ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाकामा कोरोना संक्रमणको त्रास : आयात नियमनको सुरक्षा विधि कागजमै सीमित 

२०७७ जेठ, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

जेठ १०, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख्य नाकास्थित भन्सार नाकामा खटिएका कर्मचारीलाई कोरोना संक्रमणको उच्च जोखिममात्र औंल्याएन, एक महीनाअघि आयात नियमनको सुरक्षा विधि अपनाउन आग्रह गर्‍यो । 

आयातित मालसामान, ढुवानीका साधन र चालकबाट कोरोना संक्रमण भित्रिने सम्भावना न्यूनीकरण गर्न मन्त्रालयको आग्रहबारे भन्सार विभागले तत्कालै मातहतका कार्यालयलाई जानकारी गरायो । तर आयातनिर्यातका हिसाबले मुख्य नाका वीरगञ्जमै अहिलेसम्म यो सुरक्षा विधि लागू हुन सकेको छैन । 

वीरगञ्ज नाकास्थित ३ ओटा भन्सारका कर्मचारी, आयातकर्ताका एजेण्ट र कामदारहरू कोरोना संक्रमणको त्रास र जोखिममा काम गरिरहेका छन् । मुख्य नाकामै संक्रमणविरुद्धको कमजोर सतर्कताले अन्य भन्सारमा सतर्कताको अवस्था सजिलै अनुमान गर्न सकिने वीरगञ्ज भन्सारका कर्मचारीहरू बताउँछन् । 

मन्त्रालयले तयार पारेको सुरक्षा विधिको कमजोर कार्यान्वयनबारे वीरगञ्ज भन्सारले भन्सार विभागको ध्यानाकर्षण गराउन भने छोडेको छैन । वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले गत बिहीबार पनि विभागमा महानिर्देशकलाई पत्र लेखेर नाकामा प्रभावकारी सुरक्षा सतर्कताको व्यवस्था मिलाइदिन आग्रह गरे । 

वीरगञ्ज भन्सारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डमात्रै होइन, भन्सार ऐनमै भएको व्यवस्था कार्यान्वयन गरेर जोखिम घटाउने उपाय पनि सुझाएको छ । यस्तो अनुरोध गर्ने यो कार्यालयमात्र एक्लो होइन, वीरगञ्जकै सुक्खा बन्दरगाह र विराटनगर भन्सारले पनि विभागलाई यसबारेमा ध्यानाकर्षण गराएका छन् ।

तर एक महीना बितिसक्दा पनि भन्सार विभागले यसमा निर्णय दिन सकेको छैन ।वीरगञ्जमा कोरोनाका संक्रमति बढ्दै गएपछि भन्सार कर्मचारी र सरोकारका पक्ष त्रासैत्रासमा काम गरिरहेको निरौलाले बताए । 

स्वास्थ्य मन्त्रालयले आयातित मालसामानको भन्सार जाँचपासका लागि ढुवानीका साधन निसंक्रमणको प्रमाण पेश गर्नुपर्ने कार्य विधि बनाएको छ । ढुवानीका साधन निसंक्रमण गरेर कन्साइन्मेण्ट लोड गरिएको प्रमाणपत्र अनिवार्य गरिएको छ । यो प्रावधान अहिलेसम्म कार्यान्वनय हुन सकेको छैन । यो स्थानीय स्तरबाट सम्भव नभएको भन्दै भन्सार कार्यालयले पहलका लागि विभागलाई आग्रह गरेको हो । 

आयात अनुमतिपत्र जारी गर्दा यो शर्त समावेश गर्नुपर्ने भए पनि कार्यान्वयनमा आउन सकेको छैन । भन्सारले नाकामा आइसकेका ढुवानीका साधनलाई निसंक्रण गरेर यार्डमा छिराउने गरेको छ । यसमा स्थानीय सरकार र प्रशासनको समन्वय हुने भनिए पनि भन्सार एक्लैले गर्नु परेको गुनासो भन्सारका अधिकारीहरूको छ । 

स्वास्थ्य मन्त्रालयको मापदण्डमा मालसमान लिएर आउने चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने उल्लेख छ । ‘उनीहरूलाई मापदण्डअनुसनर निसंक्रमण गरेरमात्रै भन्सारको यार्डमा प्रवेश गराइनुपर्नेमा यात्रा विवरण र सामान्य ज्वरो नापेर छोड्ने गरिएको छ,’ निरौलाले भने । 

