ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्सा–बारा औद्योगिक कोरिडोर : सतर्कता मापदण्ड अनुगमन गरेर उद्योग सञ्चालन  

२०७७ बैशाख, २७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वैशाख २७, वीरगञ्ज । कोरोना संक्रमण फैलिन नदिन अपनाइएको मापदण्ड अनुगमन गरेरमात्रै पर्सा र बारामा उद्योग चलाउन दिइने भएको छ । उद्योगहरूले मापदण्ड पालना गरे/ नगरेको अनुगमन स्थानीय प्रशासनले गर्ने छन् । 

उद्योग सञ्चालनका लागि तोकिएको सतर्कताका उपाय पालना नगरेका उद्योगले सञ्चालनको अनुमति पाउने छैनन् । पर्सा र बारालाई कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा राखिएको छ । अहिलेसम्म पर्सामा २४ र बाराका २ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । 

सरकारले लकडाउन खकुलो बनाउँदै ४४ प्रकारका उद्योग चलाउन दिने निर्णय गरेसँगै बारा र पर्साका उद्योगमा सतर्कताको कार्यान्वयनको अवस्था अनुगमन गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार भएको सर्वपक्षीय बैठकबाट सतर्कताको मापदण्ड पूरा गरेका उद्योगलाई मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए । शुरूमा सिमेन्ट र डण्डी उद्योगलाई मापदण्ड पूरा गरेर चलाउन दिने प्रशासनको तयारी छ । 

कामदारका लागि उद्योगमै आवासीय व्यवस्था मिलाइनुपर्ने, कार्यस्थलमा कामदारबीच कम्तीमा १ मीटरको दुरी, सेनिटाइजर वा साबुनपानीले हात धुने प्रबन्ध, मास्कलगायका सतर्कताका उपाय अपनाएका उद्योगलाई सञ्चालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

उद्योगीले कोरोना संक्रमण फैलिन नदिने सतर्कताका पूर्वाधार तयार गरेर सञ्चालनको लागि प्रशासनमा निवेदन दिनुपर्ने छ । अन्य उद्योग सञ्चालनका लागि प्रशासनले आइतवारदेखि आवेदन मागेको छ । उद्योगीले उद्योगको प्रकृति र कोरोना संक्रमण फैलिन नदिन अपनाइएका उपायसहितको निवेदन दिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । 

यस्ता उद्योगलाई सञ्चालन सम्बन्धमा अर्को बैठकले टुंगो लगाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । पर्सामा कोरोनाका संक्रमति बढ्दै गएकाले उद्योगले अपनाएका सतर्कताका मापदण्डमा आश्वस्त भएपछिमात्रै चलाउन दिइने भएको हो । 

खाद्यान्न, औषधी, पुशपंछी दाना, प्याकेजिङलगायतका अत्यावश्यकीय उद्योग भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । सरकारले चैतको तेस्रो साताबाटै यस्ता उद्योग चलाउन दिएको थियो । यी उद्योग पूर्ववत् सुरक्षा सतर्कतासहित सञ्चालन हुने छन् । बारा जिल्लाका उद्योग सञ्चालनका लागि अनुगमन भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । 

‘उद्योग प्रतिष्ठानले कामदार कर्मचारीलाई आवासीय व्यवस्था मिलाएर उद्योग सञ्चालन गर्नुपर्ने छ । मजदूर कर्मचारीलाई सडकमा हिडडुल गर्नु नपर्ने गरी उद्योग चलाउने व्यवस्थाको दायित्व उद्योग व्यवस्थापनको हो,’ प्रमुख जिल्ला अधिकारी पण्डितले भने । 

कोरोना संक्रमण विस्तारको अवस्था हेरी जुनसुकै समयमा पनि उद्योग सञ्चालनमा रोक लगाउन सकिने बारा प्रशासनको सूचनामा उल्लेख छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका अधिकांश उद्योग बारामा पर्दछन् । 

बारामा अहिलेसम्म ३ ओटा ठूला उद्योगले मात्र प्रशासनबाट सञ्चालनको स्वीकृति लिएका छन् । कोरोनाको जोखिमलाई ध्यानमा राखेर तत्कालका लागि क्षमताको ३०÷३५ प्रतिशतमा उद्योग चलाउन दिने तयारी प्रशासनको छ ।  

कामदार कर्मचारीका लागि आवासीय व्यवस्था मिलाएर उद्योग चलाउन कठिन हुने उद्यमीहरूले बताएका छन् । सवारी पासको व्यवस्था मिलाएर आवागमन सहजीकरण गनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । 

ढुवानीका साधनको पास लिन समस्या भएको उद्यमी व्यवसयीले बताएका छन् । ‘उद्योग सञ्चालमा आए पनि  बजार र ढुवानी सहज नभएसम्म उद्योग चल्न सक्दैनन् । उत्पादनलाई बजारसम्म पुर्‍याउने र विक्रीको वातावरण बनाउन सरकारले सहजीकरण गरिदिनु पर्दछ,’ संघका अध्यक्ष गोपाल केडियाको आग्रह छ । 

कोरोना संक्रमणको जोखिम कम भएका क्षेत्रका बजार खोलेर उत्पादन बिक्रीबितरणको व्यवस्था मिलाउन सकिने सुझाव केडियाले दिए । यसबाट उद्योगी व्यापारीले भोगिरहेको सञ्चालन पूँजीको समस्या पनि समाधान हुने दाबी उनको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)