ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा किसानले पाएनन् च्याउको बीउ

२०७७ बैशाख, १५  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

वैशाख १५, दाङ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिँदै जाँदा दाङका व्यावसायिक च्याउ उत्पादन गर्दै आएका किसानलाई च्याउको बीउको समस्या परेको छ । उनीहरूलाई च्याउ उत्पादनको मुख्य सिजनको समयमा च्याउको बीउको समस्या परेको छ । च्याउनको बीउ नपाउँदा धेरै च्याउ किसानका च्याउ उत्पादन गर्न बनाइएका टनेलहरु खाली छन् ।

लकडाउनका कारण च्याउको बीउ नपाउँदा च्याउ नै उत्पादन गर्न नसकिएको घोराही उपमहानगरपालिका वडा नं. ६ गुरुवागाउँमा व्यावसायिक च्याउ खेती गर्दै आएका पाण्डवेश्वर च्याउ फार्मका सञ्चालक गिरिराज ज्ञवालीले बताए । ‘च्याउको लागि यो समय राम्रो सिजन हो, पराल काटेर ठिक्क पारेर राखेको थिएँ,’ उनले भने, ‘लकडाउन भयो च्याउको बीउ ल्याउन सकिएन, सबै टनेल खाली छन् ।’

करीव दुई वर्षदेखि गुरुवागाउँमा १३ कट्ठा जग्गा लिजमा लिएर व्यावसायिक च्याउखेती गर्दै आएको ज्ञवालीले काठमाडौंबाट च्याउको बीउ ल्याउने गरेका थिए । तर लकडाउनका कारण अहिले बीउ आउन नसक्दा उनका च्याउ उत्पादनका लागि बनाइएका १९ वटा टनेल खाली छन् । एउटा टनेलमा करीब २५० गोलामा च्याउ उत्पादन गर्न सकिन्छ । एक लटमा ३ देखि ४ लाखसम्मको च्याउ उत्पादन गर्दै आएका ज्ञवालीले महीना दिनभन्दा बढी टनेल खाली राख्नुपर्दा लाखौंको घाटा लागेको बताए । ‘व्यवसाय नै यही हो बन्द भएपछि बैंकको ब्याज कसरी तिर्ने भन्ने समेत समस्या परेको छ,’ उनले भने, ‘किसानको समस्या कसले कसैले सुनिदिँदैन ।’

लकडाउनकै कारण लकडाउनको समय शुरु भएको पहिलो लटमा च्याउले बजार नपाउँदा २ लाख बराबरको च्याउ त्यतिकै फाल्नुपरेको उनले बताए । झण्डै ९ वर्ष रोजगारीका लागि दुबईमा बसेका ज्ञवाली स्वदेशमै केही गर्नुपर्छ भनेर लिजमा जग्गा लिएर च्याउखेती गर्न लागेका हुन् । उनले मासिक करीव ४ लाख रुपैयाँ बराबरको च्याउ उत्पादन गर्दै आएका छन् । 

ज्ञवाली त एक उदाहरण मात्रै हुन् । लकडाउनका समयमा जिल्लाका अधिकांश च्याउ किसानका च्याउ टनेलहरु बीउ उपलब्ध नहँदा खाली छन् । व्यावसायिक च्याउ उत्पादन गर्ने किसानहरुको मुख्य सजिन वैशाखदेखि भदौ महीनासम्म हो । यी महीनामा च्याउको उत्पादन पनि राम्रो हुने र बजार भाउ पनि राम्रो हुने किसानहरु बताउँछन् ।

सामान्य परिस्थितिमा जिल्लामा उत्पादन गरिएको च्याउ विक्रीका लागि बजारको अभाव नभएको तर अहिले लकडाउनका कारण बीउको समस्यादेखि बजारको समस्या पनि देखिएको छ । दाङमा अधिकांश किसानहरुले कन्ये च्याउ र केही स्थानमा गोब्रैलगायत जातका च्याउको व्यावसायिक खेती गर्दै आएका छन् । यहाँका ९० प्रतिशत च्याउ किसानहरुले च्याउको बीउ जिल्ला बाहिरबाटै ल्याउन गर्दछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)