रौतहट । रौतहटमा कोरोना भाइरसको (कोभिड १९) को संक्रमित संख्या बढ्दै गएपछि स्थानीय तहहरू आइसोलेशन कक्ष निर्माणमा लागिपरेका छन् । जिल्लाका चन्द्रपुर, गरुडा र गौरमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन कक्ष बनाइएको छ । यस्तै गरुडा नगरपालिका, माधवनारायण नगरपालिका र देवाही गोनाही नगरपालिकाले गरुडामा संयुक्त रूपमा ७५ बेडको आइसोलेशन कक्ष बनाउने भएका छन् ।
जेठ ६ गते गरुडा नगरपालिकाका नगर प्रमुख इनु राय यादवको पहलमा बसेको बैठकले आइसोलेशन वार्ड निर्माण गर्ने निर्णय भएको हो । गरुडा नगरपालिका वडा नं. ५ मा रहेको श्री माध्यमिक विद्यालय महम्मदपुरमा आइसोलेशन कक्ष निर्माणका लागि स्थलगत निरीक्षण समेत गरिएको छ । चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाई नगरपालिकाले चन्द्रपुर–२ स्थित शहिद स्मृतिपार्कमा आइसोलेशन कक्ष बनाउने भएका छन् ।
चन्द्रपुर नगरपालिकाको २५ लाख, वृन्दावन, गुजरा र गढीमाई नगरपालिकाको १५÷१५ लाखको लागतमा २२ बेडको आइसोलेसन कक्ष निर्माण गर्न लागिएको हो । उक्त स्थान बस्तीबाट टाढा रहेको छ । आइसोलेशन कक्षको निर्माण अघि बढाइएको गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए । जिल्लामा आइसोलेसन कक्ष नहुँदा वीरगञ्ज पठाइने गरेकोमा पछिल्लो संक्रमितलाई भने गौरस्थित नर्सिङ इन्स्टिच्युटले बनाएकोे आइसोलेसन कक्षमा राखेर उपचार गरिएको छ । राजपुर, इशनाथ र माधवनारायण नगरपालिका १८ जना संक्रमितलाई नर्सिङ इन्स्टिच्युटमा बनाइएको आइसोलेशन कक्षमा राखिएको हो ।
जिल्ला अस्पताल गौरका डा. कृष्ण साहले आइसोलेसनमा सामान्य लक्षण देखिएका बिरामीलाई मात्र राखिने बताए । बिरामीको अवस्था असामान्य भएमा आईसीयू वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएमा रेफर गर्नुपर्ने उनको भनाइ छ । कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको संख्या कम भएको उनले बताए । गौर नर्सिङ इन्स्टिच्युटमा ४० शøयाको आइसोलेसन वार्ड रहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वीरगञ्जमा पनि ठाउँ अभाव भएकोले चिकित्सकहरूको सल्लाहमा गौरमै आइसोलेसन सेवा शुरू गरिएको जानकारी दिए ।