ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना संक्रमण रोक्न भारतीय तरकारीको आयातमा प्रतिबन्ध 

२०७७ जेठ, ६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

जेठ ६, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय तरकारीको आयात रोकेको छ । 

कोरोना संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राखी पर्सामा विक्री हुने गरी आउने भारतीय तरकारीको आयातमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलवारदेखि भारतीय तरकारीको आयात राक्ने निर्णय गरेको हो । 
भारतबाट तरकारी आयात र विक्रीवितरणका क्रममा मानिसहरूको भिडभाड बढ्ने र तरकारीबाट संक्रमण भित्रिने सम्भावनालाई ध्यानमा राखी आयात रोकिएको बस्नेतले बताए ।

पर्सा जिल्लामा उत्पादित तरकारीलाई बजारसम्म ल्याउन सहजीकरण गरिने प्रशासनले बताएको छ । तरकारीको होम डेलिभरीलाई सहजीकरण गरिने भएको छ । नगर क्षेत्रमा साँझ ६ बजेदेखि बिहान ६ बजेभित्र तरकारी ल्याउन दिइने प्रशासनको सूचनामा उल्लेख छ । 

लकडाउनको समयमा किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन नपाउँदा बारीमै कुहिएको छ । प्रशासनको यो निर्णयबाट अब स्थानीय किसानललाई तरकारी बजारसम्म ल्याउन सहज हुने विश्वास गरिएको छ । वीरगञ्ज नाकाबाट लकडाउनयता दिनहुँ ११/ १२ गाडी भारतीय तरकारी आयात हुँदै आएको वीरगञ्ज भन्सारले बताएको छ ।

निषेधाज्ञा हटाइयो, आवागमनमा कडाई 

समितिले बैशाख ३१ देखि लगाइएको निषेधाज्ञा भने हटाएको छ । जेठ २० सम्म लम्ब्याइएको लकडाउनको कार्यान्वयनलाई थप व्यवस्थित बनाइने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । 

अत्यावश्यक सेवा र बस्तु ओसारपसार गर्ने र प्रशासनको अनुमति लिएकाबाहेक अन्य सवारी साधनको आवागमनमा प्रतिबन्ध लगाइएको छ । 

खाद्यान्न, किराना, दूध, पानीलगायतका अत्यावश्यकीय बस्तुका पसल बिहान साढे ८ बजेसम्ममात्रै खुल्न दिइने भएको छ । विक्रीस्थलमा सतर्ककताका उपाय कडाइका साथ कार्यान्वयन गराइने प्रशासनले बताएको छ । 

मुख्य बजार क्षेत्रमा भने बिहान ६ देखि साँझ साढे ७ बजेसम्म खाद्य र किराना पसलसमेत खोल्न पाइने छैन । यो समयमा वीरगञ्जको पावरहाउसचोकदेखि रजतजयन्तिचोकसम्म स्वास्थ्य सेवा र सुरक्षाकर्मीका सवारीबाहेक अन्य साधन चलाउन पनि रोक लगाइएको छ । 

वीरगञ्ज क्षेत्रमा कृषि कार्यका सामग्री, खाद्यान्न, पशुपंछीको आहारा, निर्माण सामग्रीलगायतका अत्यावश्यक ढुवानीका लागि साँझ ६ देखि बिहान ६ बजेको समय तोकिएको छ । 
सुरक्षाका आधारभूत मापदण्ड पालना गरेर खाद्यान्न र औषधीजस्ता अत्यावश्यक उत्पादन गर्न दिइने भएको छ ।  
 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)