छ । प्याज २ करोड ३० लाख २३ हजार रुपैयाँको आएको छ । वीरगञ्ज नाकाबाट ६२२ मेट प्याज भित्रिएको छ ।

लकडाउनयता १ करोड ५० लाख रुपैयाँ बराबरको ७०४ मेट हरियो तरकारी आयात भएको तथ्यांक वीरगञ्ज भन्सारसित छ । यस अवधिमा साढे ९६ लाखको लसुन र ८२ लाख रुपैयाँको ४३६ मेट गोलभेडा अयात भएको भन्सारले बताएको छ ।

आलुको आन्तरिक उत्पादनले २ महीनासम्म धान्ने र बाँकी परिमाण आयात हुने व्यवसायी बताउँछन् । प्याजको आपूर्ति भने आयातको भरमा चलेको छ । नेपालमा आयात हुने अधिकांश आलु भारतको पश्चिम बंगाल र प्याज मध्यप्रदेश र महाराष्ट्रबाट आयात हुने भन्सारले बताएको छ ।

कोरोना संक्रमण र लकडाउनले स्वदेशमा तरकारी उत्पादन प्रभावित भएको वीरगञ्ज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ता बताउँछन् । ‘कोरोनाको डरले अहिले किसान खेतबारीमा जानै सकेका छैनन् । उत्पादन भएको तरकारीसमेत बजारसम्म ल्याएका छैनन्,’ गुप्ताको भनाइ छ ।

किसानले आफ्नो उत्पादन शहरका थोक विक्रेतासम्म पुर्‍याउन पाएका छैनन् । ग्रामीण क्षेत्रमै विक्री गर्दा उत्पादनको उचित मूल्य नपाएको गुनासो उनीहरूको छ । ढुवानी सहज नहुँदा किसानको तरकारी बारीमै कुहिएको छ । तरकारी उत्पादनमा कमी र उत्पादित तरकारी सहज रूपमा बजारमा पु¥याउन नपाएपछि शहरी क्षेत्रमा भने तरकारीको भाउ बढेको छ । उपभोक्ताले चर्को मूल्य तिरेर आयातित तरकारी खाइरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)