ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अत्यावश्यकीय सेवामा अन्योल : भन्सारबाट छुटेका गाडीलाई बाटोमा अवरोध

२०७७ जेठ, ४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

जेठ ४, वीरगञ्ज । कोरोना संक्रमण रोक्न जारी लकडाउनमा सरकारले भन्सार सेवालाई अत्यावश्यकीय सेवामा राखेको छ । अन्तरराष्ट्रिय सिमानामा मानिसको आवागमन बन्द गरिए पनि आयातनिर्यात रोकिएको छैन । पर्सा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दासमेत भन्सार कार्यालयको सेवा सञ्चालन हुने बताएको छ ।

वीरगञ्जको इनर्वा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह भन्सारबाट दिनहँु मालसामान जाँचपास भइरहेको छ । तर, भन्सारबाट निस्किएका ढुवानीका साधनलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोकेर अवरोध गर्दा अन्योल देखिएको छ ।

आयातनिर्यात र ढुवानी सहजीकरणमा सरोकारका निकायबीच समन्वयको अभावले अत्यावश्यकीय वस्तुको ढुवानीमा अन्योल भएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अत्यावश्यक वस्तुको ढुवानीका लागि सवारी पास आवश्यक नपर्ने सूचना निकालेको छ । तर, गृह मन्त्रालय मातहतमा सुरक्षाकर्मीले सडकमा ढुवानीका साधन रोकिरहेका छन् ।

गृह मन्त्रालयले गत वैशाख ३० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर त्यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको जानकारी गराएको थियो । एक जिल्लाबाट अर्को जिल्लामा जान सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा पास दिनुपर्ने पत्रमा उल्लेख छ ।

मन्त्रालयले जेठ २ गते निकालेको अर्को सूचनामा समेत यही व्यवस्थालाई निरन्तरता दिइएको छ । गृह मन्त्रालय मातहतका निकायले यही पत्रलाई आधार बनाएर अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गरेका छन् ।

कोरोना संक्रमण फैलिएपछि वैशाख ३० गतेदेखि ७ दिनका लागि निषेधाज्ञा जारी गरेको पर्सा प्रशासनले भन्सार सेवा सञ्चालन हुने आफ्नो सूचनामा उल्लेख गरेको छ । तर, त्यही सूचनाका आधारमा बारा–पर्सा औद्योगिक कोरिडोरमा अत्यावश्यकीय उत्पादनसमेत बन्द छन् । कोरिडोरका खाद्यान्न र औषधि उद्योगसमेत ५ दिनदेखि ठप्प छन् ।

लकडाउनमा अत्यावश्यकीय सेवा र उत्पादन सञ्चालन गर्ने भनिए पनि सरकारी निकायबीचको समन्वयको कमीले अवरुद्ध भएको नेपाल उद्योग वाणिज्य महासंघका यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । ‘सरकारका निकायबीच समन्वय छैन । भन्सारले जाँचपास गरेर लैजान भनेको मालसामान गृह मन्त्रालय मातहतमा निकायले बाटोमा रोकिदिन्छन्,’ अध्यक्ष टेमानीले आर्थिक अभियानसित भने ।

अहिले एउटा जिल्लाबाट अर्को जिल्लामा मालसामान लैजान नसकिएको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले गुनासो छ । भन्सार पर्सा जिल्लामा छन् । अधिकांश उद्योग बारामा छन् । तर, नाकामा आएको कच्चा पदार्थ उद्योगसम्म लैजान नपाएको राजपालले बताए । आयतकर्ताले भन्सारबाट छुटाएको मालसामान गन्तव्यसम्म लैजान नपाएपछि नाकामा मालसामान थुप्रिएको छ ।

सुक्खा बन्दरगाहमा तेस्रो मुलुकबाट ल्याइएका कन्टेनरको संख्या ४ हजारको हाराहारीमा पुगिसकेको छ । दैनिक ७ देखि ८ सय गाडी मालसामान भित्रिने वीरगञ्ज भन्सारबाट अहिले दिनमा करीब १ सय गाडी जाँचपास भएको भन्सारले बताएको छ ।

भन्सारलाई अत्यावश्यकीय सेवा राखिएकाले भन्सारबाट छुटेका मालसामानलाई गन्तव्यसम्म जाने व्यवस्था पनि त्यहीअनुसार मिलाइनुपर्ने वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौला बताउँछन् । ‘अत्यावश्यक सेवामा राखिसकेपछि भन्सारबाट जाँचपास भएका मालसामानलाई गन्तव्यसम्म जान दिनुपर्छ,’ निरौलाले भने । सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुबाहेक भन्सारबाट पास भएका मालसामानको ढुवानीमा अवरोध गर्न नहुने भन्सारका अधिकारीहरू बताउँछन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सूचनामा सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, खाद्यवस्तु, पशुपन्छीको आहार माछामासु, तरकारी, फलफूल, दूध, निर्माण सामग्री बोकेका साधनलाई सवारी पास आवश्यक नपर्ने उल्लेख छ । ‘सरकारको एउटा निकायले पास चाहिँदैन भन्छ, अर्काले रोक्छ । यसले गर्दा उद्योगी व्यवसायी अन्योलमा परेका छन्,’ महासचिव राजपालले भने ।

अहिलेको असहज अवस्थामा अत्यावश्यकीय वस्तु र उत्पादनको ढुवानीमा अनुसन्धानबाहेकको उद्देश्यले रोकेर अनावश्यक दुःख दिन नहुने उद्योगी मनोज दास बताउँछन् । चेकजँच आवश्यक देखिएमा भन्सार जाँचपासको क्रममै सरोकारका निकायले हेरेर निश्चित गर्नुपर्ने सुझाव दासको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)