ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञापछि बारा –पर्साका औषधी र खाद्यान्न उद्योगसमेत बन्द

२०७७ बैशाख, ३१  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वैशाख ३१, वीरगञ्ज  । वीरगञ्जमा कोरोना संक्रमित बढेसँगै बारा र पर्सा जिल्लाको प्रशासनले लगाएको निषेधाज्ञा र संक्रमणको त्रासका कारण औषधी र खाद्यान्नजस्ता अत्यावश्यकीय उद्योगसमेत बन्द भएका छन् । 

कोरोना संक्रमण फैलिएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका यस्ता उद्योगले उत्पादन बन्द गरेका हुन् । सरकारले यसअघि लकडाउन खुकुलो गर्दै ४४ प्रकारका उद्योग व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
 
वीरगञ्जमा कोरोना संक्रमित बढेपछि बारा प्रशासनले वीरगञ्जबाट हुने आवागमनमा कडाइ गरेको छ । कोरिडोरका अधिकांश उद्योग बारामा भए पनि कामदार कर्मचारी वीरगञ्जबाट आउजाउ गर्दछन् । पर्सामा मंगलवार पूष्टि भएका ५७ सहित संक्रमितको संख्या ८१ पुगेको छ । बाराका ३ जनामा कोरोना संक्रमण देखिएको छ । 

निषेधाज्ञाले आवागमन बन्द भएपछि कोरिडोरका औषधी उद्योगले बुधबार उत्पादन बन्द गरे । आवागमन अवरुद्ध भएपछि उत्पादन गर्न नसकिएको क्वेष्ट फर्मास्विटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए ।

 ‘आवागमन कसरी हुने भन्ने निश्चित भएन । संक्रमणका कारण कामदार कर्मचारीमा पनि त्रास देखिएपछि तत्कालका लागि उत्पादन बन्द गरिएको छ,’ सञ्चालक राजभण्डारीले आर्थिक अभियानसित भने । 

कोरिडोरका १६ ओटै औषधी उद्योगको उत्पादन प्रभावित भएको उद्यमीहरूले बताएका छन् । बारा र पर्साका खाद्यान्न उद्योगको उत्पादन पनि बन्द भएको नेपाल चामल तेल दाल संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए । 
‘संक्रमणको डर र उद्योगसम्म आवतजावतमै समस्या भए पनि उद्योग चलाउन सकिएन,’ अध्यक्ष गुप्ताको भनाइ छ । 

वीरगञ्ज क्षेत्रका १५० चामल उद्योग, १२ ओटा तेल र १५ दालका उद्योगको उत्पादन बन्द छ । वीरगञ्ज खाद्यान्न उत्पादनको मुख्य केन्द्र हो । उद्योगमा कामदार नै नआएकाले बन्द गर्न बाध्य भएको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले बताए । 

प्रशासनले अत्यावश्यकीय सेवाबाहेकका सबै प्रकारका सवारी साधनको आवतजावतमा रोक लगाएको छ । प्रशासनको सूचनामा अत्यावश्यकीय उत्पादनका बारेमा भने केही उल्लेख छैन । 
जिल्ला प्रशासन कार्यालय बाराले सिकिस्त बिरामी प्रयोजनबाहेकका सबै प्रकारका सवारी पास खारेज गरेको छ । पर्सा प्रशासनले भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अन्य सवारीका साधन सञ्चालनमा रोक लगाएको छ । 

उद्योग प्रतिष्ठान सञ्चालन गर्दा स्थानीय कर्मचारीलाई मात्र काममा लगाउने र कामदारका लागि आवासीय व्यवस्था मिलाउनुपर्ने बारा प्रशासनले बताएको छ । आवासीय सुविधा दिन नसकिने भएमा उद्योग सञ्चालन नगर्न भनिएको छ । 

अधिकांश उद्योगले कामदारका लागि अवासको व्यवस्था मिलाउन नसकिने बताएका छन् । ‘कामदारलाई उद्योगमै राख्न सकिने अवस्था छैन, बाहिरबाट कामदार आउन नसकेपछि उत्पादन बन्द गर्नुको विकल्प रहेन,’ ओसीबी फीडका सञ्चालक सुरेश रुङ्गटाले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)