ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाद्यान्न उद्योगी भन्छन् - विक्री गर्न बजार छैन, उत्पादन गोदाममा थन्क्याउने ? 

२०७७ जेठ, १९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

जेठ १९, वीरगञ्ज । सरकारले खाद्यान्नलाई अत्यावश्यकीय उत्पादनको सूचीमा राखेको छ । लकडाउनको १ हप्तालगत्तै खाद्यान्न लगायतका अत्यावश्यकीय उत्पादन र सेवा सुचारु गर्ने निर्णय पनि गर्‍यो । तर, २ महीना बितिसक्दा समेत उत्पादन र बजारीकरण सहज नभएको गुनासो उद्यमीले गरेका छन् । 

सरकारले लकडाउनमा खाद्यान्न उद्योगलाई सञ्चालन गर्न भने पनि कामदार र कच्चा पदार्थ आपूर्ति, पूँजी व्यवस्थापन, बजार, उधारो असुलीलगायतमा सहजीकरण नगरेको नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए । 

उद्योग खोल्न अनुमति दिएको २ महीना बितिसक्दा पनि उद्योग सञ्चालनको वातावरण नभएको भन्दै संघले सरकारको पुन : ध्यानाकर्षण गराएको छ । संघले सोमवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर कोरोना संक्रमणको त्रासमा उद्यमीले जोखिम मोलेर उत्पादन गर्न खोज्दा सरकारी निकायले सहजीकरण नगरिदिएको गुनासो गरेको छ ।

देशभरिका करीब ३ हजार खाद्यान्न उद्योगको उत्पादन प्रभावित भएको अध्यक्ष गुप्ताको दाबी छ । सञ्चालनमा रहेका उद्योगले क्षमताको २० देखि २५ प्रतिशतमा चलेको जानकारी उनले दिए । जसोतसो उत्पादन गरेका उद्योगले पनि मालसामान विक्री गर्न नपाएको बताए ।

‘सरकारले उत्पादन गर भन्छ । बेच्नलाई बजार खुलेको छैन । उद्योगको गोदाममा थन्क्याउन त उत्पादन गरिँदैन नि,’ गुप्ताले भने, ‘सरकारले सहजीकरण नगरिदिने हो भने उद्योग चलाउनुको अर्थ छैन ।’ सबै प्रकारका पसल आलोपालो खुल्ने व्यवस्था मिलाइनुपर्ने उद्योगीको माग छ । उद्योगमा कच्चा पदार्थको आपूर्तिसमेत कठिन बन्दै गएको ओसीबी फुडका सञ्चालक सुरेश रुङ्गटाले बताए ।

लकडाउनका कारण वीरगञ्ज सुक्खा बन्दरगाह र विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) क्षमताको करीब २५ प्रतिशतमात्र सञ्चालन भएको उद्योगीको दाबी छ । बन्दरगाह र आइसीपी पूर्ण क्षमतामा नचल्दा कच्चा पदार्थ भित्र्याउन समस्या भएको छ । मौज्दात कच्चा पदार्थ सकिंदै गएकाले उद्योग बन्द हुने अवस्था आएको न्यू ओम खाद्य उद्योगका प्रबन्ध निर्देशक विश्वामित्रप्रसाद कलवार बताउँछन् । 

बन्दरगाह र आईसीपीबाट निस्केका ढुवानीका साधनलाई अवरोधविना उद्योगसम्म जान दिइनुपर्ने उद्योगी कलवारको आग्रह छ । उद्योगमा अवासीय व्यवस्था मिलाएर उत्पादन सम्भव नहुने उद्योगी रुङ्गटाको भनाइ छ ।

‘कामदारलाई उद्योगमा आउजाउको अनुमति दिइनु पर्दछ । ६० देखि ७० प्रतिशत कामदार अन्य जिल्लाबाट आउँछन्,’ उद्योगी रुङ्गटाले भने, ‘सुरक्षाकर्मीको अवरोधले कामदारको आपूर्ति ठूलो चुनौती बनेको छ ।’ 

प्रत्येक उद्योगमा एम्बुलेन्स राख्ने प्रावधान व्यवहारिक नभएको उद्योगीको भनाइ छ । ४/ ५ किलोमीटरको दूरीमा अस्पताल भएकाले उद्योगमा एम्बुलेन्स राख्नुनपर्ने र कोरोना संक्रमण फैलिन नदिन उद्योग स्वयम्ले सतर्कता अपनाएको दाबी अध्यक्ष गुप्ताले गरे । 

उद्योगमा कामदार कर्मचारीलाई ओहोरदोहोर गर्न उद्योगको परिचयपत्रलाई मान्यता दिइनुपर्ने माग उद्योगीको छ । स्थानीय प्रशासनले सवारी पासमा अनावश्यक कडाई गरेको गुनासो उनीहरुले गरे । 

‘मोटरसाइकलमा एक जना र गाडीमा ३ जनासम्म आउजाउ गर्न दिंदा जोखिमको सम्भावना रहँदैन’ , गुप्ताले भने, ‘मुख्य शहरमा भुक्तानी संकलनका लागि उद्योगकै परिचयपत्रका आधारमा आउजाउ गर्न दिए फरक पर्दैन ।’ 

बैंकहरूले आलोपालोमा दिनमा २ घण्टामात्रै सेवा दिएकाले भुक्तानीमा समस्या भएको उद्योगीले बताए । भुक्तानी संकलन नहुँदा उद्योगलाई सञ्चालन पूँजीको अभाव भएको छ । कति उद्योगी त पूँजीको समस्याले उत्पादन बन्द गर्ने अवस्थामा पुगिसकेको संघले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)