जाँचपासमा संलग्न कर्मचारीको सुरक्षा विधिसमेत अवलम्बन गर्न नसकिएको निरौलाले बताए । कन्साइमेण्टको जाँचपासमा संलग्न कर्मचारीलाई पूरै जीउ छोप्ने कपडा र आँखाको सुरक्षाका लागि ठूलो आकारको चस्मा लगाउनुपर्ने छ ।

 दुवै हातमा रबरको डिस्पोजिवल पन्जा र सर्जिकल मास्क लगाउन भनिएको छ । भन्सारका कर्मचारी पञ्जा र मास्कको भरमा काम गरिरहेका छन् । सम्भव भएसम्म सुरक्षा सतर्कताका सबै उपाय अपनाइएको विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । 

‘नाकामा आइपुगेका ढुवानीका साधनलाई निसंक्रमण गरिएको छ । त्यहाँ खटिने कर्मचारीका लागि पञ्जा, मास्क, सेनिटाइजरलगायतका साधन उपलब्ध गराएका छौं,’ भण्डारीले आर्थिक अभियानसित भने । 

सेवाग्राहीसँग कुराकानी गर्दा कम्तीमा २ मीटरको दुरी कायम गर्ने र भन्सारमा मालसामानको लोडअनलोडमा खटिने मजदूरबीच न्यूनतम सामाजिक दुरी कायम गरिने भनिएको छ । पर्याप्त पूर्वाधार नहुँदा यो विधि कार्यान्वनय हुन नसकेको निरौलाले बताए ।   

पूर्वाधारको व्यवस्थाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पहल गर्न विभागलाई आग्रह गरेको छ । वीरगञ्जको आईसीपी सञ्चालन यो मन्त्रालयमातहतको नेपाल इन्टरमोडल यातायात विकास समितिको जिम्मामा छ । 

नाकाबाट भित्रिने ताजा तरकारी र फलफूलबाट पनि कोरोना भाइरस भित्रिने सम्भावना भएकाले यसका लागि पनि स्पष्ट निर्देशनको माग भन्सारले गरेको छ ।

कार्य विधिमा भन्सार प्रक्रियाका लागि आवश्यक कागजात सम्भव भएसम्म विद्युतीय माध्यमबाट हेर्ने व्यवस्था मिलाउन भनिएको छ । तर भन्सार ऐनमा भएको आधिकारिक पासवर्डबाट जाँचपास गर्न सकिने प्रावधान अहिलेसम्म कागजमै सीमित छ ।  

संक्रमण फैलिएपछि विद्युतीय माध्यमबाटै आयातित मालसामानको जाँचपासको विकल्प भन्सार कार्यालयहरूले सुझाएका थिए । भन्सार ऐन २०६४ को दफा ८९ मा (घ) मा भन्सार अधिकृतले कम्प्युटर प्रणालीमा भएको अभिलेखअनुसार आधिकारिक पासवर्डमार्फत अघि बढाएको कागजी प्रक्रियामा दस्तखत नभए पनि त्यस्तो कागजातलाई दस्तखत भए सरह मानिने व्यवस्था छ ।

अनलाईन जाँचपासमा अन्य पक्षबाट भन्सारको प्रविधि दुरुपयोगको जोखिम भएकाले तत्काल यो विकल्पमा जान नसकिएको उपमहानिर्देशक भण्डारीले बताए । प्रविधि अध्यावधिक र सुरक्षित बनाउने काम भइरहेकाले छिट्टै उपयोगमा ल्याइने दाबी पनि उनले गरे । अहिले अनलाईन विवरणका आधारमा आयातकर्ता वा प्रतिनिधिले ल्याएको कागजातमा भन्सार कर्मचारीले हस्ताक्षर गर्छन् । 

यो प्रक्रियामा कर्मचारी र सेवाग्राहीको सिधा सम्पर्क हुँदा संक्रमण फैलिने जोखिम पनि बढी हुने कर्मचारी बताउँछन् । अनलाईनबाट आएको कागजातमा पासवर्डमार्फत प्रक्रिया अघि बढाउँदा प्रत्यक्ष सम्पर्कको अवस्था रहँदैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)