ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली आयातकर्तालाई कोलकाता बन्दरगाहमा १ अर्ब जरीवाना मिनाहा 

२०७७ जेठ, १७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

जेठ १७, वीरगञ्ज । लकडाउनको अवधिमा भारतको कोलकाता बन्दरगाहमा नेपाली आयातकर्ताले करीब रू.१ अर्ब जरीवाना मिनाहा पाएका छन् । तेस्रो मुलकबाट कोलकाता बन्दरगाहसम्म ल्याइएका कन्टेनरको डिटेन्सन र ग्राउण्ड रेन्टमा आयातकर्ताले यस्तो सहुलियत पाएका हुन् । 

भारतमा जारी लकडाउनका कारण कोलकातामा रोकिएका कन्टेनर समयमा ढुवानी हुन नसकेपछि जरीवानामा मिनाहा दिइएको जानकारी कोलकाता पोर्ट ट्रष्टका अध्यक्ष विनितकुमारले दिए । अध्यक्ष विनितकुमारका अनुसार नेपाली आयातकर्ताले डिटेन्सन र ग्राउण्ड रेन्टमा रू. ९३ करोड (भारू ५८ करोड) मिनाहा पाएका छन् ।   

मिनाहा रकममध्ये विभिन्न सिपिङ कम्पनीलाई बुझाउनुपर्ने डिटेन्सन शुल्क रू. ८८ करोड र बन्दरगाहको ग्राउन्ड रेन्टवापतको रू. ५ करोड छ । भारत सरकारले लकडाउन शुरू भएको मार्च २२ देखि मे ३ तारिखसम्म आयातकर्तासँग कुनै प्रकारको जरीवाना र अतिरिक्त शुल्क नलिन निर्देशन दिएको थियो । 

त्यसयता मे ३१ तारिखसम्म लकडाउन बढाइए पनि यस्तो छूट दिइएको छैन । भारतले मे ३ यता लकडाउनलाई खुकुलो बनाएर ढुवानी र आवागमन सहज बनाएको छ ।  

कोलकाता बन्दरगाहले नेपाली आयातकर्तालाई सडकमार्गबाट ढुवानी हुने कन्टेनरमा १५ र रेलमा २० दिनसम्मको नि : शुल्क समय दिन्छ । यो समयमा कन्टेनर नलगेमा ग्राउन्ड रेन्ट तिर्नु पर्दछ । यस्तो निःशुल्क समय मार्च २२ अघि र मे ३ तारिख पछाडिका लागि गणना हुने बन्दगाह व्यवस्थापनले स्पष्ट पारेको छ । 

सिपिङ कम्पनीले १४ देखि २१ दिनसम्म निःशुल्क समय दिन्छन् । वीरगञ्ज बन्दरगाहसम्म ढुवानीको जिम्मा लिएका कम्पनीले कण्टेनर फिर्ताका लागि ५ दिनको समय दिने गरेका छन् । 
यो समयमा फिर्ता गर्न नसके आयातकर्ताले कण्टेनरको डिटेन्सन शुल्क तिर्नु पर्दछ । कतिपय कम्पनीले आयाताकर्तासँगको आपसी सहमतिका आधारमा मे ३ तारिखयता पनि डिटेन्सन मिनाहा गरेको बन्दरगाहको सूचनामा उल्लेख छ ।  

तेस्रो मुलुकबाट कोलकातासम्म आइपुगेका ४ हजारभन्दा बढी कण्टेनर लकडाउनका कारण त्यही रोकिएका थिए । बन्दरगाहमा कन्टनेर थुप्रिएपछि सञ्चालनमा समस्या भएको भन्दै व्यवस्थापनले नजिकका कन्टेनर फ्रेट स्टेशन (सीएफएस) मा पठाएको थियो । 

३० अप्रिलसम्म बन्दरगाहमा आइपुगेका कन्टेनलाई सीएफएसमा राखिएको हो । २० र ४० फीटका कण्टेनरलाई ढुवानी भाडा र व्यवस्थापन शुल्क क्रमशः भारू ६ हजार र ८ हजार तोकेर सीएफएसमा पठाइएको बन्दरगाहले बताएको छ । 

नेपाली आयातकर्ताका कन्टेनर ढुवानीका लागि १५ दिन अतिरिक्त नि ः शुल्क समय दिन सीएफएस सञ्चालकलाई निर्देशन दिइएको जानकारी अध्यक्ष विनितकुमारले दिए । १५ दिनको समयमा कन्टेनर ढुवानीका लागि पर्याप्त हुने दाबी पनि उनले गरे । 

तेस्रो मुलुकबाट नेपालका लागि सन् २०१९ मा करीब सवा लाख कन्टेनर आएका छन् । तीमध्ये आधाभन्दा बढी कोलकाता बन्दरगाह भएर आउँछन् । बाँकी कन्टेनरको ढुवानी भारतकै आन्ध्र प्रदेशको विशखापत्तनम् बन्दरगाहबाट हुन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)