ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याज छूटमा खाद्यान्न उद्योगीको असन्तुष्टि : सहयोगीलाई नै छैन सहुलियत ! 

२०७७ बैशाख, २३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वैशाख २३, वीरगञ्ज  । कोरोना भाइरस (कोभिड–१९) र यसको नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावित उद्यम व्यवसायलक्षित सरकारी राहतप्रति खाद्यान्न उद्योगी असुन्तष्ट देखिएका छन् । 

नेपाल राष्ट्र बैंकले व्याजदरमा घोषणा गरेको २ प्रतिशत विन्दुको छूट नपाउने भएपछि खाद्यान्न उत्पादकले यसलाई विभेदपूर्ण भनेका छन् । 

संकटको बेलामा जोखिम मोलेर उद्योग सञ्चालन गरेका खाद्यान्न उद्योगलाई राहतबाट बञ्चित गरेर सरकारले विभेद गरेको आरोप नेपाल चामल, दाल तेल संघका अध्यक्ष सुवोधकुमार गुप्ताले लगाए ।

 ‘कोरोना संक्रमणको त्रासमा उद्योग सञ्चालन गरेर हामीले सरकारलाई सहयोग गर्‍यौं, तर सरकारले हामीलाई नै सहुलियतबाट बञ्चित गर्नु अन्याय हो,’ अध्यक्ष गुप्ताले भने । 

राष्ट्र बैंकले कोरोनाबाट प्रभावित होटेल, रेष्टुरेन्ट, रिसोर्ट, ट्राभल, ट्रेकिङ, हवाइ उड्डयनलगायतका व्यवसायलाई ब्याज छूट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यी क्षेत्रले चालू आर्थिक वर्ष २०७६/ ७७ को अन्तिम त्रैमासिक किस्तामा ब्याज छूट पाउने बताइएको छ ।    

खाद्यान्न प्रशोधन र विक्रीवितरण, ग्याँस उत्पादन, सोप एण्ड केमिकल, औषधी व्यवसायलगायतलाई राहत नदिइने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । सरकारले यस्ता उद्योगलाई लकडाउनमा पनि सञ्चालनका लागि सहजीकरण गरेको थियो । खाद्यान्न उद्योग अहिले पनि क्षमताको २५ देखि ४० प्रतिशतमा चलेको वीरगञ्जको न्यू ओम खाद्य उद्योगका प्रबन्ध निर्देशक विश्वामित्रप्रसाद कलवारले बताए । 


समस्या परेको बेलामा उद्योग चलाएर आपूर्ति व्यवस्था सुचारु राख्न सहयोग पुर्‍याएका उद्योगीप्रति सरकार पूर्वाग्रही देखिएको आरोप कलवारले लगाए । ‘हामीले संकटको समयमा सरकारलाई सहयोग गरिरहेका छौं, तर, सरकारले हाम्रो समस्यालाई बेवास्ता गर्‍यो,’ उनले भने । 

अहिले सबै खाद्यान्न उद्योग घाटामा चलिरहेको दाबी उद्यमीहरूको छ । सरकारले राहतमा गरेको विभेदले उद्योगीको मनोबल खस्किएको अध्यक्ष गुप्ताले बताए ।

कोराना संक्रमणको डर र लकडाउनले आवागमन अवरुद्ध हुँदा जसोतसो उद्योग चलेको बताइएको छ । सरकारले खाद्यान्न उत्पादनका समस्यामा गम्भीर नभएको गुनासो उनीहरूको छ ।

‘अब घाटा सहेर धेरै दिन उद्योग चलाउन सकिन्न, सरकारले पनि पूर्वाग्रह राख्ने हो भने उत्पादन बन्द गर्ने स्थिति आउन सक्दछ,’ अध्यक्ष गुप्ताले भने । 

लकडाउनले ढुवानी अवरोध हुँदा कच्चा पदार्थको आपूर्ति र उत्पादनलाई बजारसम्म लैजान पनि समस्या झेल्नु परेको व्यवसायीले बताएका छन् । अहिले अधिकांश उद्योग मौज्दात कच्चा पदार्थको भरमा चलेका छन् । 

दाल र तेल उद्योगले रेलमार्गमार्फत थोरै परिमाणमा कच्चा पदार्थ भित्र्याए पनि चामल उद्योगले धान आयात गर्न पाएका छैनन् । लकडाउनले सडकमार्गको ढुवानी अवरुद्ध भएकाले धान ल्याउन नपाएको उद्योगीले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)