ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाकामा कोरोना त्रास : कम्युटर प्रणालीबाटै भन्सार जाँचपासको व्यवस्था मिलाउन आग्रह 

२०७७ बैशाख, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वैशाख १८, वीरगञ्ज । कोरोना भाइरसको संक्रमणको सम्भावना न्यूनीकरणका लागि विद्युतीय माध्यमबाटै आयातित मालसामानको जाँचपासको विकल्प सुझाइएको छ । मुख्य नाकास्थित वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागलाई पत्र लेखेर अनलाइन प्रणालीमार्फत जाँचपासको व्यवस्था मिलाउन आग्रह गरेको हो । 

अहिलेको प्रक्रियामा मालसामानको जाँचपासका लागि भन्सारका कर्मचारी र आयातकर्ताका प्रतिनिधि प्रत्यक्ष सम्पर्कमा रहनु पर्दछ । यसरी कागजात जाँच गर्दा संक्रमण फैलिने जोखिम भएको भन्दै वीरगञ्ज भन्सारले आधिकारिक पासवर्डमार्फत जाँचपासको प्रबन्ध गर्न भनेको छ । 

भन्सार ऐन २०६४ को दफा ८९ मा (घ) मा भन्सार अधिकृतले कम्प्युटर प्रणालीमा भएको अभिलेखको आधारमा आधिकारिक पासवर्डमार्फत अघि बढाएको कागजी प्रक्रियामा दस्तखत नभए पनि त्यस्तो कागजातलाई दस्तखत भए सरह मानिने व्यवस्था छ । वीरगञ्ज भन्सारले यही कानूनी प्रावधानका आधारमा जोखिम न्यूनीकरणको उपाय अपनाउन आग्रह गरेको प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए । 

अहिले भन्सारले प्रयोगमा ल्याएको आशिकुडा प्रणालीबाट प्रिन्ट गरिने कागजातमा कर्मचारीको हस्ताक्षरसमेत प्रिन्ट हुने व्यवस्था छ । ‘प्रज्ञापनपत्रमा प्रत्यक्ष हस्ताक्षर गर्नुपर्ने बाध्यउता हटाउँदा सेवाग्राहीसँग सम्पर्कका कारण हुन सक्ने संक्रमणको जोखिमबाट बच्न सकिने थियो,’ प्रमुख भन्सार प्रशासक निरौलाले भने । 

अहिले अनलाइनबाटै भरेको विवरणका आधारमा मालबस्तुको वर्गीकरण भएपछि आयातकर्ता वा प्रतिनिधिले प्रिन्ट गरेर ल्याएको कागजातमा भन्सार कर्मचारीले हस्ताक्षर गर्छन् । अनलाइनबाट आएको कागजातमा पासवर्डमार्फत प्रक्रिया अघि बढाउँदा प्रत्यक्ष सम्पर्कको अवस्था रहँदैन । 

आयातकर्ताले अनलाइनमा विवरण समावेश गरेपछि आशिकुडा प्रणालीले मालसामानलाई हरियो, पहेलो र रातो च्यानलमा वर्गीकरण गर्दछ । हरियोमा परेको मालसामानको प्रज्ञापनपत्रमा भन्सार कर्मचारीले हस्ताक्षरमात्रै गर्छन् ।

पहेलोमा कागजात जाँच गरी हस्ताक्षर गरिन्छ । रातो च्यानलमा पर्नेको कागजात र मालसामान दुवै जाँच गरेर छोड्नु पर्दछ । करीब ४० प्रतिशत बस्तु हरियो र पहेलो च्यानलमा पर्ने भएकाले कम्युटर प्रणालीबाटै काम गर्दा यस्तो मालसामानको जाँचपासमा सेवाग्राही र मालसामानसँग सम्पर्क गर्नै नपर्ने भन्सार प्रशासक निरौलाले बताए ।

‘रातो च्यानलका कागजात भन्सारका कर्मचारी आफैंले प्रिन्ट निकालेर मालसामानको चेकजाँच गर्दा सेवाग्राहीसँग सम्पर्क आवश्यक पर्दैन,’ उनले आर्थिक अभियानसित भने । 

नाकामा खटिएका भन्सार कर्मचारीको मनोबल उच्च राख्न राज्यले प्रोत्साहनको व्यवस्था गर्नुपर्ने पनि भन्सारले उल्लेख गरेको छ । ‘भन्सार नाका अतिआवश्यक सेवाको रुपमा खुला रहेको अवस्थामा प्रोत्साहनको व्यवस्था नहुँदा कर्मचारीमा निराशा आउन सक्दछ,’ वीरगञ्ज भन्सारले विभागलाई लेखेको पत्रमा भनिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)