ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ढुवानी सहज हुँदा नाकामा बढ्न थाल्यो जाँचपास, बन्दरगाहमा घट्दै कन्टेनरको चाप 

२०७७ जेठ, १२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

जेठ १२, वीरगञ्ज  । लकडाउन खुकुलो भएसँगै ढुवानी सहज हुन थालेको छ । आयातकर्ताले वीरगञ्ज नाकाबाट मालसामान छुटाउने क्रम बढेको भन्सार कार्यालयहरूले बताएका छन् । 

कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन लगाइएलगत्तै वीरगञ्ज भन्सारबाट दिनमा करीब १०० गाडी मालसामान पास हुन्थे । अहिले यो संख्या २०० को हाराहारीमा पुगेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए । 

वीरगञ्ज नाकाबाट नयाँ सवारी साधनको जाँचपास पनि बढेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधी, औद्योगिक कच्चा पदार्थलगायतका बस्तु भित्रिइरहेको भन्सारको तथ्यांकले देखाउँछ । नाकाबाट छुट्ने गाडीका लागि भन्सारबाटै ढुवानीको पास उपलब्ध गराउने व्यवस्था मिलाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । 

भन्सारबाट अनुमति लिएका साधनले जुनसुकै बेला ढुवानी गर्न सक्ने उनले जानकारी दिए । सरकारले भन्सारलाई अत्यावश्यकीय सेवामा राखेको छ । अत्यावश्यकीय उत्पादन र सेवाबाहेकका ढुवानीलाई साँझ ६ देखि बिहान ६ बजेसम्मको समय छुट्याइएको प्रशासनले बताएको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा कण्टेनरको चाप घट्न थालेको छ । 

सरकारले लकडाउन खुकुलो तुल्याएर ४४ प्रकारका उद्योग र व्यवसाय सञ्चालन गर्न दिने भएपछि नाकामा आइपुगेको मालसामान छुट्न थालेको हो । शुरूमा ढुवानी र पूँजीको समस्या भएको भन्दै आयातकर्ताले चासो देखाएका थिएनन् । 

वीरगञ्ज बन्दरगाहमा सोमवारसम्ममा ३ हजार ४०० कन्टेनर रहेको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका वरिष्ठ अधिकृत अनिमेशकुमारले जानकारी दिए । 
‘बितेका २/ ३ दिनयता आयातकर्ताले बन्दरगाहबाट मालसामान छुटाउनेक्रम बढेको छ,’ उनले आर्थिक अभियानसित भने । 

अघिल्लो हप्तासम्म बन्दरगाहमा ४ हजारभन्दा बढी कन्टेनर थुप्रिएका थिए । बन्दरगाह भन्सारबाट अहिले दैनिक २०० भन्दा बढी गाडी निस्किइरहेको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए ।

अघिल्लो हप्तासम्म दैनिक १०० जति कन्टेनरमात्र जाँचपास हुन्थे । बारा–पर्सा औद्योगिक कोरिडोरका फलाम र खाद्यान्न उद्योगले पनि कच्चा पदार्थ ढुवानी गर्न थालेका छन् । बन्दरगाहबाट दैनिक ५० मेट्रिकटनको हाराहारीमा फलाम बाहिरिइरहेको हिमालयन टर्मिनलले बताएको छ ।
 

कोलकातामा घटे कन्टेनर :

भारतको कोलकाता बन्दरगाहमा पनि तेस्रो मुलुकबाट नेपालका लागि आएका कन्टेनरको चाप उल्लेख्य परिमाणले घटेको छ । भारतमा लकडाउन खुकुलो बनाइएसँगै आयातकर्ताले त्यहाँ थुप्रिएका कन्टेनर भित्र्याउन थालेका छन् । 

अहिले कोलकातामा नेपालका लागि आएका कण्टेनर २ हजार ५०० जति भएको कोलकाता पोर्ट ट्रष्टका अध्यक्ष विनितकुमारले बताए । तीमध्ये रेलमार्फत ढुवानी हुने करीब ३०० र बाँकी सडकमार्गका रहेको उनले जानकारी दिए । 

यसअघि बन्दरगाहमा कण्टेनर थुप्रिएर सञ्चालनमै समस्या भएको थियो । लडकडाउनमा ढुवानी ठप्प भएपछि नेपाली आयातकर्ताका कन्टेनरको संख्या ४ हजारभन्दा बढी पुगिसकेको थियो । बन्दरगाहले यसअघि नै ७०० कन्टेनरलाई नजिकका कन्टेनर फ्रेट स्टेसनमा पठाइसकेको छ ।  
 

हटाइयो सहुलियत :

बन्दरगाह, एकीकृत जाँच चौकी (आईसीपी) र सिपिङ कम्पनीहरूले आयातित मालसामानमा विलम्ब शुल्क मिनाहा दिन छोडेका छन् । यसअघि लकडाउनले ढुवानी असहज भएको भन्दै कोलाता बन्दरगाह र सिपिङ कम्पनीहरूले पनि यस्तो सहुलियत दिएका थिए । 

भारतमा लकडाउन शुरू भएको मार्च २५ देखि मे ३ तारिखसम्म यस्तो सहुलियत दिइएको थियो । यो अवधिमा कण्टेनर र गोदाममा विलम्ब शुल्क मिनाहा गरिएको थियो । भारतमा लकडाउन खुकुलो बनाइएसँगै मे ३ तारिखदेखि यस्तो सहुलियत हटाइएको छ । 

कोलकाता बन्दरगाहले नेपाली आयातर्ताका लागि रेलमार्गका कण्टेनरलाई २० र सडकमार्गमा १० दिनको नि ः शुल्क समय भने यथावत राखेको अध्यक्ष विनितकुमारले बताए । भारतमा लकडाउनलाई मे ३१ तारिखसम्म लम्ब्याइएको छ । 

नेपाल इन्टरमोडल यातायात विकास समितिले पनि सुक्खा बन्दरगाह र आईसीपीमा गोदाम भाडा र पार्किड शुल्क मिनाहाको व्यवस्था हटाएको छ । जेठ ६ गतेबाट यस्तो सहुलियत हटाइएको हो । चैत ११ देखिको लकडाउनले ढुवानी अवरुद्ध भएको भन्दै चैत २८ यता यस्तो सहुलियत दिइएको थियो । 
 

आयातकर्ताको आग्रह : 

आयातकर्ता भने लकडाउन अवधिभरि यस्तो सहुलियत पाउनुपर्ने बताउँछन् । लकडाउन खुकुलो गरिएको भनिए पनि उत्पादन, ढुवानी र बजार पूर्णरुपमा सहज भइनसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । 

कम्तीमा लकडाउन अवधिसम्म शुल्क र जरीवाना मिनाहालाई निरन्तरता दिइनुपर्ने आयातकर्ता सुरेश रुङ्गटाले बताए । भारतीय बन्दरगाह र सिपिङ कम्पनीसँग यसबारेमा पहल गरिदिन आयातकर्ताले सरकारलाई आग्रह गरेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)