ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाद्यान्न उद्योगीलाई सञ्चालन पूँजीको अभाव हुँदै

२०७७ बैशाख, १२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वैशाख १२, वीरगञ्ज । लकडाउनको समयमा जसोतसो उत्पादन र ढुवानीको प्रबन्ध गरिरहेका यस क्षेत्रका खाद्यान्न उद्योगीलाई अहिले सञ्चालन पूँजीको अभाव हुन थालेको छ । उत्पादन जति उधारोमा जाने तर बजारबाट भुक्तानी उठाउन नसकिएपछि समस्या भएको उद्योगीले बताए । 

सरकारले उत्पादन र ढुवानीका लागि सहजीकरण गरे पनि बजारमा दिइएको उधारो उठाउन नपाउँदा उद्योग चलाउनै कठिन भएको वीरगञ्जस्थित न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले बताए । 

वीरगञ्जबाट काठमाडौं, पोखरा, हेटौंडा, नारायणगढलगायतका शहरमा चामल आपूर्ति गर्दै आएका कलवारमात्र होइनन्, अहिले अधिकांश खाद्यान्न उद्योगीले यस्तो समस्या सामना गरिरहेका छन् । 

सरकारले खाद्यान्नलाई अत्यावश्यकीय उत्पादनको सूचीमा राखेको छ । लकडाउनको समयमा खाद्यान्न आपूर्ति सहज बनाउन सरकारले चामल, तेल, दाल, पिठो, मैदालगायतका खाद्यान्न, औषधी र पशुपंछीको दाना, दुग्धलगायतका उद्योग सञ्चालनको अनुमति दिएको थियो । 

‘सरकारले उत्पादन र ढुवानीलाई त खुला ग¥यो, तर, ठाउँ–ठाउँमा रोकिएको भुक्तानी उठाउन सकिएको छैन, कम्तीमा मुख्य शहरमा खटिने उद्योगका बजार व्यवस्थापकलाई सवारी पास उपलब्ध भएमा कही हदसम्म समस्या समाधान हुने थियो,’ कलवारले आर्थिक अभियानसित भने । 

स्थानीय प्रशासनले उद्योगमा आवागमन र खाद्यान्न ढुवानीका सवारीसाधानलाई पास उपलब्ध गराएको छ । तर बजारमा खटिने जनशक्तिका लागि त्यस्तो व्यवस्था नभएकोले भुक्तानी उठाउन नसकिएको ती उद्यमीले बताएका छन् । 

खाद्यान्न उद्योगीले चैतको अन्तिम साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समस्या समाधानको आग्रह गरेका थिए । मन्त्रालयले अहिलेसम्म सहजीकरण नगरिदिएको गुनासो उनीहरूले गरे । 

भुक्तानीको समस्याले उद्योगको उत्पादन नै प्रभावित हुने अवस्था आएकाले सरोकारका निकायलाई सहजीकरणको आग्रह गरिएको नेपाल चामल तेल दाल संघका अध्यक्ष सुवोध गुप्ताले बताए । 

‘बजारबाट भुक्तानी संकलन र बैंकमा आवतजावतको लागि कम्तीमा एकजना कर्मचारीलाई पासको व्यवस्था हुनु पर्दछ,’ मोहित एग्रोका प्रबन्ध निर्देशकसमेत रहेका गुप्ताको भनाइ छ । बैंकहरू नियमति रुपमा सञ्चालन नभएकाले पनि भुक्तानी संकलन प्रभावित भएको उद्यमीले बताएका छन् ।

लकडाउनमा अधिकांश बैंकले आलोपालो गरी शाखा सञ्चालन गरेका छन् । यस्ता बैंकहरुले अहिले दिनको २ घण्टामात्र सेवा दिइरहेका छन् । लकडाउनअघि घर गएका कामदार कर्मचारीलाई फिर्ता ल्याउन नसकिएको उद्योगी कलवारले बताए । कर्मचारीलाई ल्याउन सरकारले सहजीकरण गर्नुपर्ने माग उद्योगीहरुको छ । 

खाद्यान्न उद्योगका लागि आवश्यक पर्ने प्याकेजिङ्ग उद्योग, विद्युतीय श्रोत, औद्योगिक पार्टपुर्जा, रसायनलगायतका पसल पनि दैनिक रुपमा केही समयको लागि भए पनि खोल्नुपर्ने उद्यमीले बताए । 

अहिले उद्योगहरु मौज्दात कच्चा पदार्थको भरमा चलेको अध्यक्ष गुप्ताले बताए । मौज्दात सकिएपछि खाद्यान्नको अभाव हुनसक्ने भएकाले कच्चा पदार्थको आयातमा भारत सरकारसँग पहल गरिदिन उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेपालका खाद्यान्न उद्योगको अधिकांश कच्चा पदार्थ भारतबाट आउँछ । भारतमा पनि  जारी लकडाउनले यस्ता बस्तुको आयात ठप्प छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)