ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका सामुदायिक विद्यालयद्वारा धमाधम नतीजा प्रकाशन

२०७७ बैशाख, ३०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान ।  सल्यानका सामुदायिक विद्यालयहरूले धमाधम नतीजा प्रकाशन गर्न शुरू गरेका छन् ।  जिल्लाका अधिकांश विद्यालयले कक्षा ८ बाहेक कक्षा १ देखि ९ सम्मका विद्यार्थीको शैक्षिक सत्र २०७६ मा लिइएको वार्षिक परीक्षाको नतीजा प्रकाशन गर्न शुरू गरेका हुन् । अहिलेसम्म जिल्लाका दर्जन बढी सामुदायिक विद्यालयले नतीजा प्रकाशन गरिसकेका छन् ।

कक्षा ८ को वार्षिक परीक्षा पालिकास्तरीय भएकाले पालिकाको निर्णय अनुसार नतीजा प्रकाशन हुनेछ । बन्दाबन्दीका कारण घरमा बसेका बालबालिका तथा विद्याथीमा पढाइ प्रतिरुचि बढाउन र घरमै पठनपाठनका क्रियाकलापमा सहभागिता गराउन नतीजा प्रकाशन गर्न थालिएको विद्यालयहरूको भनाइ छ ।

महेन्द्र रत्न माध्यामिक विद्यालय, पिपलनेटाका प्रधानाध्यापक प्रकाश हमालले कोरोना भाइरसको कहरका बाबजूद विद्यालयले नतीजा प्रकाशन गरेको बताए । परीक्षामा सहभागी ३५४ विद्यार्थीमध्ये ३१४ जना उत्तिर्ण भएका उनको भनाइ छ । नतीजा फोन, एसएमएस तथा सामाजिक सञ्जालबाट पनि विद्यार्थी र अभिभावकले हेर्न मिल्ने गरी प्रकाशन गरिएको उनले बताए ।

विद्यालयले नतीजा प्रकाशन गरेसँगै नयाँ विद्यार्थी भर्ना अभियानसमेत शुरू गरिएको महेन्द्र माध्यामिक विद्यालय, लेखपोखराका प्रधानाध्यापक रोमहर्ष केसीले बताए । उनले विद्यालयमा अध्ययनरत २६४ जना विद्यार्थीको नतीजा प्रकाशन गरिएको बताए । विद्यालयले प्रकाशन गरेको नतीजामा अनुत्तिर्ण भएका विद्यार्थीलाई कक्षा वृद्धिका लागि मौका परीक्षा दिने व्यवस्था मिलाइएको शिवजन माध्यामिक विद्यालय, शितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । विद्यालयमा अध्ययनरत १ हजार ३३४ जना विद्यार्थीको नतीजा प्रकाशन गरिएको उनको भनाइ छ । ‘हामीले वेबसाइट, सामाजिक सञ्जाल, फोन मार्फत नतीजा हेर्न मिल्ने व्यवस्था गरेका छौँ, बन्दाबन्दी खुलेपछि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्छौ,’ उनले भने ।

बन्दाबन्दी पछि मात्रै नतीजा प्रकाशन गर्छौ : निजी विद्यालय
सल्यानका संस्थागत विद्यालयले भने बन्दाबन्दीपछि मात्रै परीक्षाफल प्रकाशन गर्ने बताएका छन् । नतीजा प्रकाशनको सबै तयारी पूरा भए पनि बन्दाबन्दीपछि मात्रै नतीजा प्रकाशन गर्ने उनीहरूको तयारी छ । प्याब्सन र एनप्याब्सनमा आबद्ध सबै संस्थागत विद्यालयले बन्दाबन्दी पछि मात्रै नतीजा प्रकाशन गर्ने भएका हुन् । प्याब्सनका केन्द्रीय सदस्य महेश देवकोटाले बन्दाबन्दी हटेको एक हप्ताभित्र नै नतीजा प्रकाशन गर्ने तयारी गरिएको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)