ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जमा लकडाउनको विरोध : सडकमा उत्रिए व्यवसायी

बजार खोल्ने वातावरण बनाउन वीउवासंघको आग्रह

२०७७ जेठ, २०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

जेठ २०, वीरगञ्ज  । लडकडाउनका कारण व्यापार चौपट भएको भन्दै वीरगञ्जका खुद्रा व्यवसायी सडकमा उत्रिएका छन् । आआफ्नो व्यवसाय चलाउन पाउनुपर्ने माग गर्दै वीरगञ्जको घण्टाघर र माइस्थानमा व्यवसायीले प्रदर्शन गरेका हुन् । 

वीरगञ्ज उद्योग वाणिज्य (वीउवा) संघले बजार खोल्ने विकल्पका बारेमा मंगलवार स्थानीय प्रहरी प्रशासनसँग छलफल गरेको छ । आलोपालो बजार खोल्न सहजीकरणका लागि स्थानीय प्रशासनलाई आग्रह गरिएको संघका महासचिव माधव राजपालले बताए । 

लकडाउनलाई व्यवस्थित बनाउँदै व्यवसाय सञ्चालन गर्ने विषयमा उद्योगी व्यवसायीका सुझाव लिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । 

‘ प्राप्त सुझावलाई जिल्लामा कोरोना संक्रमणको अवस्था मूल्यांकन गरी सम्भव भएसम्म कार्यान्वयन गरिने छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले आर्थिक अभियानसित भने । 

सरकारले लकडाउन लम्ब्याउने काममात्र गरेको र विकल्प दिन नसकेको भन्दै व्यवसायीले आक्रोश पोखेका छन् । साढे २ महीना पुग्न लागिसक्दा पनि सरकारले लकडाउनको निकास दिन नसक्दा व्यवसाय चौपट भएको नेपाल विद्युतीय व्यवसायी संघ पर्साका उपाध्यक्ष सन्तोष सर्राफले बताए ।

सरकारले आफ्नो असफलता छोप्न लकडाउन लम्ब्याएर काम गरी खाने वर्गलाई समस्यामा पारेको आरोप उपाध्यक्ष सर्राफको छ । ‘व्यवसायस्थलको भाडा, बैंकको ब्याज, कामदारको पारिश्रमिकलगायतका खर्च बढिरहेको छ । सरकारले लकडाउनको निकास दिने छाँटकाँट नदेखिएपछि सडकमा उत्रिनु परेको हो,’ सर्राफले भने । 

बजार बन्द राखेरमात्रै कोरोना संक्रमण नियन्त्रण नहुने व्यवसायीको तर्क छ । सरकारले परीक्षण र उपचारको गतिलो प्रबन्ध नगरेको र लकडाउन लम्ब्याएर व्यवसायीलाई समस्यामा पारेको उनीहरूको आरोप छ । लकडाउन जेठ ३२ गतेसम्मका लागि लम्ब्याइएको छ  । 

आंशिक रुपमा भए पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीको छ । कोरोना संक्रमणविरुद्ध सतर्कतासहति काम गर्न आफूहरू तयार भएकोमा स्थानीय प्रशासनले सहजीकरण नगरिदिएको गुनासो व्यवसायीले गरेका छन् । 

स्थानीय नेताहरूले पनि समस्याको समाधानमा पहल नगरेको भन्दै व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।  आलोपालो प्रणालीमै भए पनि व्यवसाय खोल्न पाउनुपर्ने माग उनीहरूको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)