वैशाख २३, रौतहट । रोतहटका वनमा लकडाउनको मौका छोपी काठ तथा वन्यजन्तुको चोरी तस्करी हुने गरेको पाइएको छ । रातिको समयमा सुरक्षा गस्ती कम हुने र सर्वसाधारणहरू पनि निदाएको मौकामा जिल्लाको वनमा तस्करहरू प्रवेश गर्ने गरेका हुन् ।
वैशाख १७ गते चन्द्रपुर नगरपालिका वडा नं. ३ स्थित धन्सार वन क्षेत्रबाट सालको गोलिया सहित २५ थान चिरान काठ बरामद गरिएको थियो । अरुणवस्तीदेखि दक्षिण तथा भोलनटारदेखि पश्चिमको जंगलबाट ३२.२१ क्युफिट बराबरको ३ थान सालको गोलिया र ४० क्यूफिट बराबरको २५ थान चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए ।
त्यसअघि वैशाख ५ गते चन्द्रपुर नगरपालिका वडा नं. १० अन्तर्गत रहेको सबडिभिजन वन कार्यालय चेतनगरबाट चार थान गोलिया सहित एक जनालाई पक्राउ गरिएको थियो भने चैत २५ गते गुजरा नगरपालिकाको अन्जुमन सामुदायिक वन क्षेत्रमा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको र सो क्षेत्रबाट एक थान भरुवा बन्दुक बरामद गरीएको वन कार्यालयले जनाएको छ।रातको समयमा नै चोरी तस्करी बढि हुने गरेपछि निगरानी र गस्ति बढाईएको उहाँको भनाई छ तस्करहरूले भरुवा बन्दुक बोक्ने र १५÷३५ जनाको समूह बनाएर तस्कर गर्न आउने गरेकोले चुनौती रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
वनमा रहेका हरिण, बदेल, निलगाई, बनकुखुरा लगायतका बन्यजन्तुको सिकार हुदै गएको छ ।डिभिजन वन कार्यालय रौतहटले सूचना जारी गरी वन ऐन, २०७६ को दफा ९ बमोजिम वनमा अनाधिकृत प्रवेशलाई निषेध गरेको छ । सूचनाको अवज्ञा गरी वन क्षेत्रमा प्रवेश गरेको पाईएमा वन ऐन,२०७६ को दफा ५०(१)(ख) बमोजिम एक महिनासम्म कैद वा एक हजार रुपैंयासम्म जरिवाना वा दुबै सजाय हुने नियम छ।