ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता : भन्सार जाँचपासमा निसंक्रमणको प्रमाण अनिवार्य 

२०७७ बैशाख, १७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

वैशाख १७, वीरगञ्ज । आयातित मालसामानको भन्सार जाँचपासका लागि अब ढुवानीका साधन निसंक्रमणको प्रमाण पेश गर्नुपर्ने भएको छ । नाकामा आइपुगेको मालसामानको भन्सार जाँचपासका लागि ढुवानीका साधन निसंक्रमण गरेर कन्साइन्मेण्ट लोड गरिएको प्रमाणपत्र अनिवार्य गरिएको हो । 

कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको भन्सार विन्दुमा आयात नियमनको सुरक्षा विधिमार्फत यस्तो व्यवस्था गरिएको हो । आयातित मालसामान, ढुवानीका साधन र चालकबाट कोरोना संक्रमण भित्रिने सम्भावना न्यूनीकरणका लागि यस्तो यस्तो प्रावधान ल्याइएको मन्त्रालयले बताएको छ । 

मन्त्रालयले भन्सार निकायहरूमा यसको जानकारी पठाएसँगै वीरगञ्ज भन्सार कार्यालयले नेपाल इण्टरमोडल यातायात विकास समिति र वीरगञ्ज भन्सार एजेण्ट संघलाई पत्र लेखेर यसको जानकारी गराएको छ । आयातनिर्यात कारोबारको हिसाबले वीरगञ्ज सबैभन्दा ठूलो नाका हो । 

आयात अनुमतिपत्र जारी गर्दा यो शर्त समावेश गर्न स्वास्थ्य मन्त्रालयले सरोकारका निकायलाई आग्रह गरेको छ । आयातित मालसमान लिएर आउने चालकले मन्त्रालयले तोकेको विधिअनुसार जाँच गराएर प्रवेश गराउनुपर्ने छ । चालकमा कोरोनाको लक्षण नदेखिएको अवस्थामा सतर्कताका सबै उपाय अपनाएर प्रवेश अनुमति दिनुपर्ने उल्लेख छ । 

भारत र तेस्रो मुलुकबाट आउने ढुवानीका साधन र चालकहरूबाट पनि संक्रमण भित्रिने जोखिम न्यूनीकरणका लागि यो प्रक्रियागत शर्त आवश्यक भएको वीरगञ्ज भन्सारका  प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले आर्थिक अभियानलाई बताए ।

‘यसको कार्यान्वयन र सहजीकरणका लागि सरोकारका पक्षलाई पत्राचार गरिसकिएको छ, संक्रमण नभित्रियोस् भन्नका लागि नाकामा सतकर्तता अपनाउनुको विकल्प छैन,’ उनले भने । 

आयातित मालसामान बोकेर आएका साधन र चालकलाई निसंक्रमण गरेपछि मात्रै भन्सारको यार्डमा प्रवेश गराइने छ । नेपाल प्रवेश गरेका यस्ता साधनको निसंक्रमणको प्रमाण स्थानीय प्रशासन वा पालिकाले जारी गर्ने छन् ।

यस्तो प्रमाण पेश गरेपछि जाँचपासको अरू प्रक्रिया अघि बढाइने भन्सार कार्यालयले बताएको छ । ढुवानीका साधनलाई डिटरजेन्ट मिसिएको पानीले निसंक्रमण गर्न मन्त्रालयले सुझाएको छ । 

कर्मचारीलाई पनि सुरक्षा सतर्कता  

कन्साइमेण्टको जाँचपासमा संलग्न कर्मचारीलाई पनि स्वास्थ्य मन्त्रालयले सुझाएको व्यक्तिगत सुरक्षा उपकरण अनिवार्य गरिएको छ । कर्मचारीले पूरै जीउ छोप्ने कपडा र आँखाको सुरक्षाका लागि ठूलो आकारका चस्मा लगाउनुपर्ने छ । दुवै हातमा रबरको डिस्पोजेवल पन्जा र सर्जिकल मास्क लगाउन भनिएको छ । 

सेवाग्राहीसँग कुराकानी गर्दा कम्तीमा २ मीटरको दुरी कायम गर्ने र भन्सार प्रक्रियाका लागि आवश्यक कागजात सम्भव भएसम्म विद्युतीय माध्यमबाट हेर्ने व्यवस्था मिलाइने भएको छ । भन्सारमा मालसामानको लोडअनलोडमा खटिने मजदूरबीच न्यूनतम सामाजिक दुरी कायम गरिने छ ।   

मन्त्रालयले विश्व स्वास्थ्य संगठनको कार्यविधिअनुसार नाकामा कोरोनाविरुद्ध सुरक्षा सतर्कता अनिवार्य गरेको हो । यो कार्यविधि अगावै मुख्य नाकाका कर्मचारीले मास्क, पञ्जालगायतका उपकरण उपयोग गर्दै आएका थिए । 

सीमित स्रोतका कारण भन्सार प्रशासनले सामान्य मास्क र पञ्जाको व्यवस्थापनमै कठिनाइ भोग्दै आएको छ । कर्मचारीको सुरक्षा सतर्कताका निमित्त मन्त्रालयले तोकेको सुरक्षाविधिको कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्सारका अधिकारीहरू बताउँछन् । 
 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)